+
+
Shares
सडकमा सास्ती–२ :

मनसुन लागिसक्यो, कहिले सकिन्छ क्षतिग्रस्त भीमदत्त राजमार्ग पुनर्निर्माण ?

भीमदत्त राजमार्गपछि जयपृथ्वी राजमार्ग पनि वर्षातको समयमा धेरैजसो पहिरोका कारण अवरुद्ध बन्ने गरेको छ । यो राजमार्गमा जाने सानो, ठूलो पहिरोका कारण सडक अवरुद्ध हुँदा सधैंजसो यात्रुले सास्ती खेप्नुपर्ने बाध्यता छ ।

जनक विष्ट जनक विष्ट
२०८२ असार ५ गते २२:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलामा ठूलो पहिरो खसेर भीमदत्त राजमार्ग अवरुद्ध हुँदा जनताले सास्ती व्यहोर्नु परेको छ।
  • मनसुनअघि नै पुनर्निर्माणको काम सक्ने भनिए पनि अझै सकिएको छैन।
  • जयपृथ्वी राजमार्ग र अन्य जोखिमपूर्ण स्थानहरूमा पहिरोको जोखिम कायमै छ।

जनताका लागि सडक जीवन हो । सडकविनाको जीवन अत्यन्तै कष्टकर हुन्छ । तर, पछिल्लो समय नेपालका सडकले नै जीवन कष्टकर बनाइरहेका छन् । संघीय राजधानी काठमाडौं उपत्यकाभित्रका, उपत्यका प्रवेश गर्ने र देशभरि विभिन्न स्थानमा बनिसकेका, बनिरहेका र बनेर पनि बिग्रिएका सडकले जनतालाई सास्ती दिएका छन् ।

अनलाइनखबरले यो शृङ्खलामा जनतालाई सास्ती दिने तिनै सडकबारे फिल्ड रिपोर्टिङ प्रकाशित गरिरहेको छ । जनतालाई लामो समय सास्ती दिएर अहिले निर्माण सकिएका वा सकिने क्रममा रहेका कतिपय सडकका कथा पनि यसमा समेटिने छन् ।

५ असार, धनगढी । २२ साउन २०८० मध्यरात कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलामा ठूलो पहिरो खस्यो । अविरल वर्षासँगै खसेको पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध भयो ।

पहिरोमात्र खसेको भए पन्छाएर तत्काल सडक तत्काल खुलाउन सकिने अवस्था हुन्थ्यो, तर बुढीतोलामा खसेको पहिरोले सडक समेत भासिएर क्षतविक्षत बनाएको थियो । लगातार पानी परिरहने र पहिरो पन्छाउँदा समेत फेरि खस्ने भएपछि करिब एक सातासम्म राजमार्ग लगभग ठप्प नै भयो ।

त्यो बेला सडक भासिएको क्षेत्रमा ठूला ढुंगा हालेर उठाउने तर पानी पर्ने र पहिरो खस्ने क्रम निरन्तर चलेपछि सडक डिभिजन कार्यालय महेन्द्रनगरले आपत नै खेप्नुपरेको थियो ।

कैलाली र कञ्चनपुरलाई सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लासँग जोड्ने मुख्य राजमार्ग नै अवरुद्ध भएपछि सर्वसाधारणले सास्ती खेप्नुपरेको थियो भने सयौँ सवारीसाधन लामो समय गन्तव्य पुग्न सकेनन् ।

पहिरो खसेको करिब सात दिनपछि सवारी आवागमन सुचारु भएको यो ठाउँमा सडक विभागले पुनर्निर्माणको काम थालेको थियो । लगातारको वर्षाले जमिन नै भासिएर दलदलमा परिणत भएपछि भूगर्भविद्को टोलीले स्थलगत अध्ययन समेत गरेको थियो ।

अध्ययन क्रममा जमिनमुनिको पानी बग्ने गति रोकिएपछि बुढीतोलामा राजमार्ग माथिबाट पहिरो खसेको र सडक भासिएको निष्कर्ष निकालिएको थियो । त्यसपछि त्यो ठाउँको पानी एकै ठाउँमा जम्मा गरेर निकास दिनुपर्ने सुझाव अनुसार डिभिजन सडक कार्यालयले पुनर्निर्माणको काम अघि बढाएको थियो ।

मनसुनअघि नै पुनर्निर्माणको काम सक्ने भनिए पनि अझै सकिएको छैन । करिब ६ करोड बराबर लगानीमा पुनर्निर्माणको जिम्मा जेएसआई हटैराज जेभीले पाएको छ ।

डिभिजन सडक कार्यालय महेन्द्रनगर प्रमुख हरि सुवेदी बुढीतोलामा पहिरो खसेको ठाउँमा लगभग ८० प्रतिशत काम सम्पन्न भएको र बाँकी एक महिनाभित्र पूरा हुने बताउँछन् ।

मनसुन भित्रिनु अघि नै बुढीतोलाको सडक पुनर्निर्माण सक्ने लक्ष्य भए पनि अहिलेसम्म सकिएको छैन ।

‘त्यहाँ अल सर्फेस डिलिनेसन सिस्टम (सतह रेखांकन प्रणाली) मार्फत पानीलाई एकै ठाउँबाट निकास गर्ने गरी काम भइरहेको छ,’ सुवेदीले भने, ‘त्यसका लागि सडकको माथि इनार बनाएर पानी संकलन गर्दै भित्र ड्रिल गरेर फाल्ने संरचना तयार भइरहेको हो । ८० प्रतिशत काम सम्पन्न भइसक्यो, थोरै बाँकी छ ।’

अब सडकमा ग्याबिन लगाउने र ग्राभेलको काम मात्रै बाँकी रहेकाले केही दिनभित्र सम्पन्न हुने दाबी गरिएको छ । मनसुन भित्रिनु अघि नै बुढीतोलाको सडक पुनर्निर्माण सक्ने लक्ष्य भए पनि अहिलेसम्म सकिएको छैन ।

भीमदत्त राजमार्गपछि जयपृथ्वी राजमार्ग पनि वर्षातको समयमा धेरैजसो पहिरोका कारण अवरुद्ध बन्ने गरेको छ । यो राजमार्गमा जाने सानो, ठूलो पहिरोका कारण सडक अवरुद्ध हुँदा सधैंजसो यात्रुले सास्ती खेप्नुपर्ने बाध्यता छ । ठूलो पहिरो गएको ठाउँमा पुनर्निर्माणको काम नभएका कारण यो वर्ष पनि बर्खामा दुःख खेप्नुपर्ने अवस्था कायमै रहेको देखिन्छ ।

खासगरी असोज २०८१ मा गएको सुक्खा पहिरोले बझाङको छविसपाथिभेरा गाउँपालिका–१ को बालुवाटारमा केही दिन राजमार्ग अवरुद्ध बनेको थियो । माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएपछि सवारी आवागमन ठप्प नै बनेको थियो ।

तर, उक्त ठाउँमा पहिरो पन्छाएर राजमार्ग खुलाउने बाहेक बिग्रिएको सडक पुनर्निर्माण गर्ने र पहिरो खस्न नदिन गर्नुपर्ने कुनै पनि काम अघि नबढेको पाइएको छ । छविसपाथिभेरा गाउँपालिका अध्यक्ष बसन्तबहादुर चलाउनेले पहिरो खसेको ठाउँमा वैकल्पिक व्यस्था र पुनर्निर्माणको काम नभएका कारण यो बर्खामा जोखिम झनै बढेको बताए ।

विशेषगरी सडकको निकै माथिबाट पहिरो खसेको र पहाड नै चर्किएका कारण समान्य वाल लगाएर मात्र जोखिम न्यूनीकरण गर्न सकिने अवस्था नरहेको उनले बताए । नजिकै रहेको बस्ती समेत जोखिममा रहेकाले सचेत गराइएको उनको भनाइ छ ।

‘सुक्खा समयमा पनि पहिरो आइराख्ने त्यो ठाउँमा बर्खामा पहिरो खस्दैन भनेर भन्न सकिने अवस्था छैन । नजिकै घर पनि छन् । त्यो क्षेत्रमा गोरुबाख्रा चराउने गर्छन् । खरपात पनि गर्छन्,’ अध्यक्ष चलाउनेले भने, ‘त्यो कुरामा सबैलाई सचेत गराएका छौं । अब बर्खामा त्यहाँ गोरुबाख्रा नचराउन र मेलापात पनि नजान भनेका छौं, तर पहिरो नियन्त्रणको काम गर्न नसकिएकाले जोखिम कायमै छ ।’

स्थानीय सरकारले बजेट अभावमा राजमार्ग मर्मतको काम चाहेर पनि गर्न नसक्ने अवस्थामा यहाँको पहिरोबारे संघीय सरकार र प्रदेश सरकार समेत जानकार भए पनि हालसम्म कुनै खालको सहयोग गरेको छैन ।

जयपृथ्वी राजमार्ग अन्तर्गतको जालेबगर र तमैल क्षेत्रमा पनि पहिरो गइरहने जोखिमपूर्ण स्थान मानिन्छन् । पहिरोकै कारण यी ठाउँमा वर्षातका बेला सडक अवरुद्ध हुने समस्या हुने गरेको छ ।

तर, असोजमा पहिरो गए पनि सडक विभागले स्थलगत अध्ययन र डीपीआरका लागि परामर्शदाताको प्राविधिक टोली हालै बालुवाटार पठाएको थियो । विभागले पठाएको जियोकम इन्टरनेसनल कन्सल्टेन्सीको प्राविधिक टोली गत वैशाख पहिलो सातामात्र बालुवाटार पुगेर अध्ययन गरेर फर्किएको थियो ।

प्राविधिक टोली हालै बालुवाटार पहिरो प्रभावित भएको जयपृथ्वी राजमार्गको अध्ययन गरेर फर्किएका कारण यो वर्ष नै त्यो क्षेत्रमा पुनर्निर्माणको काम सम्भव नभएको सडक डिभिजन कार्यालय बैतडीले जनाएको छ ।

यसबाहेक जयपृथ्वी राजमार्ग अन्तर्गतको जालेबगर र तमैल क्षेत्रमा पनि पहिरो गइरहने जोखिमपूर्ण स्थान मानिन्छन् । पहिरोकै कारण यी ठाउँमा वर्षातका बेला सडक अवरुद्ध हुने समस्या हुने गरेको छ ।

जयपृथ्वी राजमार्ग हेर्दै आएको सडक डिभिजन कार्यालय बैतडीका प्रमुख लक्ष्मण जोशीले असोज २०८१ मा पहिरो गएको बालुवाटार क्षेत्रमा सर्भे गरेर प्राविधिक टोली फर्किसकेकाले प्रतिवेदन प्राप्त भएपछि पुनर्निर्माणको काम अघि बढ्ने बताए ।

तर, यो वर्ष भने पर्याप्त समय नभएका कारण सम्भव नभएकाले बर्खामा हुन सक्ने जोखिम ध्यानमा राखेर जेसीबी लगायत उपकरण सोही क्षेत्रमा तयारी अवस्थामा राखिने उनी बताउँछन् ।

‘त्यहाँ (बालुवाटार) को वस्तुस्थिति अध्ययन गरेर टोली गइसक्यो । उहाँहरूले रिपोर्ट दिनुुहुन्छ । रिपोर्ट अनुसार नै पानी व्यवस्थापन लगायत काम गर्नुपर्ने हुन्छ,’ जोशीले भने, ‘यो वर्ष त्यहाँ पुनर्निर्माणका लागि बजेट पनि छैन । रिपोर्ट अनुसार नै हामी बजेट माग गर्छौं र अर्को वर्ष नै हुन्छ ।’

पहिरो खसेर बीच भागमा अड्किएका ढुंगा, माटो पनि तल खसिसकेको अवस्था भएकाले विगतमा जस्तो जोखिम नहुने उनको भनाइ छ ।

जोशीले उपकरण पनि सोही ठाउँमा राखेर बर्खामा पहिरो खसेपछि पन्छाएर सडक खुलाइने जनाए । खोड्पेदेखि श्रीभावरको बीच भागमा पर्ने नाचन्थली र झोता क्षेत्रमा सडक डिभिजन कार्यालयले जेसीबी तयारी अवस्थामा राख्ने जनाएको छ ।

लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?