+
+
Shares

मिस युनिभर्सको हलचलले ‘ब्युटी पेजेन्ट’को भविष्य कता जाला ?

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३१ गते १२:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनी जकराजुतातिपले थाइल्यान्डको धितोपत्र आयोगको आरोपपछि २०२५ जुन ५ मा जेकेएन ग्लोबल ग्रुपको पदबाट राजीनामा दिइन्।
  • आयोगले उनीहरूलाई झूटो वित्तीय विवरण प्रस्तुत गरेको आरोपमा जरिवाना र ५६ महिनासम्म कुनै पनि कार्यकारी पदमा नहुन प्रतिबन्ध लगाएको छ।
  • मिस युनिभर्सको आयोजना प्रभावित हुन सक्ने आशंका रहे पनि आयोजकहरूले यसले प्रतियोगितामा असर नपार्ने बताएका छन्।

बैंकक । मिस युनिभर्स अर्गनाइजेसनकी प्रमुख कार्यकारी अधिकृत एनी जकराजुतातिपले माउ कम्पनी जेकेएन ग्लोबल ग्रुपमा रहेका सबै कार्यकारी जिम्मेवारीबाट राजीनामा दिएकी छन् । यससँगै उनले नेतृत्व गरिरहेको मिस युनिभर्स संस्थाको भविष्य अन्योलमा देखिएको छ ।

थाइल्यान्डको धितोपत्र तथा विनिमय आयोगले जकराजुतातिप र अन्य दुई अधिकारीविरुद्ध कम्पनीको वित्तीय विवरणमा गलत सूचना राखेको आरोप लगाउँदै औपचारिक उजुरी दर्ता गरेपछि, जकराजुतातिपले २०२५ जुन ५ मा जेकेएन ग्लोबल ग्रुपको प्रबन्ध निर्देशक तथा अधिकृतको पदबाट राजीनामा दिएकी हुन् ।

थाई सञ्चारमाध्यम द नेसन अनुसार धितोपत्र तथा विनिमय आयोगले जेकेएन ग्लोबल ग्रुप, एनी जकराजुतातिपसहितका सदस्यमाथि कम्पनीको सन् २०२३ को वार्षिक तथा सन् २०२४ को पहिलो त्रैमासिक वित्तीय विवरणमा झूटो वा अपूर्ण लेखापरिक्षण विवरण प्रस्तुत गरेको आरोप लगाएको छ ।

यस मुद्दामा आयोगले उनीहरूलाई ४.१ मिलियन थाई भाट (१७ लाख नेपाली रुपैयाँ) जरिवाना तिराउने निर्णय गरेसँगै, उनीहरूले ५६ महिना अर्थात् चार वर्ष आठ महिनासम्म सार्वजनिक सूचीकरण भएका कम्पनीहरूमा कुनै पनि कार्यकारी पद सम्हाल्न नपाउने प्रतिबन्ध पनि लगाएको छ ।

यो कानुनी विवादको मुख्य कारण भने मिस युनिभर्स संस्थाको स्वामित्वको हस्तान्तरणमा रहेको बताइएको छ । सन् २०२४ को जनवरी महिनामा एनीले मिस युनिभर्स संस्थाको आधा स्वामित्व मेक्सिकन व्यवसायी राउल रोचा को ‘लेगेसी होल्डिङ्स ग्रुप’लाई बिक्री गरेको खबर सार्वजनिक भएपछि, थाइल्यान्डको धितोपत्र तथा विनिमय आयोगले त्यसबारे स्पष्ट जानकारी माग गरेको थियो ।

त्यतिबेला जकराजुतातिपले अझै लगानीकर्ता खोज्दै गरेको बताएकी थिइन् । पछि अनुसन्धानमा बिक्री सन् २०२३ को अक्टोबरमै सम्पन्न भइसकेको कुरा सार्वजनिक भएको थियो । यसले आयोगलाई गम्भीर भ्रममा पारिएको भन्दै कारबाही अगाडि बढाइएको हो ।

यतिबेला विभिन्न मुलुकले मिस युनिभर्सको सन् २०२५ का संस्करण आयोजना गर्दैछन् । संस्थाकी प्रमुखले अनियमिताको मुद्दामा राजीनामा दिएपछि यसले मुलुकहरूले आयोजना गर्ने प्रतियोगितामा कस्तो असर पार्नेछ भन्ने कुरा यकिन हुन बाँकी छ ।

यस्तोमा यो प्रकरणले अन्तर्राष्ट्रिय प्रतिनिधित्वमा प्रत्यक्ष प्रभाव पार्न सक्ने देखिएको छ । मिस युनिभर्स नेपालले पनि हालै आवेदन खुला गरेको थियो । तर, संस्थाकी प्रमुखको राजीनामले मुलुकमा आयोजना हुने प्रतियोगितालाई असर नगर्ने आयोजकहरू बताउँछन् ।

मिस युनिभर्स अर्गनाइजेसनले नोभेम्बर २०२५ मा थाइल्यान्डमै ७४औं संस्करणको मिस युनिभर्स आयोजना गर्ने घोषणा गरिसकेको छ । तर, संस्थागत अन्योल, प्रमुख कार्यकारीको राजीनामा र लगानीको विवादले उक्त आयोजना प्रभावित हुन सक्ने खतरा देखिएको छ ।

यस प्रतिष्ठित सौन्दर्य प्रतियोगितामा विश्वभरका १०० भन्दा बढी सुन्दरी सहभागी हुने अपेक्षा गरिएको छ । यो तयारीबीच संस्थाकी प्रमुखको राजीनामले पार्न सक्ने असरका प्रश्नहरू बाँकी नै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?