
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एकीकृत समाजवादीले संसद् कार्यसूचीमा प्रवेश गरेपछि नियमापत्ति गरेको छ।
- उपाध्यक्ष राजेन्द्र पाण्डेले सभामुखको ध्यानाकर्षण गर्दै सभा चलाउने तरिका परिवर्तनको माग गरे।
- प्रतिनिधि सभामा नाराबाजी र विरोध प्रदर्शनका कारण बैठक प्रभावित भएको थियो।
१ असार, काठमाडौं । नाराबाजीबीच संसद् कार्यसूचीमा प्रवेश गरेपछि नेकपा एकीकृत समाजवादीले नियमापत्ति गरेको छ ।
एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले यो विषयमा सभामुखको ध्यानाकर्षण गरेका हुन् ।
प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वेल घेराउ र नाराबाजी गरिरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसनमै उभिएर विरोध जनाइरहेको छ ।
यस्तो अवस्थामा प्रतिनिधि सभामा सभामुख देवराज घिमिरेले आकस्मिक समय चलाए । त्यसपछि राष्ट्रिय सभाबाट पारित भएर पुगेको विधेयकको सन्देश सुनाए ।
आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई प्रस्तुत गर्न समय दिए ।
अर्थमन्त्री पौडेलले रोष्ट्रममा पुगेर आफ्ना कुरा राख्न थालेपछि एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष पाण्डेले सभामुखको ध्यानाकर्षण गरेका हुन् ।
‘सभामुखज्यू, रोष्ट्रममा अर्थमन्त्रीज्यू महत्त्वपूर्ण कुरा सुनाइराख्नुभएको छ । तर, प्रतिपक्षमा रहेकामध्ये एउटा दल नाराबाजीमा छ । यो नाराबाजीले मन्त्रीले भनेका कुरा हामी सुनिरहेका छैनौं,’ पाण्डेले भने ।
सभा कसरी चलाउने हो त्यसबारे छलफल आवश्यक रहेको उनले बताए । ‘कसरी सभा चलाउने हो ? यो सभा चलाउने अहिलेको यो तरिका भएन सभामुख महोदय,’ पाण्डेले थपे, ‘यो बैठक स्थगित गरेर, सहमति गरेर र एउटा टुंगोमा पुगेर मात्रै अगाडि बढाइयोस् ।’
प्रतिक्रिया 4