
News Summary
Generated by OK AI. Editorially reviewed.- संसदीय अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले नेपाल नागरिक उड्डयन र हवाई सेवा प्राधिकरण सम्बन्धी विधेयकको सैद्धान्तिक छलफल सुरु गर्यो।
- मन्त्री बद्री पाण्डेले विधेयक सरकारको संस्था टुक्र्याउने होइन, व्यवस्थित पार्ने उद्देश्यले आएको बताए।
- विधेयकमा आठ प्रमुख सूचक समावेश छन् र संशोधनमार्फत अघि बढ्ने सहमति भएको छ।
८ असार, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरणलाई व्यवस्थित पार्न तयार ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र हवाई सेवा प्राधिकरण सम्बन्धी विधेयक २०८१’ माथि सैद्धान्तिक छलफल सुरु भएको छ ।
प्रतिनिधि सभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा विधेयकबारे छलफल सुरु गरिएको हो । सैद्धान्तिक छलफलका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले संसद्मा यो विधेयकप्रति व्यापक चासो देखिएको बताए ।
‘संसद्को प्राथमिकतामा रहेको यो विधेयकमा ७५ जना सांसदले सक्रियताका साथ भाग लिनुभएको छ,’ मन्त्री पाण्डेले भने, ‘सरकारका तर्फबाट यो विधेयक कुनै संस्था टुक्र्याउने उद्देश्यले होइन, व्यवस्थित पार्ने दृष्टिकोणबाट आएको हो ।’
उनका अनुसार विधेयकमा आठ प्रमुख सूचक समावेश छन् । कर्मचारीहरूको असन्तुष्टिपछि ट्रेड यूनियनहरूसँग छलफल गरी विधेयकमा आवश्यक संशोधन मार्फत अघि बढ्ने सहमति पनि भइसकेको जानकारी मन्त्री पाण्डेले दिए ।
छलफल क्रममा विज्ञ तथा संशोधनकर्ताका धारणा समेटिने विश्वास उनले व्यक्त गरे । हवाई नीति र छाता ऐन अन्तिम चरणमा रहेको जानकारी दिँदै ती विषय पनि छिट्टै अगाडि बढाइने उनको भनाइ छ ।
हवाई दुर्घटनापछि पाउने बीमासम्बन्धी व्यवस्थामा स्वदेशी र विदेशी नागरिकबीच देखिएको भिन्नता हटाएर एकरूपता ल्याउने कार्य पनि अघि बढाइने मन्त्री पाण्डेले जानकारी दिए । विधेयकमा परेका संशोधन प्रस्तावबारे अब सहमतिमै विस्तृत छलफल हुने समितिले जनाएको छ ।
प्रतिक्रिया 4