
News Summary
Generated by OK AI. Editorially reviewed.- कोशी, मेची र सगरमाथा लोकमार्ग पहाडी जिल्लाका मुख्य सडक हुन् र ती जीर्ण र जोखिमपूर्ण छन्।
- बाढी र पहिरोले सडक बगाउँदा र पुल भाँचिदा यातायात अवरुद्ध भएको छ, जसले स्थानीय र प्रदेशको सम्पर्क र सेवा प्रभावित भएको छ।
- जोखिमपूर्ण पूर्वाधार सुधार र नयाँ पुल निर्माण आवश्यक छ, अन्यथा बर्खामा समस्या अझ बढ्ने सम्भावना छ।
६ असार, विराटनगर । कोशी प्रदेशका पहाडी जिल्ला जोड्ने मुख्यत: तीनवटा ठूला सडकमार्ग छन्- कोशी, मेची र सगरमाथा लोकमार्ग ।
मेची लोकमार्गले झापाबाट इलाम, पाँचथर हुँदै ताप्लेजुङलाई तराईसँग जोड्छ । कोशी लोकमार्गले धनकुटा हुँदै तेह्रथुम, भोजपुर र संखुवासभालाई तराईसँग जोड्छ भने सगरमाथा लोकमार्गले उदयपुरबाट ओखलढुंगा, खोटाङ र सोलुखुम्बलाई तराईसँग जोड्छ ।
मेची, कोशी र सगरमाथा लोकमार्ग पहाडी जिल्लाका लाइफलाइन हुन् । तर यी तीनवटै सडक पूर्वाधार ठाउँ-ठाउँमा जीर्ण र जोखिमपूर्ण छन् । कोशी लोकमार्गको धनकुटा खण्ड करिब १०० मिटर बाढीले बगाएको छ । मेची लोकमार्गको हेवा खोला र सगरमाथा लोकमार्गको सुनकोशी नदीमा पनि पुल छैन ।
बाढीको जोखिममा कोशी
मनसुन भित्रिएको पहिलो दिन १६ जेठको वर्षाले उत्तर-दक्षिण कोशी लोकमार्गले धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित फेदी र घण्टेबीचको सडक लेउती खोलाको बाढीले बगायो । करिब १०० मिटर सडक बगेपछि खोलाको धार फर्काएर सवारी सञ्चालन भइरहेको छ । तर यो स्थायी समाधान होइन, फेरि बाढी आए यातायात अवरुद्ध हुने जोखिम छ ।
लेउतीको बाढीले तीन वर्षअघि पनि सोही ठाउँमा सडक बगाएको थियो । तीन वर्षमा दुईपटक सडक बग्नुको कारण ८–९ वर्षअघि झरेको पहिरो हो ।
अहिले सडक बगाएको पूर्वतर्फ साँगुरीगढी गाउँपालिका–१ र पश्चिममा साँगुरीगढी–६ पर्छ । स्थानीयका अनुसार साँगुरीगढी–१ को बिलेनी सामुदायिक वनबाट करिब ९ वर्षअघि सुक्खा पहिरो खसेको थियो । पहिरोले खोलाको पूर्वतर्फ ढिस्को बनायो । ढिस्कोले गर्दा खोलाको धार पश्चिमतर्फबाट बगेको थियो । पहिरोका कारण धार परिवर्तन भएपछि तीन वर्षमा दुईपटक सडक बगेको साँगुरीगढी–१ का वडाध्यक्ष गोविन्द लिम्बुले बताए ।
बर्खाले फेरि जोखिम भने बढाएको उनले बताए । १६ गते बगेको सडक खण्डमा ढुंगागिटी र माटो राखेर पुरिएको छ । तर जोखिम भने उस्तै रहेको उनले बताए । राजमार्ग अवरुद्ध भए धनकुटा, भोजपुर, तेह्रथुम र संखुवासभाको यातायात सम्पर्क टुट्नेछ ।
सडक डिभिजन कार्यालय धनकुटाका प्रमुख रामकुमार देवका अनुसार बाढीले बगाएको क्षेत्रलाई पुन: संरचना बनाएर छेकबार गरिएको छ । तर ठूलै बाढी आउँदा जोखिम भने रहने उनले बताए ।
‘बगाएको ठाउँलाई फिलिङ गरेर पुरानै अवस्थामा ल्याएका छौं, प्रोटेक्सनको काम पनि गरेका छौं,’ उनले भने, ‘ठूलो बाढी आयो भने भन्न सकिन्न, तर हामी इक्युप्मेन्टसहित तैथान हुन्छौं ।’
उत्तर-दक्षिण कोशी सडक योजना प्रमुख रामबहादुर गुरुङका अनुसार खाँदबारीदेखि किमाथाङ्का खण्डको निर्माणधीन क्षेत्रमा ठाउँठाउँमा पहिरोका कारण समस्या छ । बरुण खोलाको पुलको डाइभर्सन बगाएको छ । खाँदबारीबाट करिब ८० किलोमिटर दूरीमा रहेको बरुण खोलाको निर्माणधीन पुलको छेउमा बनाइएको डाइभर्सन बाढीले बगाएपछि यातायात अवरुद्ध छ । त्यसबाहेक हटिया गोला पुग्ने सडकको पनि ठाउँठाउँमा पहिरो छ । पहिरो र वर्षाका कारण ट्रयाक खोल्ने काम पनि रोकिएको उनले बताए ।
मेचीमा दुई पुल बगे, एउटा भाँचियो
गत ३१ जेठमा मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवाखोलाको बेलिब्रिज निर्माण सक्ने दिन थियो । तर सोही दिन बेलिब्रिज भाँचियो ।
पुल भाँचिदा जडानमा खटिएका मजदुर बाराको जितपुरसिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरीको मृत्यु भयो । दुर्घटनामा घाइते सिमराकै भुलेश्वर चौधरी, प्रकाश चौधरी र अभिषेक चौधरी घाइते छन् ।
असार २०८० मा आएको बाढीले हेवाखोलाको पुल बगाएको थियो । पुल बगेपछि अवरुद्ध राजमार्गमा बेलिब्रिज निर्माण गरी यातायात सञ्चालन भयो । तर गत १२ असोजमा आएको बाढीले बेलिब्रिज पनि बगायो । बेलिब्रिज बगेपछि ताप्लेजुङसँगको यातायात सम्पर्क टुट्यो । डाइभर्सन बनाएर अस्थायी रूपमा मेची राजमार्ग खुल्यो ।
गत असोजमै बनाएको डाइभर्सनमा अहिले सवारी कुदिरहेका छन् । बेलिब्रिज बनेको भए सहज रूपमा यातायात सञ्चालन हुन्थ्यो । तर पुल भत्किएका कारण यो बर्खामा सडक सम्पर्क टुट्ने निश्चित छ ।
पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार नयाँ प्रविधिको निर्माणको क्रममै पुल भाँचिएको थियो । बर्खामा भने यातायात सञ्चालनका लागि जोखिम रहेको उनले बताए । ‘पुल बनेको छैन, डाइभर्सन पनि भरपर्दो छैन, मध्ययम खालको बाढी आउँदा बग्न सक्छ,’ उनले भने, ‘सम्भावित जोखिमबारे हामीले गृहमन्त्रालयमा जानकारी गराएका छौं ।’
उनका अनुसार बर्खामा ताप्लेजुङसँगको सम्पर्क सञ्जालको सम्भावना तमोर करिडोर पनि हो । तर तमोर करिडोरको सडक र पुल निर्माणधीन अवस्थामा रहेका कारण बर्खामा समस्या हुनसक्ने उनले बताए ।
तमोर करिडोर (चतरा मुलघाट सभाखोला) सडक योजना प्रमुख प्रदीपमणि निरौलाका अनुसार निर्माणधीन सडक खण्डमा सञ्चालनमा छ । नावा खोलासहित सडकको अन्य भागमा भने जोखिम रहेको उनले बताए ।
सुनकोशीको बेलिब्रिज झिकियो
सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटार भएर बग्ने सुनकोशी नदीमा जडान भएको बेलिब्रिज झिकिएको छ । गत १२ असोजमा आएको बाढीले पुल बगाएपछि जडान भएको बेलिब्रज झिकिएको हो ।
बेलिब्रिज हटाएपछि दिक्तेलबाट गाईघाट हुँदै तराईसँग जोड्ने सडक सम्पर्क टुटेको छ । विकल्पको रूपमा दिक्तेल–हलेसी–जयराम–घुर्मी–कटारी सडक प्रयोग गर्नुपर्नेछ । अर्को बाटो भोजपुर हुँदै जान्छ । वैकल्पिक सडक भए पनि यी दुई सडक घुमाउरो, साँघुरो र कठिन छन् ।
कोशी प्रदेशको भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई खोटाङका हुन् । उनी गृह जिल्लासँगको सिधा सम्पर्क टुटेको बताउँछन् । ‘हाम्रो जिल्लासँगको सिधा सम्पर्क टुट्यो, अहिले घुमेर जानुपर्छ,’ उनले भने, ‘धेरै सास्ती छ ।’
उनका अनुसार खोटाङ जोड्नका लागि दिक्तेल–हलेसी–जयराम घाट–घुर्मी-कटारी हुँदै एउटा सडक र भोजपुरबाट जोड्ने अर्को सडक छ । तर यी दुवै सडक जोखिमपूर्ण र लामो छन् ।
‘सुनकोशी हुँदै सिधै चार घण्टामा पुगिन्थ्यो, अहिले ८–९ घण्टा लाग्छ,’ उनले भने, ‘खाद्यान्य लगायत सामान ढुवानीमा पनि समस्या छ ।’
१२ असोजको बाढीले सुनकोशीको पुल बगाएपछि धेरै जोखिम रहेको उनले बताए । ‘अस्थायी बेलिब्रज झिकेपछि जिल्लासँगको सम्पर्क टुट्यो,’ उनले भने, ‘तत्काल सुनकोशीमा पुल बन्ने सम्भावना छैन ।’ बाढीले बगाएको पुल २०७९ सालमा निर्माण सम्पन्न भएको थियो ।
प्रतिक्रिया 4