
News Summary
Generated by OK AI. Editorially reviewed.- छ्याङ्ग खुलेको मौसममा इलामको कोठीडाँडाबाट चियाबगान र आसपासको दृश्य मनमोहक देखिन्छ।
- माइखोलाबाट हतार हिँड्दा दृश्यहरू धुमिल भए पनि इलामको ३६० डिग्री दृश्यावलोकन गर्न सकिन्छ।
- कोठीडाँडाको ऐतिहासिक महत्त्व र पर्यटकीय विकासले यसलाई रमाइलो स्थल बनाइरहेको छ।
छ्याङ्ग खुलेको मौसममा चिया बगानको दृश्य हेरेर मन थाक्दैन । जति हेर्यो, उत्ति नै मोहनी लगाउँछ आँखालाई ।
कलकलाउँदो चियाका मुना । स-सना थुम्कामा कार्पेट बिछ्याएजस्तै चियाका बुट्यानहरू, ठाउँ-ठाउँमा परेड खेल्न ठिंग उभिएका सैनिकको लस्करझैँ धुपीका रुखहरू, अनि यन्त्रवत् चिया टिपिरहेका मान्छेहरू । प्रकृतिको यो फराकिलो क्यानभास कम्ता रहरलाग्दा देखिँदैन चियाको मध्य सिजनका दृश्यहरू ।
तर, माइखोलातिर बाट हतारिदै उक्लिएको भुइँकुहिरोले क्षणभरमै यी दृश्यहरू धुमिल बनाइदिन्छ ।
घाम–पानीको यो याममा कोठीडाँडाको रौनक बेग्लै हुन्छ । यो उचाइबाट इलामलाई ३६० डिग्रीमा नियाल्न सकिन्छ । पश्चिमतिर साखेजुङ, पूर्वमा श्रीअन्तु, उत्तरमा सन्दकपुर, दक्षिणमा इलाम बजार । माइखोला बग्दै–बग्दै चुलाचुलीको पहाड नाघेर तराईका समतल धरातलमा मिसिएको, चारखोलाबाट उड्दै–उड्दै कुहिरोले छिन्टापुको आकाश ढाकेको दृश्यहरू कम्ता मादक लाग्दैन ।
कोठीडाँको कुरा गरिहालौं । इलाम बजारबाट उत्तरतिर उक्लिदा जसबीरे पुगेपछि यो थुम्को भेटिन्छ ।
यो एक ऐतिहासिक थुम्को हो, जसको बारेमा कति कुरा अझै पनि रहस्यमै छ । यहाँको जमिन खोतल्ने हो भने इँटाका अवशेष भेटिन्छन् । र, त्यहाँ कुनै भव्य घरको भग्नावशेष फेला पर्छ ।
विसं १९२० मा यहाँ इलामका तत्कालीन बडाहाकिम गजराज सिंह थापाले कोठी बनाएको कतिपयको भनाइ छ । त्यही कारण यस ठाउँको नाम ‘कोठीडाँडा’ रहन गएको बताइन्छ । यस आपसपासमा पानीको स्रोत नभएका कारण पछि उनीहरू बसाइँ सरे ।
कोठीडाँडालाई अहिले स्थानीयले पर्यटकीय गन्तव्यका रुपमा विकास गरिरहेका छन् । खासगरी वनभोजस्थल र रमाइलो दृश्यवालोकनका लागि यो ठाउँ उपयुक्त छ । यहाँ अहिले चौतारो, बाटोसहित पानीको सुविधा छ ।
प्रतिक्रिया 4