News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसी महिला टी–२० विश्वकप २०२६ को खेल तालिका सार्वजनिक भएको छ।
- प्रतियोगिता जुन–जुलाईमा आयोजना हुनेछ र १२ टोली सहभागी हुनेछन्।
- नेपाली महिला क्रिकेट टोली पनि यसमा भाग लिइरहेको छ।
४ असार, काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप २०२६ को पूर्ण खेल तालिका सार्वजनिक गरिएको छ। आईसीसीले बुधबार दुई समूहसहितको खेल तालिका सार्वजनिक गरेको हो ।
आगामी वर्ष जुन–जुलाईमा आयोजना हुने प्रतियोगिताको समूह १ मा सर्वाधिक च्याम्पियन अस्ट्रेलिया, सन् २०२४ की फाइनलिस्ट दक्षिण अफ्रिका, एसियाली पावरहाउस भारत र पाकिस्तानसहित ग्लोबल क्वालिफायरबाट आएका दुई टिम छन्।
समूह २ मा आयोजक इंग्ल्यान्ड, साविक विजेता न्युजिल्यान्ड, श्रीलंका, पूर्वविजेता वेस्ट इन्डिज र बाँकी दुई क्वालिफायरबाट आएका टिमहरू समावेश हुनेछन्। उद्घाटन खेलमा आयोजक इंग्ल्यान्डले जुन १२ मा एजबास्टन मैदानमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।
दुवै समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन्। सेमिफाइनल खेलहरू जुन ३० र जुलाई २ मा लन्डनस्थित ओभल मैदानमा हुनेछ भने फाइनल खेल जुलाई ५ मा ऐतिहासिक लर्ड्स मैदानमा आयोजना हुनेछ।
२४ दिनसम्म चल्ने प्रतियोगितामा ३३ खेलहरू हुनेछन्, जसका लागि इंग्ल्यान्डका सात प्रमुख मैदानहरू – एजबास्टन, ह्याम्पशायर बाउल, हेडिङ्ले, ओल्ड ट्राफोर्ड, ओभल, ब्रिस्टल काउन्टी ग्राउन्ड र लर्ड्स छनोट गरिएको छ।
ग्लोबल क्वालिफायरमा नेपाली महिला क्रिकेट टोली पनि खेल्दै छ । गत महिना भएको एसिया छनोट पार गर्दै नेपाली टोली पहिलोपटक ग्लोबल छनोटमा पुगेको थियो । ग्लोबल क्वालिफायरबाट ४ टोली विश्वकपमा पुग्ने प्रावधान छ ।
यसपटकको महिला टी-२० विश्वकपमा पहिलो पटक १२ टिम सहभागी हुँदैछन्।
प्रतिक्रिया 4