
News Summary
Generated by OK AI. Editorially reviewed.- दीनकर नेपाललाई वालिङ नगरपालिका-१० मा वडाध्यक्षसहितले गरेको निर्घात कुटपिटको घटना भएको छ।
- उनीहरूले पारदर्शिताको सवाल उठाउँदै उत्खननको विरोध गरेपछि आक्रमण भएको हो।
- आक्रमणमा संलग्न वडाध्यक्ष फरार रहेका छन् र प्रहरीले जाहेरी दर्ता गरेको छ।
६ असार, पोखरा । पोखरा फेवासिटी अस्पतालको एउटा क्याबिनमा उपचाररत दीनकर नेपाल बोल्दाबोल्दै भक्कानिए । रोक्न खोज्दा/खोज्दै उनका आँखाबाट आँसु झरिहाले । काँपेका ओंठबाट रोकिँदै-रोकिँदै शब्दहरू निस्के ।
केही वर्षयता युवा उद्यमशिलता, कृषि उत्पादन, युवा सोचको बहस चलाइरहेका दीनकर मंगलबार ३ असारमा निर्घात कुटिए । पारदर्शिताको सवाल उठाउँदा उनी वालिङ नगरपालिका-१० का वडाध्यक्षको आक्रमणमा परेका थिए ।
वडाध्यक्ष सुनिल खनालसहितले फलामको रड प्रहार गरेर उनको एउटा हात भाँचिदिएका छन् र अर्को हातमा गम्भीर चोट लागेको छ । हात केही दिनमा अप्रेसन गर्नुपर्ने चिकित्सकले बताएका छन् । जुन हातका औंला उठाउँदै उनले वालिङ नगरपालिका- १० मा भइरहेको आँधिखोला दोहनको प्रश्न गरेका थिए ।
सार्वजनिक गर्नुपर्ने दस्तावेजसमेत नपाएपछि झोलुंगे पुलैमुनिबाट मेसिन नै प्रयोग गरेर वालिङस्थित आँधिखोलामा दोहन भइरहेको थियो । त्यसैको विरुद्धमा कार्यक्रम गरेर फर्किँदै गरेका दीनकर र मेघ आलेमाथि वडाध्यक्षकै नेतृत्वमा आक्रमण भयो । दीनकरको खुट्टामा समेत चोट लागेको छ ।
पछिल्ला दुई दिनदेखि पोखराको फेवासिटी अस्पतालमा उपचार गराइरहेका दीनकर ज्यानै जानसक्ने आक्रमणपछि अझै असुरक्षित महसुस गरिरहेका छन् । घरी उनी समाजप्रति आक्रोशित हुन्छन् त घरी राजनीतिले अपराधलाई कसरी प्रसय दिइरहेको छ भनेर घोत्लिन्छन् ।
जनप्रतिनिधिबाटै आक्रमण हुने कस्तो प्रतिशोधपूर्ण अवस्था निर्माण भयो, किन कोही जनप्रतिनिधिले कसैमाथि यसरी निर्घात कुटपिट गर्छ त ? दीनकर भावुक भए, भक्कानिए र भने, ‘हामो समाज यस्तो नबनोस् कि हतियार नउठाउने मान्छे, हात नउठाउने मान्छे बोल्न डराउन परोस् ।’
हुन पनि दीनकर र मेघ आलेले प्रश्नमात्रै उठाएका हुन्, पारदर्शिताको सवाल निकालेका हुन् । जहाँ पुलमुनि उत्खनन् भइरहेको थियो र त्यो कुन आयोजनाका लागि गरिएको हो भन्ने कतै पनि सार्वजनिक सूचना टाँस गरिएको थिएन ।
केही दिनदेखि रातदिन उत्खनन् भएपछि नगरपालिकामा सूचना माग्न पुगेका उनीहरूलाई सजिलै दिइएन, सूचना हक प्रयोग गरेर १५ दिनपछि लिन भनियो । १५ दिनसम्म आँधिखोलाबाट धेरै नै उत्खनन हुने सोचेर उनीहरूले विरोध कार्यक्रम गरेर मोटरसाइकलमा फर्किँदै थिए । त्यही बेला उनीहरूमा आक्रमण भयो ।
फेरि पनि दीनकरले घटना सम्झिँदै भने, ‘म चाहन्छु, हाम्रो समाज यस्तो नबनोस् कि छुरा लिएर नहिँड्ने, खुकुरी नबोक्ने, बाउआमाका छोरीहरू घरबाट निस्कन डराउनु परोस् ।’
नेपाली कांग्रेसबाट विजयी वडाध्यक्ष खनाल अहिले फरार छन् । आक्रमणमा संलग्न भएको आरोपमा अर्का साजन पंगेनी भने पक्राउ परेका छन् भने अन्य ८ जनाविरुद्ध जाहेरी परेको स्याङ्जाका एसपी दधिराम न्यौपानेले जानकारी दिए ।
आक्रमणमा पर्ने मेघ राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य हुन् भने दीनकर रास्वपाको नेतृत्व विकास विभागका केन्द्रीय सदस्य । वडा नम्बर ८ को वालिङमोड घर भएका दीनकर स्थानीय तहको अघिल्लो कार्यकालमा मेयर दिलिपप्रताप खाँणको सल्लाहकार भएर काम गरेका थिए ।
२०७९ को चुनावमा पनि उठेका खाँण आफूले पराजय भोगे पनि वडाहरूमा उनले टिकट दिलाएका युवाहरूले जितेका थिए । तिनैमध्येका एक हुन्, वडा नम्बर १० का वडाध्यक्ष सुनिल । ढुंगागिट्टी उत्खनन् विषयमा उनको वडामा नभई उनी वडा नम्बर ९ मा आएर आक्रमणमै उत्रिएका थिए ।
तत्कालीन मेयर दिलिपप्रतापको सल्लाहकार भएर करिब एक वर्ष काम गरेका दीनकर पछिल्लो समय रास्वपामा जोडिएका थिए । भारतीय सेनाको जागिर बीचमै छाडेर नेपाल फर्किएका दीनकरले मास्टरीदेखि उत्पादनसम्मका विभिन्न क्षेत्रमा काम गरे ।
नेपालको राजनीति, युवा सोचको बहस चलाउन विभिन्न मिडियामा लेखसमेत लेखिरहने उनले पछिल्लो समय वालिङ-५ चिसापानीमा फलफूल तथा तरकारी लगाइरहेका छन् ।
किशोर तथा युवाको नेतृत्व विकास गर्नेभन्दा स्याङ्जा थिंकट्यांक निर्माणको अभियान पनि उनले चलाइरहेका थिए । यसअघि महिलाहरूलाई उत्पादन र रोजगारीसँग जोड्दै उनले कपडामा ‘हिमाली’ ब्रान्ड नाम दिएर बजारीकरण गरिरहेका थिए ।
अहिले स्याङ्जा वालिङलाई नै मुख्य आधार बनाएर रास्वपाको राजनीतिसमेत गरिरहेका उनी स्थानीय, प्रदेश र संघ तीनै तहबाट भइरहेका कामप्रति खबरदारी गर्ने कामसमेत गर्दै आइरहेका थिए । त्यही क्रममा आँधिखोलामा भइरहेको उत्खखन पारर्शिताबारे प्रश्न गर्दा उनीमाथि आक्रमण भएको हो ।
कसरी निर्माण भयो वडाध्यक्षबाटै कुटिने घटनाक्रम ?
वालिङ-भुम्रे-अर्चलबोट हुँदै पर्वत जाने सडक अहिले निर्माण भइरहेको छ ।
वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगा सुवेदीका अनुसार यो सडकका लागि आवश्यक पर्ने ढुंगा, गिट्टी, बालुवाका लागि ९ लाख रुपैयाँभन्दा बढी राजस्व लिएर आँधिखोलामा उत्खननका लागि दिइएको हो । त्यो ठाउँको नाम पुलको मुख भनिन्छ ।
डुन्डी आरएस भेन्चरले निर्माण गरिरहेको सडकका लागि पुलको मुखमा उत्खनन गर्न दिइएको हो । ठेकेदार कम्पनीका तर्फबाट सीताराम गौतमले सडक निर्माण योजना हेरिरहेका छन् ।
आँधिखोला छेउछाउका बस्तीहरूमा जोखिम हुनसक्ने सम्भावना समेतलाई ध्यानमा राखी मेसिन प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन गर्न जिल्ला विपद् व्यवस्थापन समितिसँग अनुमति मागसमेत गरिएको पालिकाको भनाइ छ ।
केही समय अगाडि सामाजिक सञ्जालमा डोजर लगाएर ढुंगा, गिट्टी, बालुवा निकालेर रास बनाइएको अभियन्ता दीनकरले पनि देखे । त्यहाँ नजिकै झोलुंगे पुलसमेत छ । नदी संरक्षण नेपालको नेतृत्वसमेत गरिरहेका मेघ आलेको घरैदेखि मुनि भइरहेको काम थियो । उनले मेघसँग छलफल गरे । उत्खननसम्बन्धी मापदण्डमा योजनाबारे स्पष्ट नागरिकले देख्नेगरी सार्वजनिक ठाउँमा टाँस्नु/राख्नु पर्छ । तर त्यहाँ केही पनि थिएन ।
मापदण्डअनुसार झोलुंगे पुलभन्दा ५ सय मिटर तल/माथि उत्खनन् गर्न पाइँदैन । बाढीले गेग्रान ल्याएर थुपारेको छ र त्यसकै कारण थप जोखिम बढ्ने हो भने वातावरणीय प्रभाव मूल्यांकन गरेर मेसिनमार्फत माल निकाल्न पाइन्छ । तर त्यहाँ उनीहरूले त्यसो नभएको देखेपछि वालिङ नगरपालिकामा सूचनाका लागि माग राखे । मेयर कृष्ण खाँणले त्यस्तो नभएको जवाफ दिँदै सूचना चाहिएको भए सूचनाको हक प्रयोग गरेर १५ दिनपछि लिन आग्रह गरेको दीनकरले सुनाए ।
‘त्यहाँ पुलको पिल्लरको बेसभन्दा पनि तलबाट खनिएको छ । मापदण्डविपरीतको काम भइरहेको थियो,’ दीनकरले भने, ‘१५ दिन कुरेर बस्दा धेरै थोक भइसक्छ, अहिले नै विरोध गर्नुपर्छ भनेर पुलको मुखमा पुगेर डोजरमै ब्यानर टाँगेर कार्यक्रम गर्दै थियौं, वडाध्यक्ष सुनिल भाइहरू अपशब्द बोल्दै आइपुगे ।’
दीनकरका अनुसार २५ सय घनमिटर ढुंगागिटी निकाल्ने अनुमति दिइएको भनिए पनि ३ हजारभन्दा बढी निकालिएको थियो । यसअघि जरिवानासमेत तिराइएको भन्ने थियो । ‘उत्खननमा प्रयोग भएको डोजर वडाध्यक्ष सुनिल भाइकै हो भन्ने सुनेको छु । कार्यक्रम सुरुमात्र भएको थियो, २/४ जना हट्टाकट्टा केटाहरू लिएर वडाध्यक्ष खनाल पुगे,’ उनले घटनाको विस्तार लगाए, ‘उनले ब्यानर च्यात्न भने । मेघ आले दाइले च्यात्ने कुरा हुँदैन भन्नुभयो ।’
वडाध्यक्षले त्यही बेला अपशब्दसमेत प्रयोग गरेको सुनेपछि स्थानीयले पनि यसरी बोल्ने हो भनेर प्रश्न गरेको उनले बताए । ‘मलाई व्यक्तिगत हिसाबले नै अपशब्द बोल्दै कार्यक्रमपछि तिमीहरूलाई हेरौंला भनेर वडाध्यक्षले भने,’ उनले भने ।
ज्यानकै असुरक्षा भएको महसुस भएपछि प्रहरीलाई फोन गरेर जाहेरी दर्ता गर्न जाँदै गर्दा बाटोमा कुरेर आफूहरूमाथि आक्रमण गरिएको उनको भनाइ छ ।
घटनास्थलबाट ७/८ सय मिटरको दूरीमा सुर्कौंदी भन्ने ठाउँ आइपुग्छ । त्यहाँ एउटा ओरेन्ज कटेज छ । त्यो कटेज वडाध्यक्ष सुनिलकै भएको स्थानीय बताउँछन् ।
त्यही कटेजनेर आइपुग्दा दीनकर र मेघमाथि रड प्रहार भएको थियो । ‘घुम्तीनेरबाट मोटरसाइकल अगाडि बढाएपछि वडाध्यक्ष सुनिल र अर्का एकजना व्यक्ति हातमा रड लिएर अभिएको देख्यौं । के गर्ने, गर्ने भनेर सोच्न नपाउँदै रड बर्साउन थाले,’ दीनकरले घटना सुनाए, ‘मेघ दाइलाई नालातिर लडाइदिए । मलाई चाहिँ रड प्रहार गर्न थाले । हात रोक्न खोजें । पहिलो प्रहार चाहिँ सिधै टाउकोमा गरे । हेलमेटले हेर्दा ठूलो चोट लाग्न पाएन तर पछाडि हुत्तिएँ ।’
आक्रमण भइरहँदा आलेले गरेको हार-गुहारपछि स्थानीयहरू आएका थिए । त्यसपछि भने वडाध्यक्षसहित भाग्न सफल भएको उनले बताए ।
सरकारमा कस्ता युवा छन् भन्ने प्रतिविम्ब
अहिले सरकारमा तीनखाले अतिवाद देखा परेका छन् । एक, जनप्रतिनिधि भएपछि मैले जे गरे पनि भने पनि हुन्छ भन्ने अतिवाद छ भने अर्कोतर्फ कर्मचारी तन्त्रमासमेत प्रक्रियालाई देखाएर लम्बाइदिने, जनप्रतिनिधिसँग मिलेर भ्रष्टाचार गर्ने, गर्न उत्प्रेरित गर्ने समस्या देखा परेको छ ।
नागरिक तह तथा अभियन्ताका नाममा पनि जे कुराको पनि विरोध गर्ने, विकास प्रभावित हुनेगरी आन्दोलन गर्ने प्रवृत्ति पनि पछिल्लो समय देखा मौलाउँदै गइरहेको छ । लोकप्रिय कुरा र केही त्यस्तै गतिविधिबाट चर्चा कमाउँदै राजनीतिमा प्रवेश गरेका केही पार्टी र नेता पनि त्यही बाटोमा देखिन्छ ।
रास्वपा पनि त्यही पथलाई पछ्याउँदै आएको आरोप लाग्ने गरेकोमा वालिङमा चाहिँ कसरी घटना घट्यो भन्ने चासोसमेत धेरैमा देखिएको छ ।
भावुक बन्दै दिनकरले घटना सुनाए, ‘म घन्टी पार्टी बनाउँछु भनेर नेपाल आएको होइन । मेरो ऊर्जा, मेरो सोच अर्काको देशको स्वार्थमा खर्च गर्दिनँ भनेर नेपाल फर्किएको हुँ । वालिङ आएर घन्टी पार्टी जमाउँछु भनेर काठमाडौंको राम्रो जागिर छोडेर फर्किएको होइन । मेरो बुवाआमाको सेवा गर्छु, मेरो माटोमा केही कृषि उद्यम बनाएर यहाँका युवाहरूका लागि जुन पाउनुपर्ने अवसर पाएका छैनन्, त्यो अवसर क्रियट गर्छु भनेर त्यो ठाउँमा बसेको हुँ ।’
दु:ख रास्वपाका नेतामाथि आक्रमण गरियो भन्ने होइन, दु:ख चाहिँ हतियार नहुने मान्छेले बोल्नै नपाउने समाज हामीले बनायौं भन्नेमा लागेको दीनकरले सुनाए ।
जम्मा ३ वटा मागसहित थालेका थिए अभियान
नदी दोहनको विरोध गरिरहेका उनीहरूसँग जम्मा ३ वटा मात्र माग थिए । उनीहरूले नदीजन्य पदार्थ संकलनका लागि स्याङ्जा जिल्लाभरि नीतिगत एकरूपता ल्याउनुपर्छ भन्ने माग राखेका थिए । सबै पालिकाका प्रतिनिधि, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन, नागरिकसहितको बैठकले यस्तो नीतिगत व्यवस्था गर्न सकिन्छ भन्ने उनीहरूलाई लागेको थियो ।
दोस्रो चाहिँ अहिले त्यहाँ जुन काम भएको छ, त्यसको दस्तावेज सार्वजनिक गर्नुहोस् भन्ने हो ।
तेस्रो माग त्यहाँको उत्खनन् गर्दा निम्तिएको सम्भावित जोखिमलाई न्यूनीकरण गर्न तुरुन्त सम्बोधन गर्नुपर्छ भन्ने थियो ।
तारजाली लगाउने, संरक्षण गर्ने कुरा थियो । सरकारले सम्बोधन गर्नैपर्ने र दायित्वभित्रै पर्ने मागलाई पूरा गर्नु त परको कुरा, अहिले जनप्रतिनिधिबाटै ज्यानै मार्ने उद्देश्यले आक्रमण हुँदा पनि पालिकाहरूले चुइँक्क बोलेका छैनन् ।
राष्ट्रिय तथा केही विशेष योजनामा यसरी उत्खनन गर्न पाउने मापदण्ड छ । तर मेसिन लगाउने भएपछि वातावरणीय प्रभाव मूल्यांकन गर्नैपर्छ । कुरा पारदर्शिताको मात्रै थियो । गलत भएको छ भने सच्याउनुपर्ने थियो । तर घटनालाई सामान्यीकरण गर्ने काम अहिले भइरहेको छ ।
‘जिल्लाबाट बोलाएर पनि नाप्न लगाइयो । २५ सय घनमिटर भनेर दिइएको अनुमतिमा ३ हजारभन्दा बढी घनमिटर देखियो । उहाँहरूले नै नाप्नुभएको हो । ननाप्दै मेसिन प्रयोग हुन थालिसकेको थियो, हिसाबै छैन । वातारणीय प्रभाव मूल्यांकन छैन, तोकिएकोभन्दा बढी निकालेको छ, नगरपालिकालाई राजस्व घाटा भएको छ,’ उनले भने, ‘नगरपालिकालाई राजस्व घाटा हुने कुरामा पनि अनुगमन समिति मौन छ, पालिका प्रशासन मौन छ । अब भन्नुस्, त्यहाँ केही त गडबड छ, थियो ।’
ठेकेदारले गाड्दिन्छु भनेका घटना ताजै छन्
अहिले वालिङका केही क्षेत्रमा ढुंगागिट्टीका उत्खनन् गर्ने भनेर निजी जग्गा लिएर, अनुमति लिएर गरेका छन् । केही क्षेत्र त पुल वरिपरि छ, जुन मापदण्डले नै उठाउन दिँदैन ।
मापदण्डले उत्खनन गर्न नदिने ठाउँमा भएका ढुंगागिट्टी, बालुवा कसरी हुन्छ, निकालौं भनेर आँखा लगाएको देखिने अभियन्ता दीनकर बताउँछन् ।
‘विरोध गर्न आउने स्थानीयलाई ठेकेदारले गाड्दिन्छु, मारेर पुरिदिन्छु भनेको र पछि त्यसको विरुद्धमा आवाज उठेपछि माफी मागेका कुराहरू धेरै भएका थिए,’ उनी सुनाउँछन्, ‘राजनीतिक संरक्षणमा स्थानीय ठेकेदारले मापदण्डलाई प्रयोग गर्ने भाषा मिलाउन तर ग्राउन्डमा जाँदा केही पनि नदेखिने छ । सकेसम्म रातारात गर्ने पनि हुन्छ ।’
यो घटनासँग आफ्नो राजनीतिलाई जोडेर हेर्ने गरिएको भए पनि आफू समाज नबिग्रियोस् भनेर नै लागिपरेको उनको भनाइ छ ।
नेताले पपुलिस्ट कुरा गर्ने र जनतालाई भुलाउने, कर्मचारीले प्रक्रियाको कुरा गरेर अल्झाउने कुराको भूमरीमा अहिले स्थानीय तह रहेको उनको अनुभव छ । स्थानीय तहका नेताहरू जन्ती मलामी गर्ने, चौकीमा फसेका मान्छेहरूलाई छुटाउने कुराकै यहाँको राजनीति केन्द्रित बनेको उनले आरोप लगाए ।
अब पनि आफू चुप लागेर नबस्ने तर असुरक्षाको महसुस चाहिँ भइरहेको उनको भनाइ छ । किटानी जाहेरी दिइसकेको र अब कानुनअनुसार अगाडि बढिसकेको उनले बताए । तर, सत्य कुरा स्थापित गर्न समाजमा संघर्ष जारी राख्ने उनको भनाइ थियो ।
‘सामाजिक जीवन एउटा ठाउँमा छ, व्यक्तिगत व्यावसायिक कुरा एकठाउँमा छन्,’ दीनकरले कुराकानीको बिट मार्दै भने, ‘हामी के चाहन्छौं भने वालिङलाई सक्षम नेतृत्वको हातमा सुम्पिनुपर्छ भन्ने कुरामा स्पष्ट छौं ।’
प्रतिक्रिया 4