News Summary
Generated by OK AI. Editorially reviewed.- राहुल विश्वकर्माले सूर्य नेपाल गल्फ टुर २०२४-२५ को अन्तिम प्रतियोगिता जिते।
- उनले २१ अन्डर २६७ स्कोर बनाएर उपाधि जिते र दोस्रो उपाधि प्राप्त गरे।
- प्रतियोगितामा विभिन्न खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरे र पुरस्कार वितरण गरियो।
५ असार, काठमाडौं । एमेच्योर गल्फर राहुल विश्वकर्माले सूर्य नेपाल गल्फ टुर २०२४-२५ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन्।
समग्रमा २१ अन्डर २ सय ६७ को स्कोरमा नेपाल नम्बर एक प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई २ स्ट्रोकले हराउँदै उपाधि जितेका हुन्। राहुलले आज ५-अन्डर ६७ को स्कोर गरे।
राहुलले यो सिजनको दोस्रो उपाधि जिते। यसअघि उनले सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन जितेका थिए।
समग्रमा १९-अन्डर २ सय ६९ को स्कोरमा भुवन नगरकोटी दोस्रो भए। उनले आज ८-अन्डर ६४ को स्कोर गरे। प्रो तर्फ पहिलो भएका उनले नगद ३ लाख प्राप्त गरे। एमेच्योर सदभाव आचार्य समग्रमा १८-अन्डर २ सय ७० को स्कोरमा तेस्रो भए। उनले आज ५-अन्डर ६७ को स्कोर बनाए। उनी एमेच्योरतर्फ दोस्रो भए।
साविक विजेता सुबाश तामाङ समग्रमा १५-अन्डर २ सय ७३सहित चौथो भए। उनले आज इभन-पार ७२ स्कोर गरे। प्रो तर्फ उनी दोस्रो हुँदा नगद १ लाख ८५ हजार प्राप्त गरे।भुटानका एमेच्योर निम दोर्जी तामाङ समग्रमा १४-अन्डर २सय ७४ सहित पाँचौं स्थानमा रहे। उनले आज ६-अन्डर ६६ को उत्कृष्ट स्कोर गरे। एमेच्योरतर्फ उनी तेस्रो भए।
धरानका प्रो निरज तामाङले आज १-ओभर ७३ स्कोर गरे।समग्रमा १०-अन्डर २ सय ७८ सहित छैटौं भए। प्रो तर्फ तेस्रो भएका उनले १ लाख २५ हजार नगद हात पारे। उनी आगामी सिजनको नम्बर एक खेलाडी बनेका छन्। उनले यो सिजन तीन उपाधिसहित सर्वाधिक ८ लाख ६७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्दै अर्डर अफ मेरिटमा पहिलो भए।
दिनेश प्रजापति समग्रमा ९-अन्डर २ सय ७९ को स्कोरमा सातौं भए। उनले आज २-अन्डर ७० स्कोर गरे। प्रो तर्फ चौथो हुँदै नगद १ लाख ५ हजार प्राप्त गरे। शुक्र बहादुर राई समग्रमा ८-अन्डर २ सय ८० सहित आठौं भए। आज ५-अन्डर ६७ स्कोर गरे। प्रो तर्फ पाँचौं भएका उनले नगद ९२ हजार हात पारे।
समग्रमा ३-अन्डर २ सय ८५ को स्कोरमा प्रो सञ्जय लामा र एमेच्योर वाङ्चेन ढोन्डुपले संयुक्तरुपमा नवौं स्थान बाँडे। सञ्जयले इभन-पार ७२ र वाङ्चेनले २-अन्डर ७० मा आजको खेल सकाए। प्रो तर्फ छैटौं भएका सञ्जयले ८४ हजार प्राप्त गरे। यस्तै रवि खड्का, धन बहादुर थापा, जयराम श्रेष्ठ र तोरण विक्रम शाही प्रो तर्फ उत्कृष्ट दशमा रहे।
तेस्रो दिनका लिडर राहुलले आज फ्रन्ट नाईनमा बोगी रहित ५-अन्डर ३१ स्कोर गरे। उनले पहिलो, तेस्रो, छैटौं, सातौं र नवौं होलमा बर्डी प्रहार गरे। ११औं र १२औं होलमा पनि एक-एक सट बचाउँदा २३-अन्डरमा स्कोर पुर्याइसकेकाथिए। तर ४-पारको १४औं होलमा डबल बोगी खेप्दा ब्याकनाइन इभन-पार ३६ मा सकाए।
भुवन नगरकोटीले तेस्रो होलमा इगलको सफलता प्राप्त गरे। चौथो, सातौं र नवौं होलमा बर्डी प्रहार गर्दे फ्रन्ट नाइन ५-अन्डर ३१ मा सकाए। यसपछि ११औं, १२औं, १५औं र १७औं होलमा एक-एक सट बचाए। १४ औं होलको बोगीले ब्याक नाइन ३-अन्डर ३३ मा पुरा गरे।
सदभावले फ्रन्ट नाइनमा इभन-पार ३६ खेले। तेस्रो होलमा डबल बोगी खेपे। छैटौं, सातौं र नवौं होलमा बर्डी प्रहार गर्दा आठौं होलमा एक सट खेर फाले। यसपछि १२औं होलमा इगलको सफलता प्राप्त गर्दा ११औं, १४औं र १५औं होलको बर्डीले ब्याकनाइन ५-अन्डर ३१ मा सकाए।
विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक रवि कुमार रायवरम र नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन(एनपिजिए) का अध्यक्ष रवीन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गरे।
एनपिजिएद्वारा आयोजित चार दिने प्रतियोगितामाहालसम्मकै सर्वाधिक १६ लाख नगद पुरस्कार राशी रहेकोथियो। जहाँ ३७ प्रो र १८ एमेच्योर गरी कुल ५५ गल्फरले सहभागिता जनाएका थिए।
अब शनिबार प्रो-एम प्रतियोगिता हुनेछ। जहाँ ३० प्रोफेसनल र १२० जना कर्पोरेट स्तरका एमेच्योर खेलाडीले भाग लिनेछन्।
प्रतिक्रिया 4