+
+
Shares

निरकुंश शैलीमा संसद् चलाउने तरिका ठीक भएन : माधव सापकोटा

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ७ गते १४:०१
फाइल तस्वीर

७ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले निरकुंश शैलीमा बलजफ्ती संसद् चलाउने सुहाउँदो र उपयुक्त तरिका नभएको बताएका छन् ।

शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । प्रतिपक्षी दलले राखेका माग पूरा गराउन सरकारलाई उनको आग्रह छ ।

‘निरकुंश शैलीमा बलजफ्ती संसद् चलाउने यो सुहाउँदो र उपयुक्त तरिका भएन,’ सांसद सापकोटाले भने, ‘यसले लोकतन्त्रलाई गिज्याइरहेको छ । हाम्रो संसद्को ओज र गरिमालाई बढाएन भनेर म दु:ख व्यक्त गर्न चाहन्छु ।’

साथै, उनले आर्थिक वर्ष २०८२/०८३ को बजेट १६औं योजनाको उद्देश्य र सोचसँग तालमेल नमिलेको टिप्पणी गरे ।

सांसद सापकोटाले विवादित बक्यौता नउठाउँदा राष्ट्रप्रति गम्भीर घात हुने बताए । बजेटमा व्यवस्था गरिएको टेक एण्ड पे गम्भीर प्रकारको कमजोरी भएकोले मुलुकको अर्थतन्त्रको महत्त्वपूर्ण मेरुदण्ड मानिएको उर्जाक्षेत्र ध्वस्त हुने उनको भनाइ थियो ।

‘बजेटमा टेक एण्ड पे भनेर एउटा व्यवस्था भयो । स्वयं मन्त्रीज्यूको प्रश्तावमा उर्जा मार्गचित्र भनेर जुन परिकल्पना गरिएको छ त्यसलाई यसले खण्डित गर्दछ । टेक एण्ड पे को वर्तमान परिस्थितिलाई कानुनमा कायम राख्यौं भने अन्तत: हाम्रो फेरि अध्यारोतर्फको यात्रा हुन्छ,’ सांसद सापकोटाले भने, ‘मुलुकको अर्थतन्त्रको महत्वपूर्ण मेरुदण्डका रुपमा मानिएको उर्जाक्षेत्र ध्वस्त हुने खतरा छ । सरकारलाई के त्यस्तो दबाब पर्‍यो कि अहिले टेक एण्ड पे मा जानुपर्ने स्थिति भयो । त्यसैले यो गम्भीर प्रकारको कमजोरी हो, टेकएण्ड पे को यो प्रस्तावबाट सरकार पछाडि हट्नुपर्दछ र उर्जा क्षेत्रको वातावरण सङ्लो बनाउन मिहिनेत गर्नुपर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?