
News Summary
Generated by OK AI. Editorially reviewed.- बुटवल-पाल्पा सडकखण्डको सिद्धबाबा क्षेत्रमा वर्षैपिच्छे पहिरोले दुर्घटना र मानवीय क्षति हुँदै आएको छ।
- पहिरो र दुर्घटना जोखिम कम गर्न तथा छिटो यात्रा गराउन सुरुङ मार्ग निर्माण कार्य भइरहेको छ तर यसले पनि समस्याको पूर्ण समाधान दिँदैन।
- तल्लो सिद्धबाबा मन्दिरदेखि माथिल्लो सिद्धबाबा मन्दिर हुँदै दोभानसम्मको ३ किलोमिटर सडकखण्डमा पहिरोको उच्च जोखिम छ।
९ असार, बुटवल । असार २०७२ मा बुटवल-पाल्पा सडकखण्डको सिद्धबाबा क्षेत्रमा लुम्बिनी मेडिकल कलेज पाल्पाका डा. तरुणदीप सिंह कोचर र उनकी श्रीमती डा. यशोदा चढेको गाडी पहिरोले पुरिँदा दुवैजनाको घटनास्थलमै मृत्यु भयो । घटनामा गाडीमा सवार अन्य २ डाक्टर घाइते भए ।
सोही वर्षको २२ साउनमा सिद्धबाबामै अर्को ठूलो दुर्घटना भयो । पाल्पाबाट बुटवल आउँदै गरेको लु१ख ५७७१ नम्बरको यात्रुवाहक बसलाई पहिरोले धकेलेर तिनाउ नदीमा खसाल्दा ३ जनाको ज्यान गयो ।
२०७४ साल असोजमा सिद्धबाबा क्षेत्रमै गुडिरहेका ट्रक र कारमाथि पहिरो खस्दा ३ जनाको मृत्यु र १ जना घाइते भए ।
भदौ २०७६ मा सिद्धबाबा क्षेत्रमै पहिरोले जीप पुरिँदा चालकको मृत्यु भयो, ६ जना घाइते भए । साउन २०७८ मा पहिरोमा परेर सोही क्षेत्रमा ३ वर्षीया नैनी दर्जीको ज्यान गयो ।
असार २०८० मा गुडिरहेको जीपमा ठूलो ढुंगो खस्दा ३ जना घाइते भए ।
दैनिक ५ हजारभन्दा बढी सवारी साधन आवतजावत गर्ने यो सडकमा भएका यी दुर्घटना केही उदाहरण मात्र हुन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाको तथ्यांकअनुसार २०६८ सालयताको १४ वर्षमा सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा पहिरो खस्दा भएका दुर्घटनामा कम्तीमा ३० जनाको मृत्यु र १०० बढी घाइते भएका छन् ।
पहिरो खस्दा कैयौंपटक घण्टौं सडक अवरुद्ध भएको छ भने मानवीय र सवारी साधनको क्षति हुनेमा यात्रुसँगै चालक र गाडी धनीसमेत छन् ।
२०६८ देखि २०७३ वैशाखसम्मको ५ वर्षमा मात्रै सिद्धबाबा क्षेत्रमा खसेका पहिरोमा परेर २५ जनाले ज्यान गुमाएका थिए भने ३० जना घाइते भएका थिए । २०७३ वैशाखयता भने दुर्घटना र मानवीय क्षतिको दर घटेको देखिन्छ ।
चट्टाने भीरको तल बनेको यो सडक खण्डमा हरेक वर्ष वर्षायाममा मात्र नभई सुख्खा याममा समेत पहिरो झर्छ ।
सडकमा पहिरो झरेर बर्सेनि सडक अवरुद्ध हुँदा यात्रु, चालक र मालिकले सास्ती र क्षति खेप्नुपरिरहेको छ ।
तल्लो सिद्धबाबा मन्दिरदेखि माथिल्लो सिद्धबाबा मन्दिर हुँदै दोभानसम्मको ३ किलोमिटर सडकखण्डमा पहिरोको उच्च जोखिम छ ।
बुटवलबाट लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची तथा गण्डकी प्रदेशका स्याङ्जा, बागलुङ, कास्की, पर्वत, म्याग्दी, मुस्ताङ पुग्न सिद्धबाबा खण्ड भएर यात्रा गर्नुपर्छ । बर्सेनि दुर्घटना र मानवीय क्षति हुने भएकाले सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डलाई ‘मृत्यु मार्ग’ समेत भनिन्थ्यो ।
यही मृत्यु मार्गको विकल्पका रूपमा झुम्सा-चरंगे सडक निर्माण अघि बढे पनि ६ वर्षसम्म अलपत्र छ भने ७ अर्ब ३४ करोड २१ लाख लागतमा ११ सय मिटर सुरुङ मार्ग निर्माणाधीन छ । तर पहिरोको जोखिम क्षेत्र नसमेटेको छोटो सुरुङ मार्गले पहिरो र दुर्घटनाको जोखिम पूर्ण रूपमा अन्त्य नहुने सरोकारवाला बताउँछन् ।
६ वर्षसम्म अलपत्र झुम्सा–चरंगे सडक
लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले सिद्धबाबा खण्डमा पहिरोका कारण भइरहने सडक अवरोध र मानवीय क्षति रोक्ने विकल्पका रूपमा झुम्सा-चरंगे सडक निर्माण अघि बढाएको थियो ।
२०७५ सालमा १० करोड रुपैयाँ विनियोजन गरेर पाल्पाको झुम्साबाट रूपन्देहीको चरंगे हुँदै बुटवल धागो कारखानासम्म २० किलोमिटर सडक प्रदेशको ‘गौरवको आयोजना’ का रूपमा अघि बढाइएको थियो ।
तर, ५ वर्षमा पूरा गर्ने भनिएको यो सडक ६ वर्ष हुन लाग्दा पनि अधुरै छ । चुरे पहाड क्षेत्रमा पर्ने मुडाबास-चौकीभन्ज्याङ खण्डको ५ किलोमिटर खण्डको काम अलपत्र छ ।
पाल्पातर्फ तिनाउ गाउँपालिका-३, झुम्साबाट चौकी भन्ज्याङसम्म साढे ७ किलोमिटर र रूपन्देहीतर्फ बुटवल धागो कारखानाबाट देवदह नगरपालिका- १० चरंगेसम्म सडक निर्माणाधीन छ ।
उक्त १५ किलोमिटर खण्ड मर्मतसम्भार गर्दै र केही फराकिलो बनाइएको छ । अन्त्यन्त अप्ठ्यारो मानिने चुरेको जंगल क्षेत्र रहेको चौकी भन्ज्याङबाट मुढाबास चरङगेसम्म ५ किलोमिटरमा ट्र्याक मात्र खोलिएको छ । तर उक्त ट्र्याक हरेक वर्ष वर्षायाममा आउने लेदोसहितको पहिरोले भत्काउने गरेको छ ।
सुरुङ मार्गको काम सुरु भएपछि बजेटमा बेवास्ता
प्रदेश सरकारले सिद्धबाबामा सुरुङ मार्गको काम अघि बढाएपछि झुम्सा-चरंगे सडकलाई बजेटमा बेवास्ता गर्न थालिएको छ ।
यातायात पूर्वाधार निर्देशनालय, रूपन्देहीका अनुसार निर्माण सुरु भएको ६ वर्षमा प्रदेश सरकारले २० किलोमिटर सडकमा ३५ करोड रुपैयाँभन्दा बढी खर्च गरेको छ । तर आर्थिक वर्ष २०८०/८१ र चालु आर्थिक वर्षमा पनि डेढ करोड मात्र बजेट विनियोजन भएको पूर्वाधार विकास कार्यालय रूपन्देहीका इन्जिनियर कृष्ण पण्डितले बताए ।
‘सुरुङ मार्गको काम सुरु नहुँदासम्म अलि धेरै बजेट आउँथ्यो, ३ वर्षयता बजेट निरन्तर घट्दै गएको छ,’ पण्डितले भने, ‘अघिल्लो आर्थिक वर्षमा त पहिरोले भत्काइदिन्छ भनेर कामै भएन, आगामी वर्षको बजेटमा पनि त्यही हाराहारीमा छ भन्ने सुनेको छु, रातो किताब हेर्न पाएको छैन ।’
पण्डितका अनुसार झुम्सा-चरंगे सडकलाई कालोपत्रे गरेर बाह्रै महिना गाडी चल्ने बनाउने अझै ३० करोड बढी बजेट आवश्यक छ । अहिलेकै हिसाबले वर्षमा डेढ करोड बजेट दिने हो भने अझै १५ वर्षमा पनि सडक पूरा नहुने उनले बताए ।
पाल्पा र रुपन्देही जोड्ने सडक भएकाले झुम्सा-चौकी भन्ज्याङ साढे ७ किलोमिटर खण्डमा पूर्वाधार विकास कार्यालय पाल्पा र चौकी भन्ज्याङ-धागो कारखानाको साढे १२ किलोमिटर खण्डमा पूर्वाधार विकासकै रुपन्देही कार्यालयले काम गर्दैछन् ।
अध्ययनविना सुरु गरेको भन्दै रुट परिवर्तन गर्न सुझाव
रुपन्देहीको देवदह चरंगेबाट चौकी भन्ज्याङसम्मको ५ किलोमिटर खण्डमा बनेको ट्र्याक हरेक वर्ष पहिरोले बगाउँदा खर्च बालुवामा पानी सरह भएको छ । भूगर्भविद्को सुझावका आधारमा मुढाबास खण्डको साढे ४ किलोमिटरमा स्थायी संरचना निर्माण कार्य रोकिएको छ ।
सडक पूर्वाधार विकास कार्यालय, रुपन्देहीका प्रमुख लालु गिरीका अनुसार चुरे क्षेत्रमा डोजर लगाएर खनेको बाटोमा माथिबाट भेलसहित आउने लेदो पहिरोले हरेक वर्ष क्षति हुने गरेको छ ।
जति काम गरे पनि वर्षायाममा बिग्रेर उस्तै हुने भएपछि सडक पूर्वाधार विकास कार्यालयमा अन्योल छ ।
गिरीका अनुसार राम्ररी अध्ययन नगरी हतारमा ट्र्याक खोलिएका कारण सिद्धबाबा खण्डको विकल्प मानिएको झुम्सा-चरंगे सडकको मुडाबास-चौकीभन्ज्याङ खण्डमा सडक बनाउन समस्या देखिएको छ ।
पाल्पातर्फ कुनै समस्या नभए पनि मुडाबास-चौकीभन्ज्याङ खण्डको विकल्प खोज्नुपर्ने देखिएको उनको भनाई छ । अब रुट परिवर्तन गरेर मात्रै लगानी गर्दा उपयुक्त हुने गिरीको सुझाव छ ।
तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी भने सडक निर्माण सुरु गर्दा भौगोलिक अध्ययन गरेर सुरु गरेको बताउँछन् । निर्माणाधीन झुम्सा-चरंगे सडकलाई पाल्पाका खानीबाट सिमेन्ट उद्योगहरूमा चुनढुंगा ढुवानी गर्ने सडकका रूपमा प्रयोग गर्न सकिने उनी बताउँछन् ।
दैनिक सयौं टिपर र मालवाहक ट्रक सिद्धबाबा हुँदै बुटवल बजारमा गुड्दा दुर्घटनाको जोखिम भएकाले यो बाटो मालबाहक गाडीका लागि भनेर पनि सुरु गरिएको चौधरीले बताए ।
‘११ सय मिटर सुरुङ मार्ग अपूर्ण हो, दुर्घटनाको जोखिम यथावत्’
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा खण्डको तिनाउ गाउँपालिका- ३ मा सिद्धबाबा सुरुङ मार्ग निर्माणाधीन छ । सुरुङ मार्गको मुख्य टनेलको गत १२ माघमा ब्रेक थ्रु भएको छ ।
दुवैतर्फको रिबसहित सुरुङ मार्गको कूल लम्बाइ १ हजार १२६ मिटर मात्रै हो । तर यो खण्डको करिब ३ किलोमिटर सडक दुर्घटनाको उच्च जोखिमयुक्त ठाउँ हो । मुख्य सुरुङ सिद्धबाबा मन्दिरतर्फ दक्षिणबाट ६१० र तिनाउ जल विद्युतको हेडबक्सतर्फ उत्तरबाट ४७७.२ मिटर छ ।
पश्चिम नेपाल बस व्यवसायी प्रालिका सञ्चालक एवं दुर्घटना न्यूनीकरण समिति संयोजक नारायण घिमिरेले सिद्धबाबा खण्डको ३ किलोमिटर बढी क्षेत्र वर्षायाममा मात्र नभई हिउँदमा समेत पहिरोको जोखिमयुक्त क्षेत्र भएकाले हालको सुरुङ मार्ग दुर्घटना रोक्न अपूर्ण हुने बताए । घिमिरे सञ्चालक रहेको प्रालिमा नेपालकै धेरै करिब २ हजार ५०० बस व्यवसायी आवद्ध छन् ।
‘तल्लो सिद्धबाबा मन्दिरदेखि नै सुरुङ बनाउनुपर्थ्यो र अहिले बनाउन लागिएको सुरुङको अन्तिम बिन्दु रामापिथेकस पार्कभन्दा थप डेढ सय मिटर अगाडिसम्म बनाएको भए मात्रै सडक सुरक्षित सार्थक हुन्थ्यो,’ घिमिरेले भने, ‘बन्दै नबन्नु भन्दा त राम्रै मान्नुपर्छ तर यो अपूर्ण छ, यसले समाधान दिँदैन । सिद्धबाबा खण्डमा दुर्घटनाको जोखिम कायमै हुन्छ ।’
तिनाउ गाउँपालिका दोभानकै बासिन्दा एवं अधिवक्ता महेन्द्र पाण्डेयले लगानी र सुरक्षाका हिसाबले हाल बनिरहेको सुरुङ मार्गले पूर्ण समाधान नदिने बताए । ‘अहिले बनिरहेको सुरुङको पूर्व र पश्चिम दुवैतर्फ जोखिमयुक्त क्षेत्र छन्, त्यहाँ पनि सुरुङ मार्ग बन्नुपर्थ्यो,’ पाण्डेयले भने, ‘यसले त सडक दुर्घटना र जोखिम अन्त्य गर्दै गर्दैन ।’
७ अर्ब ३४ करोड २१ लाख रूपैयाँ लागतमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सुरुङ मार्ग निर्माणको काम गरिरहेको छ । निर्माण कम्पनीसँग भएको ठेक्का सम्झौताअनुसार चैत २०८३ भित्र सुरुङमार्गको काम सम्पन्न हुनेछ ।
टनेलको ब्रेक थ्रु भएपछि सुरुङ भित्रको भुईं र भित्ता ढलान (लाइनिङ), गाडी गुड्ने क्षेत्र निर्धारण गरेर पेभमेन्ट ढलान, विद्युतीकरण, भेन्टिलेसन, नाली लगायतका काम भइरहेको आयोजना प्रमुख कृष्णराज अधिकारीले बताए ।
यस्तै, सिद्धबाबा क्षेत्रको सुरुङ बाहिरी पहाडमा पहिरो जान रोक्न ‘रक सेड’ प्रविधिबाट दक्षिणमा र उत्तरतर्फ ‘प्रोटेक्सन’ को काम अघि बढेको छ । यो सुरुङ मार्ग बाहिरपट्टिको खण्डमा रक सेड, रक फल ब्यारियर र स्लोप प्रोटेक्सनको काम हुनेछ ।
योजनाअन्तर्गत बुटवलतर्फको चिडियाखोलाबाट ९१० मिटर र पाल्पातर्फ ५६० मिटर दुई लेनमा सडक सुधारको काम पनि थालिने आयोजनाले जनाएको छ ।
सिद्धबाबा सुरुङ मार्ग आयोजना २०७८ सालमै सुरु भएको हो । सुरुङ मार्ग २२ मार्च २०२७ मा सक्नुपर्ने सम्झौतामा उल्लेख छ । हालसम्म भौतिक प्रगति करिब ५५ प्रतिशत भएको सिद्धबाबा सुरुङ मार्ग आयोजनाकी सूचना अधिकारी इन्जिनियर सविता ज्ञवालीले बताइन् ।
इन्जिनियरिङ, ‘प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलको ठेक्का भएकाले यसअन्तर्गतका सम्पूर्ण संरचनाको डिजाइन, निर्माण तथा मर्मतको जिम्मा निर्माण व्यवसायीको रहनेछ ।
आयोजनाअन्तर्गत २ हजार ३९८ मिटर सडक स्तरोन्नति हुनेछ भने ७८० मिटरमा रकसेड हुनेछ । आयोजनाअन्तर्गत नै उत्तरी र दक्षिणी प्रवेशद्वारमा दुई प्राविधिक भवनसमेत निर्माण हुने आयोजनाले जनाएको छ ।
८ वर्षअघि नै स्विस कम्पनीले गरेको अध्ययनले सिद्धार्थ राजमार्गको बर्तुङ-चिडियाखोला सडकखण्डको सिद्धबाबादेखि दोभान चौकीसम्मको २ हजार ७०० मिटर सडक क्षेत्र जोखिमयुक्त रहेको निष्कर्ष निकालेर सोहीअनुसार सरकारलाई सुझाव दिएको थियो ।
स्विस कन्सल्ट्यान्ट आईटीईसीओ-एएफ (इटिको-एएफ) ले यस क्षेत्रको भौगर्भिक अध्ययनपछि डीपीआर तयार गर्न सहयोग गरेको थियो । अध्ययन प्रतिवेदनअनुसार नै सिद्धबाबामा सुरुङ मार्ग निर्माण गर्ने गरी ग्लोबल टेन्डर आह्वान गरिएको थियो ।
डेडिकेटेड डबल लेन भएपछि मात्रै सास्ती हट्ने आश
झुम्सा-चरंगे वैकल्पिक सडक र छोटो सुरुङ मार्गबाट दीर्घकालीन रूपमा सिद्धबाबा खण्डको सडक सास्ती अन्त्य नहुने ठानेका यात्रु, सवारी धनी र चालकहरू सुनौली-पोखरा सिद्धार्थ राजमार्ग स्तरोन्नतिबाट मात्रै राहत पाउन सकिने आशामा छन् । सिद्धार्थ राजमार्ग बनेको ५५ वर्षपछि ‘टु लेन डेडिकेटेड’मा स्तरोन्नति गर्न आगामी आर्थिक वर्षको बजेटमा समेटिएपछि केही वर्षमा सास्ती कम हुने नागरिकमा आशा पलाएको हो ।
नेपाल-भारत सीमा नाका सुनौलीबाट सुरू भएर पोखराको छोरेपाटनमा टुंगिने १८० किलोमिटर लामो सडक २०२७ सालमा भारत सरकारको आर्थिक सहयोगमा निर्माण सुरू भएर २०३४ सालमा सम्पन्न भएको थियो ।
सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने बुटवल-सुनौली २७ किलोमिटर खण्ड ६ लेनमा विस्तार भइसकेको छ । अब राजमार्गअन्तर्गत पर्ने बुटवल-पोखरा १५८ किलोमिटर खण्ड ‘डेडिकेटेड दुई लेन’ मा विस्तार हुन लागेको हो । अहिले यो सडकको ५.५ देखि ६ मिटरसम्म हुँदा बढ्दो सवारी चापले साँघुरो हुँदै गएको छ ।
५५ वर्षसम्म स्तरोन्नति नहुँदा सडक अति जीर्ण र कमजोर छ । यो सडकले रूपन्देही, पाल्पा, स्याङ्जा र कास्की गरी ४ जिल्लाका १७ वटा स्थानीय तहलाई जोडेको छ । यो सडक खण्डमा अहिले यात्रा गर्दा ६ घण्टा लाग्ने गर्छ भने सडक निर्माणपछि यात्रा साढे दुई घण्टामा छोटिनेछ ।
सडक विभागका प्रवक्ता अर्जुन अर्यालले यसअघि नै तयार भइसकेको डीपीआर पुनरावलोकन गरेर जति सक्दो चाँडो टेन्डर प्रक्रियामा जाने बताए ।
‘डेडिकेटेड डबल लेन’ मा कुनै एक लेनमा गाडी बिग्रिएर रोकिए पनि बाँकी भएको ठाउँमा दुईतर्फी रूपमै सवारीसाधन आवत-जावत गर्न सक्नेछन् । दुई लेन सडकमा भने कुनै एक लेनमा गाडी बिग्रिएर रोकिएमा एकतर्फी मात्रै यातायात सञ्चालन गर्न मिल्छ ।
‘साँघुरो भएकाले पहिरो जाँदा वा दुर्घटना हुँदा सडक अवरुद्ध हुने समस्या भोग्दै आएका छौं, अब डेडिकेटेड डबल लेनमा विस्तार भएपछि जामको समस्या नहुने आशा पलाएको छ,’ पाल्पा तिनाउ गाउँपालिका- ३ का राजेश श्रेष्ठले भने, ‘तर सडक विस्तार गर्दा बुटवल-नारायणगढको जस्तो बेहाल नहुने गरी काम गर्नुपर्छ ।’
५ वर्षको निर्माण अवधि र लागत २० अर्ब रूपैयाँ अनुमान गरिएको छ । जसमध्ये १० अर्ब ३९ करोड रुपैयाँ सडक निर्माण र ९ अर्ब ३७ करोड रुपैयाँ सुरुङ निर्माणका लागि लाग्ने अनुमान छ । यो खण्डमा ५ वटा सुरुङ मार्ग बनाउने पुरानो डीपीआरमा उल्लेख छ । त्यसमा १ हजार १२६ मिटर लामो सिद्धबाबा सुरुङ मार्ग पनि समेटिएको छ ।
प्रतिवेदनअनुसार यो सडकलाई न्यूनतम ७ मिटर क्यारिज वेमा विस्तार गरिनेछ । सडकको दायाँ-बायाँ थप १.५ मिटरको सोल्डर (सडकको दुवैतर्फको छेउ भागमा पिच) र १ मिटरको नाला पनि निर्माण गरिनेछ ।
यस सडक चौडाइ ठाउँ-ठाउँमा साँघुरो ५.५ मिटर र ६ मिटरसम्म रहेकाले कम्तीमा पनि ७ मिटर क्यारिज वे, सडकको दुवैतर्फ १.५ मिटरको सोल्डर र १ मिटरको नालासहित बाह्रै महिना सुचारु रहनेछ । बजार क्षेत्रमा भने ‘फोर लेन’ को सडक बनाउने योजना रहेको विभागका प्रवक्ता अर्यालले जानकारी दिए ।
विभिन्न ३८ ठाउँमा ८ मिटरदेखि ९२ मिटरका लामा एवं अग्ला पुल बनाउने प्रस्ताव छ । त्यसको उचाइ भने ६ देखि २० मिटरसम्म हुने प्रतिवेदनमा उल्लेख छ । यी अग्ला पुलको कूल लम्बाइ ७७७.६ मिटर हुनेछ । यसले सडकको लम्बाइ ४.४२ किलोमिटर घटाउने प्रतिवेदनमा उल्लेख छ ।
यो सडक विस्तार गर्दा पाल्पाको तिनाउ गाउँपालिका दोभानदेखि स्याङ्जा सडक छेउसम्म कम्तीमा १ हजार घरटहरा भत्काउनुपर्ने हुन्छ ।
प्रतिक्रिया 4