
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा तीजको तयारीका लागि कलाकारहरू स्टुडियो र छायांकन स्थलमा व्यस्त छन्।
- गायिका शान्तिश्री परियार र देवी घर्तीले तीज गीत रेकर्ड गराइरहेका छन्, र कलाकारहरू विदेश टूरको तयारीमा छन्।
- तीज गीतको माग र निर्माण क्रमले यस वर्षको तीज विशेष हुने संकेत गर्दछ।
काठमाडौं । तीज नेपाली समाजमा महिलाको लागि एक विशेष चाड हो, जसले केवल व्रत, नाचगान र आत्मीयता मात्रै होइन, पछिल्ला वर्षहरूमा संगीत क्षेत्रमा समेत चहलपहल ल्याउन थालेको छ ।
यसवर्षको तीज आउन केही महिना छँदै कलाकारलाई तीज लाग्न थालेको छ । कलाकार धमाधम तीजको गीत र भिडियो ल्याउन कस्सिएका छन् । हरेक वर्षको जेठ लागेपछि, काठमाडौँका स्टुडियोमा ‘तीजको भीड’ सुरु हुन्छ, त्यो अहिल्यै सुरु भैसकेको छ ।
नाम चलेका कलाकारले आफ्नो आवाजमा तीजका गीत रेकर्ड गराउन थालेका छन् । कतिपयले तीज गीतको छायांकन पनि थालेका छन् । कलाकारको लागि अहिले कमाउने अवसर पनि हो । कलाकार तीजको कामले ब्यस्त हुन थालेका छन् ।
यसवर्षको तीज पर्व भदौ १० गते परेको छ । तीज आउन २ महिनाभन्दा धेरै समय बाँकी छ । तर स्टुडियोमा भने तीजको चहलपहल सुरु भइसकेको छ । गायकगायिका र मोडलले स्टुडियो र छायांकन स्थलबाट तस्वीर धमाधम सार्वजनिक गर्न थालेका छन् ।
गायिका शान्तिश्री परियारले गत बुधबार ३ गीत रेकर्ड गरिन्, जसमा २ गीत तीजका हुन् । अर्की गायिका देवी घर्तीले पनि आफूले तीज गीत गाउन थालेको जानकारी पोस्टमार्फत दिएकी छन् ।
पछिल्लो समयका ३ लोकप्रिय गायिका एलिना चौहान, समीक्षा अधिकारी र मेलिना मैनालीले पनि सामूहिक रूपमा तीज गीत रेकर्ड गराएका छन् । ‘पृथ्वी छाडेर’ बोलको तीज गीतमा डीबी खनालको शब्द, दीपक शर्माको संगीत छ ।
लोकगीतका सक्रिय संगीतकर्मी पशुपति शर्मा, खुमन अधिकारी, सम्झना भण्डारीले पनि रेकर्डिङ थालेका छन् । कतिपयले भिडियो छायांकनसमेत थालेका छन् ।
संगीतकार बीबी अनुरागीको प्रिज्मा स्टुडियोमा अहिले खेम सेन्चुरी, वसन्त थापा लगायतका कलाकारले तीज गीतको रेकर्डिङ सुरु गरी सकेका छन् । स्टुडियोका संगीत प्रबन्धक श्यामश्वेत रसाइलीका अनुसार यसपटक प्रिज्मा स्टुडियोमा ४० को हाराहारीमा तीज गीत रेकर्ड हुनेछन् ।
तीज गीत केवल गायकगायिकाको लागि मात्र ब्यस्तताको समय होइन, अभिनय गर्ने कलाकारको ब्यस्तता पनि उत्तिकै छ । गतसाता शंकर विसीले भिडियो नै थालेका छन् । उनले यसको जानकारी सामाजिक संजालबाट दिएका छन् ।
बीसी यो तीजमा ४० गीतमा काम गर्ने तयारीमा छन् । ४ गीतको रेकर्डिङ भैसकेको छ भने अन्य गीतको छायांकन तयारी छ । उनको यो भनाइले तीज गीतको माग, निर्माणको क्रम र मोडलको व्यस्ततालाई दर्शाउँछ ।
तीज गीतको रेकर्डिङसँगै कलाकारको लागि अर्को ब्यस्तता भनेको विदेश टूर हो । यही कारणले गर्दा धेरै गायक/गायिका साउन कुर्नुभन्दा पहिले नै गीत तयार गर्न हतारिएको देखिन्छ ।
गायिका शान्तिश्री परियारले यसपालि तीजमा एक महिनाको युरोप टूर तय भइसकेको जानकारी दिइन् । अहिले स्वास्थ्य समस्याका कारण विश्राममा रहेकी गायिका रचना रिमालको युरोप टूर पनि केही साताअघि नै पक्का भइसकेको छ ।
तीज गीत सिजनसँगै विदेशी कार्यक्रममा जान पाउनु नेपाली कलाकारहरूको लागि ठूलो अवसर हो । यही कारणले गर्दा जेठ/असारमै गीत र भिडियो तयार पार्नुपर्ने हुन्छ ।
तीज गीतको कुरा गरिरहँदा, बिर्सन नहुने ठूलो नाम हो- विष्णु माझी । यस्तो लाग्छ, माझीको गीत नआएसम्म धेरैलाई तीज आएको लाग्दैन । माझीलाई तीजमा खोज्नेको संख्या निकै उच्च हुन्छ ।
लामो समयदेखि गुमनाम रहँदै आएकी माझीले तीजको एक डेढसाताअघि गीत ल्याउँदै आएकी छन् । संगीतकर्मी, मिडिया र दर्शकको लागि माझी अहिले पनि रहस्य र चासोकी विषय हुन् ।
अहिले पनि कलाकारले तीज गीतको खबर सार्वजनिक गरी रहँदा, धेरैले आफू माझीको गीतको पर्खाइमा रहेको बताउने गरेका छन् । जे होस्, अब बिस्तारै तीजको माहोलले छुँदैछ ।
स्टुडियोमा कलाकारको भीड, सामाजिक सञ्जालमा गीत रेकर्डको पोस्ट, निर्देशक र मोडलको व्यस्तता र विदेशतिरका कार्यक्रमको तयारीले तीज सिजनलाई साँच्चै विशेष बनाउने गरेको छ ।
प्रतिक्रिया 4