+
+
Shares

नेविसंघले भन्यो- एनओसी अनियमितामा संलग्नलाई कारबाही गरियोस्

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ५ गते १४:३२

५ असार काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) मा अनियमितता गर्नेलाई कारबाही गर्न माग गरेको छ । संघका प्रवक्ता सुरज सेजुवालले विज्ञप्ति जारी गरेर दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

‘क्यान्टिन, स्टेसनरी र केही परामर्श संस्थाहरूको संलग्नतामा छिटो उपलब्ध गराइदिने बहानामा विद्यार्थीहरूको बाध्यताको फाइदा उठाउँदै घुस लेनदेन, कागजात किर्ते एवं हेरफेर, ठगी, भ्रष्टाचार तथा सेवाग्राही विद्यार्थीलाई अनावश्यक दुःख र हैरानी दिने गतिविधि संगठित रूपमा सञ्चालन भएको तथ्य उजागर भएकोप्रति नेपाल विद्यार्थी संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

देश छोड्न लागेका विद्यार्थीसँग एनओसीबाट गैरकानुनी ढंगले पैसा असुल्नु गम्भीर अपारध भएको नेविसंघको ठहर छ ।

‘आफ्नो र आफ्नो पारिवारको सुनौलो भविष्यको सपना बोकेर वैदेशिक अध्ययनका लागि मातृभूमि छोड्ने विद्यार्थीहरूमाथि प्रक्रियागत सहजताका नाममा किर्ते, ठगी र भ्रष्टाचारजस्ता गम्भीर आपराधिक गतिविधि सञ्चालन भइरहँदा समेत सरकार र सम्बन्धित मन्त्रालय आम विद्यार्थीले देखे, सुन्ने र बुझ्ने गरी सशक्त रूपमा प्रस्तुत नहुनु, छानबिन समितिको नाटक मञ्चन र औपचारिकतामा मात्रै सीमित रहनु अत्यन्त दुःखद र शंकास्पद छ,’ विज्ञप्तिमा भनिएको छ ।

ठगी गर्ने गिरोहलाई शिक्षा मन्त्रालयबाट संरक्षण भएको आशंका नेविसंघले गरेको छ । ‘वैदेशिक अध्ययन अनुमति पत्रमा हुने किर्ते, ठगी र भ्रष्टाचारमा संलग्न कर्मचारीलाई मन्त्रालयकै संरक्षण प्राप्त भएको संशय समेत पैदा गरेको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

एनओसी प्रणालीलाई पूर्णतः डिजिटल, पारदर्शी, विद्यार्थीमैत्री बनाउन नेविसंघले माग गरेको छ ।

शिक्षा मन्त्रालयले गठन गरेको छानबिन समितिको प्रतिवेदनसार्वजनिक गरी त्यसका आधारमा दोषीलाई कडा कारवाही गर्न र आवश्यक सुधारका कार्यहरू स्पष्ट रूपमा कार्यान्वयन गर्न समेत नेविसंघले भनेको छ । सुधार नभए आन्दोलनमा उत्रिने चेतावनी नेविसंघले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?