
News Summary
Generated by OK AI. Editorially reviewed.- रघु आदित्यले पशुपक्षीमाथि हुने अत्याचार र मानवअधिकारको अभावलाई उजागर गरे।
- उनले मानव र पशुपक्षीको दयाको दायरालाई फराकिलो बनाउन आग्रह गरे।
- सामाजिक र सञ्चार माध्यमले पशुपक्षीको यथार्थलाई पर्याप्त स्थान नदिएको टिप्पणी गरे।
हिजो आमालाई लिएर एउटा बुफे सिस्टमको रेस्टुराँभित्र पसेँ । छिर्नेबित्तिकै एउटा ट्रेमा तेल र मसला दलिएको, कुकुरजस्तै देखिने प्राणीको टाउको राखिएको देखेँ । त्यसका आँखाले मलाई नै टोलाएर हेरिरहेको भान हुन्थ्यो। एकैछिन त्यसलाई घोरिएर हेरेँ ।
‘ओ साहुजी ! यो त कुकुर हो कि क्या हो ?’ मैले सोधेँ । काउन्टरभित्रबाट काखी कन्याउँदै साहुले उत्तर दिए, ‘हो ! यतै डुल्थ्यो ।’
नजिकै कुकुरका तीन कलिला छाउरालाई काठको खोरमा गोलो सिसाले ढाकेर थुनिएको रहेछ । खोरबाट निकालिदेलान् कि भन्ने आशले होला, नजिक आउने प्रत्येक ग्राहकलाई मुखमा हेर्दै खुसी भएझैँ गरी पुच्छर हल्लाउँदै पुलुपुलु हेरिरहने रहेछन् तिनले । खोरको तल ठूला अक्षरमा ‘यहाँ ताजा मासु पाइन्छ’ लेखिएको थियो । मैले ‘ताजा मासु’लाई हेरेँ, अनि ती छाउरालाई ।
मेरो घाँटीमा गाँठो पर्यो । ‘ओ साहु ! यस्तो नि गर्न पाइन्छ ?’ आँसु रोक्न खोज्दै म रेस्टुराँका मालिकसँग जङ्गिएँ । साहुले तुरुन्त उत्तर दिए, ‘किन नपाइनु ? ऊ त्यहीँ छेउको पसलमा माछा, खसी, कुखुरा र बट्टाईलाई खाँदाखाँद हुलेको र मारेको चाहिँ नदेख्ने, कति त निस्सासिएरै मर्छन्- त्यो नि नदेख्ने, अनि हामीसँग मात्रै निहुँ खोज्न आउने ? हामीले त झन् छाडा कुकुरको समस्या समाधान गरिराछौँ ! अरूले जस्तो कोचाकोच गरेर राखेका नि छैनौँ !’
सुनेर मलाई ऐँठनजस्तो भयो । अचानक ब्यूझिएँ । सपना पो रहेछ ।
त्यसपछि, दुई बित्ताको डोरीले बाँधिएर, खोरभित्र थुनिएर वा बाल्टीभर पानीमा सीमित रही मृत्यु पर्खिँदै गरेका पशुपक्षीको अत्यासबारे अन्दाज लगाउने प्रयास गरेँ ।
भाषा बेग्लै, भोक एउटै
तृष्णा बेग्लै, तिर्खा एउटै
शरीर बेग्लै, पीडा एउटै
बुद्धि बेग्लै, माया एउटै
सब जान्दाजान्दै हाम्रै प्लेट र पैसाबाट पोसिने जघन्य अपराधहरू हामीलाई कसरी स्वीकार्य भएका होलान् है ? ‘बरु गरिब गुरुबाका लागि केही गर न ! सडक बालबालिकाका लागि केही गर न !
मानिसलाई त पुग्या छैन, मानिसले त सुख शान्ति पाछैन; जाबा पशुपक्षीको कुरा गर्ने भा’को ।’
हामी सोध्छौँ, ‘मानिसलाई त छैन, पशुलाई कसरी पुग्छ ?’ सोधी हेरौँ, ‘पशुलाई त छैन; मानिसलाई कसरी पुग्छ ?’
सानालाई त छैन, ठूलालाई कसरी पुग्छ ? जग नै बलियो छैन, घर कसरी बलियो बन्छ ? हाम्रो शरणमा बसेका ‘जाबा’ पशुपक्षीका तुच्छ आवश्यकता त हामी पूरा गर्न सक्दैनौँ, हाम्रा अपार इच्छा र आवश्यकता कुन जुनीमा पूरा गर्न सकौँला ? टीठलाग्दा, बेसहारा, निर्दोष प्राणीलाई त हामी माया दिन सक्दैनौँ, स्वभावैले कुटिल मानिस–मानिसबीच साँचो र दिगो शान्ति र सद्भाव हामी के आधारमा स्थापित गरौँला ?
पशुपक्षीलाई त के नै चाहिन्छ र ? अलिकति खाना, अलिकति माया र बिरामी हुँदा उपचार, बस् यत्ति ।
तर, हामी त्यतिमै चित्त बुझाउँछौँ त ? साइकलपछि मोटरसाइकलपछि कारपछि हेलिकप्टरपछि हवाइजहाज नै किने पनि हाम्रा इच्छा र आवश्यकता पूरा भएको पाइन्छ र ? हामीलाई कहिले नै ‘पुगेको’ छ र, ‘हाम्रा आवश्यकता पूरा भएपछि मात्र अरू प्राणीलाई हेर्नेछौँ’ भन्ने आश्वासन दिन्छौँ ?
‘बरु गरिबका लागि केही गर, सडक बालबालिकाका लागि केही गर ।’ भन्नुभयो ।
पहिलो कुरो, पशुपंक्षीलाई मद्दत गर्ने मानिसले बालबालिका र दीनदुःखीलाई मद्दत गर्दैनन् वा मानिसलाई पर्ने समस्या वा अन्यायका विषयमा बोल्दैनन् भन्ने निष्कर्ष केका आधारमा निकाल्नुभयो ?
करुणाको दायरा त जति फराकिलो बनायो त्यति नै त्यसमा सबै अटाउने सम्भावना हुन्छ, होइन र ? पशुपक्षीमाथि दया गर्नुस् भन्दै हिँड्ने मानिसको करुणाको दायरामा मानिस नै नअटाउलान् र ? तर, ‘मानिसका लागि पो आवाज उठाउनुपर्छ’ भन्नेहरूले मानिस वा पशुपंक्षी कसले धेरै दुःख पाएको छ, कसलाई बढी मद्दतको खाँचो छ, कसले आफ्ना लागि आफैँ बोल्न सक्छ र कसलाई हाम्रो ‘आवाज’को खाँचो बढी छ एक पल्ट केलाएर पो हेर्ने हो कि ?
आफ्नो वरपर हेरौँ तः
-मानिसकै सुरक्षाका लागि यति धेरै ऐन र कानून
-मानिसकै समस्या समाधान गर्नका लागि यति धेरै संस्था
-अन्याय गर्नेविरुद्ध आवाज उठाउने, आफ्नो बचाउ गर्ने र अदालतसम्मै जाने क्षमता
-मानिसका समस्यासँग मात्र सहानुभूति राख्ने अधिकांश मानिस
-मानिससम्बन्धी समाचार मात्र प्रेषण गर्ने यति धेरै सञ्चार माध्यम
यति सब हुँदाहुँदै फाट्टफुट्ट कसैले पशुपंक्षीमाथि व्यापक हुने अकल्पनीय अत्याचारबारे बोल्दा यत्रो आक्रोश, यत्रो आपत्ति ?
अब अनुपातको कुरा गरौँः
-सडकमा भोकभोकै भौँतारिने १०० वटा पशुको अनुपातमा १ जना सडकमा बास गर्ने मानिस, (अनुपात १०० : १) ।
-मानिसका लागि काम गर्ने हजारौँ संघसंस्थाको अनुपातमा पशुपंक्षीका लागि काम गर्ने २–४ संस्था, (अनुपात १,००० : १) ।
-१०० वर्ग किमि क्षेत्रमा प्रतिदिन काटिने र चरम यातना भोग्ने हजारौँ पशुपंक्षीको अनुपातमा त्यही क्षेत्रमा प्राकृतिक कारणले मर्ने १ जना मानिस (उदाहरणः आज तपाईँको टोल÷क्षेत्रमा मृत्यु भएका÷हत्या गरिएका मानिसको सङ्ख्या र आजै तपाईँको क्षेत्रमा मासुका लागि हत्या गरिएका र औद्योगिक फार्महरूमा नारकीय जीवन बिताइरहेका कुखुरा, सुँगुर आदिको सङ्ख्या दाँजेर हेर्नुस) (अनुपात÷रेस्यो १०,००० : १)।
भनेपछि, कसलाई बढी दुःख रहेछ त ? कसलाई बढी मद्दतको खाँचो रहेछ त ?
समाचारमा युक्रेन, सिरिया र प्यालेस्टाइनमा मानिसमाथि भएका अत्याचार हेरेर काठमाडौँमा हाम्रो मन पोल्छ । एकल–दुकल मानिस कतै अन्यायमा परेको खबर पढेर हामी उफ्रन्छौँ । तर, हाम्रै कारण हाम्रै खुट्टामुनि जीवनभर यातना खेप्ने अनगिन्ती पशुपंक्षीको चित्कार हाम्रो कानसम्म पुग्दैन ।
सञ्चार माध्यमहरूले तिनको यथार्थलाई अत्यन्त विरलै स्थान दिन्छन् । हाम्रा अगुवा, रीति, संस्कार र समाजले पनि हामीलाई बाल्यकालदेखि नै पशुपंक्षीप्रति संवेदनहीन बन्न प्रोग्राम गरिदिएका छन् । हामीले पनि तिनले पलपल भोग्ने दुर्व्यवहारलाई एकादेशको कथा मानी बिर्सिदिएका छौँ ।
याद राखौँ– हाम्रा निर्णयहरूको छायाँमा बस्ने निमुखा प्राणीलाई हामी सबले देखाउने व्यवहार नै हाम्रो दयामाया र नैतिकताको असली पाठशाला हो । पशुपंक्षीप्रतिको घृणा, अत्याचार र बेवास्ताबाट पोसिएको समाजमा मानिस–मानिसबीच दिगो शान्ति र सद्भाव होला भन्ने अपेक्षा कसरी राख्ने ?
(रघु आदित्यको पुस्तक ‘शाकाहार तर्काधार’को अंश । पशुप्राणीले स्वच्छन्द र सुखपूर्वक बाँच्न पाउने वाकलत गरिएको पुस्तक भर्खरै मात्र सार्वजनिक भएको हो ।)
प्रतिक्रिया 4