News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालका कुनै पनि क्लबले एएफसी क्लब लाइसेन्स नपाएको कारण २०२५/२६ को सिजनमा हुने प्रतियोगितामा सहभागी हुने छैन।
- दक्षिण एसियाका भुटान, बंगलादेश, माल्दिभ्स र श्रीलंका, पाकिस्तानका क्लबले लाइसेन्स प्राप्त गरे पनि नेपालका क्लबले प्राप्त गर्न सकेनन्।
- नेपालमा शीर्ष श्रेणीको लिग नहुन र ए डिभिजन लिग दुई वर्षदेखि हुन नसकेकोले नेपाली क्लबको प्रतिनिधित्व सुनिश्चित छैन।
६ असार, काठमाडौं । नेपालका कुनै पनि पुटबल क्लबले एएफसी क्लब लाइसेन्स नपाएपछि कुनै पनि एएफसी क्लब प्रतियोगिता खेल्न नपाउने भएको छ ।
एएफसीले सार्वजनिक गरेको एएफसी क्लब लाइसेन्स पाउने देश र क्लबको सूचीमा नेपालका कुनै पनि क्लबको नाम छैन ।
यसको अर्थ २०२५/२६ को सिजनमा हुने एएफसीको कुनै पनि क्लब प्रतियोगितामा नेपालका क्लबको प्रतिनधित्व हुने छैन ।
गत वर्ष ए डिभिजन लिग च्याम्पियनको हैसियतले नेपालको चर्च ब्वाइज युनाइटेडले एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरण खेलेको थियो । एसियाको तेस्रो श्रेणीको यो क्लब प्रतियोगितामा अब नेपाली क्लबको सहभागिता हुने छैन ।
एएफसीले एएफसी च्याम्पियन्स लिग एलिट र टुका साथै एएफसी च्यालेन्ज लिगको लागि समेत क्लब लाइसेन्स पाउने क्लबको सुची सार्वजनिक गरेको छ ।
दषिण एसियाबाट भुटानकै चार क्लबले च्यालेन्ज लिगका लागि क्लब लाइसेन्स प्राप्त गर्दा नेपाली क्लब भने लाइसेन्स विहिन बनेको हो । यस्तै बंगलादेशबाट पनि च्यालेन्ज लिगका लागि २ क्लबले क्लब लाइसेन्स पाएका छन् भने माल्दिभ्सबाट एक क्लबले च्यालेन्ज लिगको लागि क्लब लाइसेन्स पाएको छ । दक्षिण एसियामा नेपालहसित श्रीलंका र पाकिस्तानबाट कुनै पनि क्लबले क्लब लाइसेन्स प्राप्त गर्न सकेनन् ।
दक्षिण एसियामा भारतबाट ८ क्लबले एएफसी च्याम्पियन्स लिग एलिट/टु का लागि क्लब लाइसेन्स प्राप्त गरेका छन् ।
पछिल्लो समय नेपालमा शीर्ष श्रेणीको लिग हुन सकेको छैन । जसले गर्दा क्लबहरु मोफसलका नकआउट गोल्डकप मात्रै खेलेर बसेका छन् ।
दुई वर्ष देखि शहीद स्मारक ए डिभिजन लिग आयोजना हुन नसक्दा नेपाल एएफसीको प्रतियोगिताका लागि नेपालबाट कुन क्लबले खेल्ने नै निश्चित थिएन । जसले गर्दा एन्फाले २०८२ बैशाखमा एन्फा कप नकआउट प्रतियोगिता गर्ने र त्यसकव विजेता टिमलाई एएफसीको प्रतियोगिता प्रतिनिधित्व गर्न पठाउने निर्णय गरेको थियो ।
तर ए डिभिजनकै अधिकांश क्लबले अहसमति जनाएपछि एन्फाले गर्न खोजेको प्रतियोगिता पनि हुन सकेन ।
पछिल्लो पटक २०७९/८० मा भएको ए डिभिजन लिग जेठ अन्तिममा सकिएको थियो । त्यसयता ए डिभिजन लिग हुन सकेको छैन ।
प्रतिक्रिया 4