+
+
Shares
सडकमा सास्ती  :

धुलिखेल-खावा : ४ वर्षमा पनि बनेन ४ किलोमिटर सडक

यो बर्खामा पनि सास्ती उस्तै, हिलो र धुलोमै यात्रा हुने निश्चित

सडकका लागि ४२ करोडको स्रोत सुनिश्चित त भएको छ । तर प्रक्रियामै साढे २ महिना लाग्ने भएकोले असोजयता निर्माण सुरु हुने देखिँदैन ।

कपिल कोइराला कपिल कोइराला
२०८२ असार ८ गते २०:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अरनिको राजमार्गको धुलिखेल-खावा सडकको निर्माण ४ वर्षदेखि ढिलाइ भएको छ।
  • निर्माण व्यवसायीको लापरबाही र अदालतको मुद्दाका कारण सडक निर्माण पूरा हुन सकेन।
  • सडक मर्मत र नयाँ ठेक्काको प्रक्रियामा रहेको छ, यात्रा कठिनाइ र जोखिम कायम छन्।

८ असार, काभ्रेपलाञ्चोक । अरनिको राजमार्गको धुलिखेल-खावा सडक सम्झौताअनुसार काम भएको भए यतिखेर १२ मिटर चौडा कालोपत्र हुन्थ्यो ।

मालबाहक सवारीको भारबहन क्षमतालाई मध्यनजर गर्दै सडक मजबुत बनाउन नयाँ प्रविधि प्रयोग गर्ने योजना थियो । यो सडकमा नेपालमै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डीबीएम र आस्फाल कालोपत्र गर्ने बताइएको थियो ।

तर, निर्माण व्यवसायीको लापरबाहीले धुलिखेल-खावा खण्डको ४ किलोमिटर सडक ४ वर्षसम्म पनि निर्माण हुन सकेन । जसका कारण ३ मनसुन भोगेको यो सडकले यो वर्ष पनि यात्रुलाई सास्ती दिने निश्चित छ ।

आर्थिक वर्ष २०७८/०७९ मा सडकखण्डको स्तरोन्नतिसहित विस्तारका लागि सडक डिभिजन कार्यालय भक्तपुरमार्फत सडक निर्माण गर्न झन्डै ४० करोड बजेट बिनियोजन भएको थियो ।

निर्माण कम्पनी गौरी पार्वती निर्माण सेवा सेवा प्रालिसँग सडक विस्तारका लागि झन्डै ५० प्रतिशत बिलो अर्थात् २० करोड १९ लाख ४६ हजार ५०१ रुपैयाँमा ठेक्का सम्झौता भयो । सडक डिभिजन कार्यालय भक्तपुरले २० जेठ २०७९ मा २२ महिना अर्थात् १९ चैत २०८० मा निर्माण सक्ने योजनाका साथ सम्झौता गरेको थियो ।

घाम लाग्दा धुलाम्मे हुने र पानी पर्दा हिलाम्मे हुने यो सडकको विशेषता नै बनेको छ । त्यसमाथि खाल्डाखुल्डी र हरेक वर्ष वर्षासँगै विभिन्न स्थानमा गइरहने पहिरोले यात्रा थप असहज र जोखिमपूर्ण बनिरहेको छ ।

तर, २०७८/०७९, २०७९/०८०, ०८०/०८१, ०८१/०८२ सकिँदा पनि सडक बनेन । पुनः २०८२/०८३ मा नयाँ ठेक्काको प्रक्रियामा छ । २२ महिनामा सक्नुपर्ने काम ४ आर्थिक वर्षमा न ठेकेदारले काम गर्‍यो न जनताले सुविस्तासँग आवतजावत गर्न पाए ।

घाम लाग्दा धुलाम्मे हुने र पानी पर्दा हिलाम्मे हुने यो सडकको विशेषता नै बनेको छ । त्यसमाथि खाल्डाखुल्डी र हरेक वर्ष वर्षासँगै विभिन्न स्थानमा गइरहने पहिरोले यात्रा थप असहज र जोखिमपूर्ण बनिरहेको छ ।

सडक निर्माण सुरु गर्दा नै निर्माण व्यवसायीले ढिलासुस्ती गर्‍यो । सडकमा काम नभएपछि विभिन्न चरणमा छलफल भए । जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतम अनसन बसे । संसद्‌को पूर्वाधार विकास समितिले अनुगमन गर्‍यो ।

अझ, तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सडक मार्ग हुँदै पाँचखाल जाने क्रममा निर्माण व्यवसायीलाई चाँडो काम सक्न निर्देशन नै दिए । तर पालना भएन ।

बर्खाको समयमा सडक जीर्ण भएर जोखिमपूर्ण अवस्थामा रहेकाले निर्माणका लागि विभिन्न समयमा सवारी साधनको आवागमन बन्द गरी काम गरे पनि झन्-झन् बिग्रिँदै गयो । केही गर्दा पनि सडक बनाउने काम नगरेपछि सडक डिभिजन कार्यालय भक्तपुरले ठेक्का रद्ध गर्‍यो । ठेक्का रद्ध भएपछि सडक निर्माण नै अन्योलमा पुग्यो ।

ठेक्का पाएको गौरी पार्वती निर्माण सेवाले सडक बनाइसक्नुपर्ने मिति सकिएको ११ महिनासम्म पनि निर्माण सम्पन्न नगरेपछि गत २५ फागुनमा सूचना प्रकाशन गरी सडक डिभिजन कार्यालय भक्तपुरले ठेक्का रद्ध गरेको थियो । ठेक्का रद्ध गरेलगत्तै निर्माण व्यवसायीले उच्च अदालत पाटनमा मुद्दा हालेका थिए ।

ठेक्का रद्ध गरेपछि अदालत गएका व्यवसायीको मुद्दामा केही दिनपछि अदालतले ठेक्का खारेजी बाहेक निर्माण कम्पनीको पक्षमा निर्णय आएको थियो । निर्माण कम्पनीलाई कालोसूचीमा नराख्न, धरौटी र ग्यारेन्टी रकम जफत नगर्न तथा हाल जुन अवस्थामा रहेको छ, सोही अवस्थामा राख्न’ अन्तरिम आदेश दिएपछि सडक निर्माणमा अन्योल देखियो ।

सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेश निर्माण कम्पनीले डिभिजनको विरुद्धमा हालेको मुद्दाको फैसला नभएको तर मुद्दाकै कारण सडक निर्माणमा समस्या भने नपर्ने बताउँछन् । ‘अदालतको आदेशले पुनः ठेक्का खोल्न कुनै बाधा त पर्दैन, मुद्दा चलिनैरहन्छ । अब अर्थ मन्त्रालयबाट रकमको सहमति आयो । तुरुन्त प्रक्रियामा जान्छौं,’ योगेशले भने, ‘आगामी आर्थिक वर्षमा नै निर्माण हुनेगरी काम गर्छौं ।’

४२ करोडको स्रोत सुनिश्चित तर प्रक्रियामै लाग्छ साढे २ महिना

गौरी पार्वती निर्माण सेवाले निर्धारित समयभित्र धुलिखेल-खावा ४ किलोमिटर सडक निर्माण सम्पन्न गर्न नसकेपछि ठेक्का तोडेको सडक कार्यालयले अहिले अस्थायी रूपमा आफैंले सडक मर्मत गर्न सुरु गरेको छ ।

स्रोत सुनिश्चित भए पनि नयाँ ठेक्कामा जाँदा समय लाग्ने भएकोले सवारी साधन र यात्रुलाई सहज बनाउन मर्मत सुरु गरिएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर योगेशले जानकारी दिए ।

सडक डिभिजन भक्तपुरका अनुसार एक हप्ता नयाँ स्टिमेट गर्न लाग्छ, त्यपछि नयाँ ठेक्काको सूचना प्रकाशित हुन्छ । दुईदेखि साढे दुई महिना प्रक्रियामा जान्छ, असोजदेखि नयाँ ठेकेदारले काम सुरु गर्नेगरी तयारी हुन्छ ।

‘नयाँ ठेक्काका लागि ४२ करोड रुपैयाँको स्रोत सुनिश्चित भएको छ । पुरानो स्टिमेटअनुसार काम गर्दा सडकमा समस्या आउने भएकोले एक हप्ता प्रविधिकहरूले धुलिखेल-खावा सडकमा अनुगमन तथा पुरानोमा भन्दा नाली र प्रेटेक्सन वाल थपेर ठेक्का प्रक्रियामा लैजाने योगेशको भनाइ छ ।

‘एक हप्ता नयाँ स्टिमेट गर्न लाग्छ, त्यपछि नयाँ ठेक्काको सूचना प्रकाशित हुन्छ,’योगेशले भने, ‘दुईदेखि साढे दुई महिना प्रक्रियामा जान्छ, असोजदेखि नयाँ ठेकेदारले काम सुरु गर्नेगरी तयारी हुन्छ ।’

अहिले सडक कार्यालयले नै अस्थायी रूपमा सडक मर्मत गरिरहे पनि यातायातका साधन सञ्चालन भइरहँदा केही समस्या भएको छ । नयाँ ठेकेदार नआउँदासम्म सडक डिभिजन कार्यालय भक्तपुरले मेसिनहरू निर्माणस्थलमा नै राख्ने जानकारी दिए । ‘केही समस्या हुनासाथ मर्मत गरेर सहज बनाउनेछौं,’कार्यालय प्रमुख योगेशले भने ।

प्रक्रियागत हिसाब नै गर्ने हो भने पनि यो बर्खामा काभ्रेको पाँचखाल, मण्डनदेउपुर, भुम्लु, चौरी लगायतका पालिका तथा सिन्धुपाल्चोक, दोलखा, रामेछाप र चीनको खासा बजार जाने यो सडकमा यात्रा गर्ने यात्रुहरू हिलाम्मे र धुलाम्मे सडकमा यात्रा गर्न बाध्य हुनुपर्ने देखिन्छ ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?