
News Summary
Generated by OK AI. Editorially reviewed.- २०८१ सालको भारी वर्षापछि बीपी राजमार्ग बाढीले बगाएर क्षतिग्रस्त भएको छ।
- सडक पुनर्निर्माणका लागि सरकारले बजेट सुनिश्चित गरेको भए तापनि काम सुस्त छ।
- अस्थायी रूपमा सञ्चालनमा आएको बीपी राजमार्ग पुनः क्षति हुनसक्ने र अवरुद्ध हुने संशय पैदा भएको छ ।
१३ असार, काभ्रेपलाञ्चोक । काठमाडौंलाई पूर्वी तराईसँग जोड्ने सबैभन्दा छोटो बाटो हो, बीपी राजमार्ग । रोशी र कोशी किनारै-किनार नागबेली परेको यो राजमार्गमा हुइँकिनुको मज्जै बेग्लै थियो ।
तर, यही राजमार्ग अहिले खण्डहर बनेको छ । कतै सडकको नामोनिसान छैन, भएको ठाउँमा पनि हिलाम्मे र धुलाम्मे । सडक बगाएर खोलाबाटै गाडी गुडाउनुपर्दाको जोखिम उत्तिकै छ ।
२०८१ साल असोज १०, ११ र १२ गतेको भारी वर्षापछि रोशी खोलामा आएको भीषण बढीले क्षणभरमै बीपी राजमार्ग क्षतविक्षत भयो । राजमार्ग १६ भन्दा बढी ठाउँमा बगायो । विगतमा भरिभराउ हुने राजमार्ग छेउका धेरै बजार बगे । अधिकांश खेत बगरमा परिणत भए ।
राजमार्गको विभिन्न ठाउँको डाइभर्सन बगायो । केही ठाउँमा गाडीहरू खोला पार गर्दागर्दै बाढीमै फसे । काठमाडौंबाट गएका गाडी भकुण्डेबेसी र सिन्धुलीतिरबाट आएका गाडी नेपालथोक र खुर्कोटमै रोकिए । कयौं यात्रु अलपत्र परे ।
धुलिखेलदेखि चौकीडाँडासम्मको खण्डमा पहिरोले राजमार्गका धेरै ठाउँमा क्षति पुर्यायो । काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्म रोशी खोलाले सडक नै बगायो । सबैभन्दा बढी रोशी गाउँपालिकामा बगायो । बाढीपछि स्थानीयका मन खिन्न छन्, यात्रुका दुःख पीडा उस्तै ।
पहाडतर्फ काभ्रेपलाञ्चोकको धुलिखेलबाट सुरु भई तराईको महोत्तरीको बर्दिबाससम्म पुग्छ यो राजमार्ग । प्रजातान्त्रिक नेपालका प्रथम प्रधानमन्त्री बिश्वेश्वरप्रसाद कोइरालाले सुरुवात गरेको हुनाले यो राजमार्गको नाम नै बीपी राजमार्ग रहन गयो ।
राजमार्गले काठमाडौं हुँदै पूर्वी तराई जाने सबै यात्रुलाई सेवा दिइरहेको थियो/छ । १५९ किलोमिटर लामो (धुलिखेल–सिन्धुली–बर्दिबास) राजमार्ग जापान सरकारको २६ अर्ब येन बराबर आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको हो । जापान सरकारले सन् १९९६ मा निर्माण सुरु गरी २०१५ मार्चमा सम्पन्न गरेर राजमार्ग नेपाललाई हस्तान्तरण गरेको थियो ।
मुलुककै सान हो, बीपी राजमार्ग । गत असोजमा आएको बाढी र पहिरोले यो राजमार्गको भौतिक संरचनामात्र क्षति भएन, राजधानी र पूर्वी तराईको तार नै चुँडियो ।
कुनकुन स्थानमा बगायो राजमार्ग ?
डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार बाढीले बीपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिकाको दाप्चा खोलामा १०० मिटर र चौकीडाँडामा २०० मिटर सडक रोशी खोलाले बगाएको छ ।
रोशी गाउँपालिकाको घुमाउनेमा ५०० मिटर, लास्कोटबेसीमा २०० मिटर, चारसयबेसीमा ५०० मिटर, गिम्दीबेसीमा ९०० मिटर, खार्पाचोकबेसीमा ७०० मिटर, नार्केमा ८०० मिटर, पिन्थलीबेसीमा ४०० मिटर, दाउन्नेमा ३०० मिटर, मङ्गलटार बोक्सीकुनामा ६०० मिटर, चिउरीबासमा २०० मिटर र भ्याकुरेखोला कालढुङ्गामा १ किलोमिटर सडकमा क्षति पुगेको छ ।
यसैगरी डालाबेसीमा ८०० मिटर, पिप्लको दुई स्थानमा गरी ७०० मिटर, माम्तीमा ८०० मिटर, बर्खेखोला ३०० मिटर, चालिसेमा ४०० मिटर, नेपालथोकमा ५०० मिटर सडक पूर्णरूपमा ध्वस्त भएको छ । अहिले क्षतिग्रस्त स्थानमा अस्थायी डाइभर्सन बनाएर सवारी चलाइएको छ ।
दिगो छैन डाइभर्सन
यो वर्ष पनि प्रि-मनसुन नै सक्रिय नभई धेरै पटक बीपी राजमार्ग अवरुद्ध भयो । खोलाको सतह बढ्नासाथ राजमार्ग अवरुद्ध हुने अवस्था रहेको भन्दै स्थानीय चिन्तित छन् ।
रोशी गाउँपालिका- ९ मंगलटारका राजेन्द्र अधिकारी बिपी राजमार्ग वर्षायाममा समेत सहज ढंगले चल्ने गरी काम गर्न अनुरोध गर्छन् । बाढीले खेत बगाएर चिन्तित बनेका अधिकारी भन्छन्, ‘कतिखेर के हुन्छ थाहा छैन । बनेपा-पनौतीतिर पानी पर्दा यता डर लाग्छ ।’
अस्थायी रूपमा सञ्चालन गरिएको बीपी राजमार्गमा यस वर्षको बाढीले यातायात सञ्चालनमा अवरोध नहोस् भनेर विशेष ध्यान दिइएको सडक डिभिजन कार्यालय भक्तपुरको दाबी छ । तर गएको १९ वैशाखमै बाढीले विभिन्न स्थानका डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध भएको थियो ।
त्यतिबेला रोशी गाउँपालिका मंगलटारको बोक्सीकुना, पिन्थलीबेसी, माम्ती खोला लगायतका स्थानमा झन्डै १९ घण्टासम्म राजमार्ग अवरुद्ध भयो । सामान्य पानी पर्दा नै ४ असारमा धुलिखेल नगरपालिका–११ पात्लेखेतमा लेदोसहितको पहिरोले राजमार्ग अवरुद्ध भयो ।
तर, पहिलाको उचाइमा अस्थायी फिलिङ गरी यातायात सञ्चालन गरिएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सीडीई) सुमन योगेशले जानकारी दिए । पहिलाको उचाइमा फिलिङ गरे पनि गत वर्ष असोजकै जस्तो बाढी आएमा भने क्षति रोक्न नसकिने उनको भनाइ छ।
‘सामान्य बाढीले क्षति नहोस् भनेर चौकीडाँडा, कटुञ्जेबेसी, मङ्गलटार, माम्तीमा ग्याबिन जालीको पर्खाल लगाइएको छ । खोलाका ठूला बोल्डर ल्याएर राखेका छौं,’ उनले भने, ‘तर गत वर्ष असोजको जस्तै वर्षा आएमा क्षति रोक्न सकिँदैन ।’
बीपी राजमार्ग कहिले बन्छ ? प्रक्रिया के हुन्छ ?
बाढीले बगाएको बीपी राजमार्ग ९ महिना पुग्दा बल्ल बनाउने प्रक्रियामा पुगेको छ । ९ महिनासम्म स्रोत सुनिश्चित गर्न सरकारलाई हम्मे पर्यो । सरकारले क्षतिग्रस्त बीपी राजमार्ग पुनर्निर्माणका लागि ८ अर्ब ५० करोड बजेटको स्रोत सुनिश्चतता त गर्यो तर यो बर्खामा काम सुरु हुने देखिँदैन । सरकारले काभ्रेपलाञ्चोक जिल्लातर्फ तीन खण्डका लागि ७ अर्ब ५० करोड र सिन्धुली खण्डका लागि १ अर्ब बजेट सुनिश्चितता गरेको छ ।
राजमार्गको भकुन्डेदेखि नेपालथोकसम्मको पुनर्निर्माण हुने सडक इन्टरमिडियट लेनबाट डबल लेन (दुई लेन) बनाउने गरी ठेक्का आह्वान हुनेछ । बीपी राजमार्गमा हाल भएको सवारी चापले समेत दुई लेन सडकको आवश्यकता महसुस भएकोले पहिलो चरणमा भकुन्डेदेखि नेपालथोकसम्मको २८ किलोमिटर सडक दुई लेनको बनाउने गरी स्टिमेट भएको छ ।
गत असोज दोस्रो साता रोशी खोलामा आएको बाढीका कारण बीपी राजमार्गको भकुण्डेबेसी–नेपालथोक खण्ड क्षतिग्रस्त भएकाले ४ वटा प्याकेजमा ठेक्का आह्वान भएको छ । काभ्रेतर्फ भकुण्डेबेसीदेखि चारसयबेसीसम्म ११.८ किलोमिटर, चारसयबेसीदेखि डालाबेसीसम्म ८.५ किलोमिटर, डालाबेसीदेखि बर्खेखोलासम्मको ५.५ किलोमिटर र सिन्धुलीतर्फ बर्खेखोलादेखि नेपालथोकसम्म ४ किलोमिटर सडक पुनर्निर्माण हुँदैछ ।
पुनर्निर्माण गर्न सबैभन्दा अप्ठ्यारो ठानिएको डालाबेसीदेखि बर्खेखोलासम्मको ५.५ किलोमिटर सडकखण्ड भने जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र नेपाल सरकार मिलेर गर्नेछन् । डालाबेसी–बर्खेखोला खण्डअन्तर्गत जाइकाले ३.२ किलोमिटर सडक पुनर्निर्माण गर्नेछ भने २.३ किलोमिटर सडक नेपाल सरकार आफैंले पुनर्निर्माण गर्नेछ । यसअघि डालाबेसीदेखि बर्खेखोलासम्मको ५.५ किलोमिटर सडक निर्माणका लागि जाइकालाई अनुरोध गरिएको थियो ।
वर्षायाम सुरु हुन लागेकाले वर्षाअघि क्षतिग्रस्त राजमार्गको पुनर्निर्माण सुरु नहुने सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । आगामी वर्षको वर्षायाम अघि पुनर्निर्माण गरिने सडक खण्डमा पर्खाल लगाउने लगायतका काम सम्पन्न गरी कालोपत्रको काम बाँकी राख्ने लक्ष्यका साथ कामलाई तिव्रता दिने सडक डिभिजन कार्यालय भक्तपुरिले जनाएको छ ।
४ मध्ये ३ खण्डमा ठेकेदार कम्पनी छनोट
क्षतिग्रस्त बीपी राजमार्गको ४ खण्डमध्ये ३ खण्ड पुनर्निर्माण गर्ने ठेकेदार कम्पनी छनोट भएको छ । राजमार्ग पुनर्निर्माणका लागि काभ्रेतर्फको चारसयबेसीदेखि डालाबेसीसम्म साढे ८ किलोमिटर सडकखण्ड पुनर्निर्माणका लागि थानी-एवान-कमलजित जेभीसँग ठेक्का सम्झौता भएको छ ।
उसले निर्माण व्यवसायीले भ्याटसहित एक अर्ब ४२ करोड रुपैयाँ कबोल गरेको छ । निर्माण कम्पनीले ३० प्रतिशत कम रकम प्रस्ताव गरेर ठेक्का पाएको हो । यो खण्ड पुनर्निर्माणका लागि ११ वटा कम्पनीले प्रतिस्पर्धा गरेका थिए ।
त्यस्तै भकुण्डबेसीदेखि चारसयबेसीसम्मको ११.८ किलोमिटर सडकखण्ड लागि लामा-नवकान्तिपुर जेभी निर्माण कम्पनी छनोट भएको छ । यो सडक खण्डमा निर्माण कम्पनीले स्टिमेटभन्दा ३६ प्रतिशत विलो अर्थात् १ अर्ब १४ करोड रुपैयाँमा ठेक्का पाएको छ ।
त्यस्तै सिन्धुली खण्डमा बर्खेखोलादेखि नेपालथोकसम्मको खण्डमा खरिढुंगा-घिसिङ-क्षितिज निर्माण सेवाले ३० प्रतिशत विलो अर्थात् ६२ करोड रुपैयाँमा निर्माण गर्नेगरी ठेक्का पाएको सडक डिभिजन कार्यालय खाल्टेले जनाएको छ ।
वर्षायाममा यातायात अवरुद्ध हुन दिँदैनौं- सडक डिभिजन भक्तपुर
सडक डिभिजन कार्यालय भक्तपुरले अस्थायी रूपमा सञ्चालनमा ल्याइएको बीपी राजमार्गमा यस बर्खामा सवारी आवागमन अवरुद्ध हुन नदिने बताएको छ । बाढीले यातायात सञ्चालनमा अवरोध नहोस् भनेर सडकलाई पहिलाको उचाइमा अस्थायी फिलिङ गरी यातायात सञ्चालन गरिएको छ ।
‘सामान्य बाढीले क्षति नहोस् भनेर चौकीडाँडा, कटुञ्जेबेसी, मङ्गलटार, माम्तीमा ग्याबिन जालीको पर्खाल लगाइएको छ । खोलाका ठूला ढुंगा ल्याएर सडमा छेकेका छौं,’ सीडीई योगेशले भने ।
साथै, सडक पुनर्निर्माणका लागि ठेक्का लागेको खण्डमा निर्माण व्यवसायीका १५-१५ वटा उपकरणका साथै डिभिजन कार्यालयका डोजर, टिपर, लोडर लगायतका ७ वटा उपकरण तयारी अवस्थामा राखिने उनले जानकारी दिए । तर गत वर्षको असोजको जस्तै वर्षा र बाढी आएमा भने क्षति रोक्न नसकिने सीडीई योगेश बताउँछन् ।
वैकल्पिक मार्गको छैन भर
अस्थायी रूपमा सञ्चालनमा आएको बीपी राजमार्ग पुनः क्षति हुनसक्ने र अवरुद्ध हुने संशय पैदा भएको छ । वर्षायाममा बीपी राजमार्ग अवरुद्ध भएको खण्डमा पूर्वी पहाडी र तराईका जिल्ला आवतजावतका लागि वैकल्पिक सडकबारे पनि चिन्ता थपिएको छ ।
बीपी राजमार्गको वैकल्पिक सडकको रूपमा भकुण्डे–तेमाल–मेच्छेपौवा–सिन्दुरेटार हुँदै मध्यपहाडी जोड्ने सडक कच्ची छ । भकुण्डेदेखि मध्यपहाडीसम्म नै कच्ची, उकालो, सिङ्गल लेन र मोड भएकाले उक्त सडकमा सार्वजनिक यातायातका ठूला साधन चल्न नसक्ने निष्कर्ष निकालिएको छ ।
‘भकुण्डे–तेमाल–मेच्छेपौवा–सिन्दुरेटार हुँदै मध्यपहाडी जोड्न सकिने सडकखण्डमा ठूला सवारी चल्न मुस्किल भएको र आकस्मिक (एम्बुलेन्स) लगायतका साना सवारी साधन मात्रै चल्न सक्ने देखिन्छ,’ सडक डिभिजन भक्तपुरका प्रमुख सीडीई योगेशले भने ।
ट्राफिक प्रहरीले सडक डिभिजनले वैकल्पिक मार्गको रूपमा अघि बढाएको ग्रामीण कच्ची सडक खण्डलाई वैकल्पिक मार्गको रूपमा सञ्चालन गराउन नसक्ने जनाउँदै आएको छ । बीपी राजमार्गको वैकल्पिक मार्गको रूपमा अघि सारिएको सडकमा सवारी सञ्चालन गराउन नसकिएको खण्डमा अन्य सडक प्रयोग गर्नुपर्ने देखिन्छ ।
बीपी राजमार्ग अवरुद्ध भएको खण्डमा खुर्कोटबाट रामेछापको मन्थली, दोलखाको चरिकोट हुँदै अरनिको रामजार्गअन्तर्गत खाडीचौरबाट काठमाडौँ आउन सक्नेछन् भने तराईका जिल्लाबाट आउने यात्रुले मदन भण्डारी राजमार्ग हेटौँडा हुँदै काठमाडौँ अथवा त्रिभुवन राजपथ हुँदै काठमाडौँ आउन सक्नेछन् ।
राति यात्रुवाहक सवारीसाधन सञ्चालनमा रोक
मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको काभ्रेभञ्ज्याङ–खुर्कोट खण्डमा रातको समयमा यात्रुवाहक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । ५ असारमा सिन्धुलीको मुलकोटमा बसेको काभ्रे, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समन्वय समितिको संयुक्त बैठकले यात्रुको सुरक्षा ध्यानमा राखेर यस्तो निर्णय गरिएको काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
बीपी राजमार्ग हुँदै पूर्वी नेपाल तथा मध्य तराईका जिल्लाका साथै सिन्धुली, रामेछाप, दोलखा, काभ्रे, ओखलढुंगा लगायतका जिल्लासम्म सवारी साधनहरू आवतजावत हुँदै आएको भए पनि गत असोजको बाढी र पहिरोको कारण राजमार्गमा क्षति भएपछि प्रभावित हुँदै आएको छ । अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको छ ।
तत्काल निर्माण सुरु गर्न स्थानीयको माग
क्षतिग्रस्त स्थानमा अस्थायी सडक निर्माण गरिएको भए पनि मनसुन सक्रिय हुँदै जाँदा स्थानीयवासी चिन्तित छन् । पुनः राजमार्ग अवरुद्ध हुने चिन्ताले उनीहरू खाद्यान्न लगायत अत्यावश्यक सामग्री जोहो गर्न लागेका छन् ।
खाद्यान्न पसल र दूध संकलक रोशी- ९ का साधुराम अधिकारीले सडक दिगो रूपमा बन्नुपर्ने बताए । गत असोजमा १५ दिनभन्दा बढी किसानको दूध, तरकारी बजार पठाउन नपाएको र भएको खाद्यान्न समेत सकिएको स्मरण गर्दै उनले सडक अवरुद्ध भइहाले पनि केहि घण्टामै खुल्ने गरी संयन्त्र बन्नुपर्ने बताए । ‘सडक बिग्रिँदा समय, खर्च, हैरानी सबै बढेको छ,’ उनले भने ।
रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले सडकको कारण यहाँका स्थानीयले उत्पादन गरेका तरकारी तथा दुग्ध पदार्थ बजार लान समस्या भएको र त्यसले पालिकालाई पनि आर्थिक नोक्सानी भएको बताए । उनले क्षतिग्रस्त बीपी राजमार्ग दिगो रूपमा निर्माण गर्न सरोकारवाला निकायलाई आग्रह गरे ।
अहले बीपी राजमार्गमा गुड्ने सवारी साधन ५० प्रतिशत घटेका छन् । पछिल्लो समय सबैभन्दा बढी गुड्ने हाइस र इभी भ्यान वैकल्पिक सडक प्रयोग गर्न थालेका छन् ।
प्रतिक्रिया 4