+
+
Shares

किन दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग बढाउँदै छ केन्द्रीय बैंक ?

मंगलबारसम्ममा वित्तीय प्रणालीको ४ खर्ब ५५ अर्ब रुपैयाँ केन्द्रीय बैंकमा थुप्रिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ११ गते २१:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • केन्द्रीय बैंकले असार महिनामा दीर्घकालीन निक्षेप उपकरण प्रयोग बढाएको छ।
  • ब्याजदरको अस्वाभाविक उतारचढाव रोक्न केन्द्रीय बैंकले ब्याजदर करिडोर अवधारण लागु गरेको हो।
  • अर्थतन्त्र सुस्त भए पनि तरलता बढाउन र ब्याजदर सीमामा राख्न बैंकले निक्षेप संकलन गरेको हो।

११ असार, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ अन्तिम महिना असार सुरु भएयता केन्द्रीय बैंकले दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग बढाउँदै गएको छ ।

वित्तीय क्षेत्रको अल्पकालीन ब्याजदर अस्वाभाविक घट्न नदिन दीर्घकालीन उपकरण प्रयोग बढाइएको हो ।

आर्थिक वर्षको अन्तिम र सुरुको महिनामा बैंक तथा वित्तीय संस्थाको कर्जा करिब शून्य हुन्छ । निक्षेप निरन्तर बढेको अवस्थामा कर्जा शून्य भए पनि अधिक तरलता झनै जटिल अवस्थामा पुग्छ । त्यसले वित्तीय क्षेत्रको अल्पकालीन र दीर्घकालीन ब्याजदरलाई प्रत्यक्ष असर गर्छ ।

वित्तीय प्रणालीको ब्याजदर धेरै घट्न नदिन दीर्घकालीन उपकरण प्रयोग बढाइएको नेपाल राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले बताए ।

‘पछिल्लो समयमा बढ्दो तरलताले अन्तरबैंक दरसमेत घट्न थालेपछि दीर्घकालीन उपकरण प्रयोग बढाइएको हो,’ पण्डितले भने, ‘ब्याजदर धेरै नघटोस् भन्ने नै हो ।’

ब्याजदर करिडोरको तल्लो सीमाभन्दा तल अल्पकालीन ब्याजदर जान नदिन पनि दीर्घकालीन उपकरण प्रयोग बढाइएको उनले बताए ।

केन्द्रीय बैंकको पछिल्लो तथ्यांक अनुसार अन्तरबैंक दर २.९५ प्रतिशत छ । यो अन्तरबैंक दर ब्याजदर करिडोरको तल्लो सीमाभन्दा थोरै हो ।

केन्द्रीय बैंकले ब्याजदरको अस्वाभाविक उतारचढाव नियन्त्रण गर्न ब्याजदर करिडोर अवधारण कार्यान्वयन गर्दै आएको छ । ब्याजदर करिडोर अवधारणा अनुसार माथिल्लो र तल्लो सीमा छ ।

केन्द्रीय बैंकले करिडोरको तल्लो सीमालाइ स्थायी निक्षेप सुविधाको ब्याजदर अर्थात् ३ प्रतिशत र माथिल्लोमा स्थायी तरलता सुविधाको दर ६.५ प्रतिशत कायम गरेको छ ।

केन्द्रीय बैंकले तरलता न्यून हुँदा स्थायी तरलता सुविधा मार्फत वित्तीय प्रणालीमा पैसा पठाउँछ । त्यसका लागि केन्द्रीय बैंकले ६.५ प्रतिशत ब्याजदर लिन्छ ।

त्यसैगरी अधिक तरलता हुँदा केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा मार्फत प्रणालीको पैसा खिच्छ । यसरी पैसा खिच्दा केन्द्रीय बैंकले ३ प्रतिशत ब्याजदर दिन्छ । वित्तीय प्रणालीको तरलता खिच्ने र पठाउने गरेर ब्याजदरलाई अस्वभाविक बढ्न वा घट्न दिँदैन ।

पछिल्लो समय आर्थिक गतिविधि सुस्त भएसँगै रेमिट्यान्स आप्रवाह र निर्यातमा भएको सुधारले वित्तीय प्रणालीको निक्षेप थपिएको छ । अर्थतन्त्र सुस्त भएका कारण बैंक तथा व्त्तिीय संस्थामा कर्जाको माग त्यसै पनि सुस्त छ । झनै आर्थिक वर्षको अन्तिम महिना भएकाले कर्जा लगानीको सम्भावना शून्यसरह नै छ । त्यसले गर्दा पनि तरलता अधिक बनाउन थप मद्दत गरेको छ ।

अल्पकालीन निक्षेप संकलन र स्थायी निक्षेप सुविधा मार्फत खिचिएको तरलताले ब्याजदर तोकिएको सीमामा नआएपछि स्थायी निक्षेप प्रयोग बढेको पण्डितको भनाइ छ ।

त्यसकारण केन्द्रीय बैंकले बुधबार पनि ५० अर्ब रुपैयाँ बराबरको ६२ दिने निक्षेप संकलन उपकरण प्रयोग गरेको छ । मंगलबार वित्तीय प्रणालीको तरलता ४७ अर्ब मात्रै रहेको केन्द्रीय बैंकले जनाएको छ ।

तर, मंगलबार १ खर्ब ६७ अर्ब रुपैयाँ बराबरको स्थायी निक्षेप सुविधा परिपक्व भएको छ । त्यसले गर्दा पनि बुधबारको निक्षेप संकलन बिक्री हुने केन्द्रीय बैंकको अपेक्षा छ । मंगलबारसम्ममा वित्तीय प्रणालीको ४ खर्ब ५५ अर्ब रुपैयाँ केन्द्रीय बैंकमा थुप्रिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?