+
+
Shares

‘कुल’ देखिने तन्नेरी ताल

कसरी हाँस्ने, के बोल्ने, के लेख्ने, कुन म्युजिकमा रिल्स बनाउने, के–के सोअफ गर्ने, यी सबैमा ‘कुल’ देखिनुपर्ने अदृश्य दबाबले घेरिएको देखिन्छ, युवापुस्ता । र, खोजिरहेछ, कुल हुनुको अर्थ ।

कौशल काफ्ले कौशल काफ्ले
२०८२ असार १३ गते २१:३०

१३ असार, काठमाडौं । ‘टिकटक, इन्स्टाग्राम, रिल्स, मिम, डिस्कोर्ड, रेडिट…’ यी सबैमा घुलमिल हुनु नयाँ पुस्ताको रुचि हो । नयाँ पुस्तासँगै जन्मिएका यी नयाँ प्ल्याटफर्मका अल्गोरिदमले आमयुवालाई यसकै वरपर घुमाइरहेको छ । सोहीअनुसार हरेक व्यक्तिको विचार र रुचि निर्देशित भइरहेका प्रशस्त उदाहरण भेटिन्छन् ।

यही डिजिटल प्रवाहभित्र बारबार सुनिरहने शब्द हो, ‘कुल’ ।

कसरी हाँस्ने ? के बोल्ने ? के लेख्ने ? कुन म्युजिकमा रिल्स बनाउने ? के–के सोअफ गर्ने ? यी सबैमा ‘कुल’ देखिनुपर्ने अदृश्य दबाबले घेरिएको देखिन्छ, युवापुस्ता । र, खोजिरहेछ, कुल हुनुको अर्थ ।

के गर्दा कुल भइन्छ ? व्यक्तिपिछे रुचि फरक छन् । जेनजी कन्टेन्ट क्रियटर उष्मा अधिकारी आफूलाई अरुभन्दा फरक देखाउनु, फरक सोच राख्नु, नयाँ कुराहरू छिट्टै बुझ्न सक्नु अनि ट्रेन्डअनुसार आफूलाई ‘एडप्ट’ गर्दा कुल महसुस गर्छिन् ।

ट्रेन्डसँगै चल्न उनलाई मनपर्छ । त्यसमा पनि नयाँ कुरा छिट्टै बुझ्न सक्नु र नयाँ टेक्नोलोजी स्वीकार्न सक्नु उनको सोख हो । अधिकारीकाअनुसार अहिलेको जेनरेसन आफूलाई कुल देखाउन कहिलेकाहीँ आफूसँग सम्बन्ध नै नभएको कुरा पनि सेयर गर्छन् । आफू अगाडि रहेको ‘रेन्डम’ फोटो स्न्यापच्याटबाट सेयर गर्नु, क्याफेमा गएर ‘भाइब्स क्लिक’ गर्नु, सामाजिक सञ्जालमा आफ्ना गतिविधि देखाउनु यो पुस्ताको सोख हो ।

पछिल्लो पुस्तामा कुल हुनु भनेको केवल भिडमा मिसिनु होइन, बरु आफ्नो मौलिक शैलीमा अडिनु पनि हो । अधिकारी भन्छिन्, ‘मलाई लाग्छ, कुल हुनु भनेको कुनै कुरालाई कसरी फरक ढङ्गले बुझ्छु र सम्हाल्छु भन्ने हो । जब समाजमा भइरहेका घटनालाई आफ्नै तरिकाले हेर्छु र त्यसलाई आफ्नो शैलीमा डिल गर्छु, तब म ‘कुल’ भएँ भन्ने महसुस गर्छु ।’

उष्मा अधिकारी

जेनजी पुस्ताका लागि कुल हुनु भनेको ट्रेन्डमा रहनु, सौन्दर्यपूर्ण तरिकाले आफूलाई प्रस्तुत गर्नु र सामाजिक सञ्जालमा सक्रिय रहनु हो । धेरैजसो मानिसहरू ट्रेन्ड पछ्याउन र कुल देखिन रेन्डम कुराहरू पोस्ट गर्छन्, चाहे त्यो स्टाइलिस क्याफेमा गएर फोटो खिच्नु होस् वा स्न्यापच्याटमा पोस्ट गर्नु । यी सबै गर्दा अरुभन्दा आफू अघि रहेको मससुस हुने गर्छ । त्यसैले ‘कुल हुनुको अर्थ’ अरुभन्दा एक कदम अगाडि नै छु भन्ने अनुभूति हुनु रहेको अधिकारी बताउँछिन् ।

‘जब म कुनै नयाँ एआई टुल वा वेबसाइटबारे थाहा पाउँछु, अरूलाई सिकाउँछु,’ उनले अनुभव सुनाइन्, ‘उनीहरूले ‘वाउ, यो त काम लाग्यो’ भनिदिए भने यसले स्वभाविक कुल फिल गराउँछ ।’

****

महेन्द्रनगरका भाविष्य भट्टका लागि कुल हुनु भनेको आफूलाई स्वतन्त्र र रिल्याक्स राख्नु हो । चाहे त्यो सोसल मिडियामा होस् वा अन्यत्र, आफूलाई फरक देखाउन मन पर्छ । समयअनुसार आफ्नै आनीबानी फेरिबस्नु र नयाँ नयाँ प्रयोग (एक्स्पेरिमेन्ट) गर्नुमा ‘कुलपन’ भेट्छन्, उनी ।

‘पहिले मलाई सोसल मिडियामा खतरा–खतरा ठाउँमा खाना खाएको, कतै नयाँ ठाउँ गएको र त्यहाँको नयाँ स्टाइल सामाजिक सञ्जालमा देखाउन मजा लाग्थ्यो,’ उनले भने, ‘तर अहिले त्यही सेम ठाउँ, सेम कुरा गर्न मन लाग्न छोड्यो । बरु कोठामा बसेर आफ्नो काममा फोकस गर्छु ।’

भविष्य एजेन्सी म्यानेज गर्छन्, एफिलिएट मार्केटिङ गर्छन् । आफ्नै तरिकाले अनलाइन दुनियाँमा भविष्य कोर्दै छन् । ‘मलाई कामको भ्यालिडेसन चाहिन्छ । त्यो कसरी पाइन्छ भन्नेमा पनि ध्यान दिन्छु,’ उनले भने ।

यतिसम्म कि, कुल देखिन भविष्य पहिला आफ्नो मासिक खर्चदेखि प्रोजेक्टसम्म सामाजिक सञ्जालमा सेयर गर्थे । त्यो क्रमलाई अहिले इन्स्टाग्राम स्टोरीमा मात्र सीमित बनाएका छन् । उनको यो कुराले नयाँ पुस्ताको बदलिँदो प्रवृत्ति देखाउँछ, जहाँ कुल हुनु भनेको अरुलाई देखाउनुभन्दा आफ्नो काम र स्टाइलमा रमाउनु हो ।

भविष्य

पढाइमा भने भाविष्यलाई कहिल्यै रुचि भएन । ‘स्कुल–कलेजमा पढाइको तनाव लिनु मलाई फसाद लाग्छ,’ उनले ठट्टा गरे, ‘परीक्षा नजिकै छ, तर किताब अझै खोलेको छैन ।’ यसरी पनि उनी ‘बिन्दास’ महसुस गर्छन् । तर रुचिको काममा निकै फुर्तीका साथ लाग्छन् । ‘केही ठूलो गर्न मन छ, पैसा कमाउनु नै जिन्दगीको मेन गोल हो,’ उनले खुलेर भने ।

आईटीमा काम गर्ने भविष्य अहिलेको पुस्तालाई ‘एकलकाटे’ ठान्छन् । अरुको परबाह नगरी आफ्नै दुनियाँमा रमाइरहेका हुन्छन् । उनका अनुसार अघिल्लो पुस्ता कनेक्सन बनाउनमा फोकस गर्थ्यो, तर अहिलेका साथीहरु आफू सिक्दै एक्लै केही गर्न खोजिरहेका भेटिन्छन् । ‘झन् एआईको जमाना छ, सबै आफैँ–आफैँ गर्न मज्जा आउँछ । त्यसले गाइड पनि गर्छ,’ भविष्य कुल सुनिए ।

त्यस्तै, आफूभन्दा अग्रजसँग तुलना गर्दा नयाँ पुस्तालाई बढी स्वतन्त्र र एक्सपोज्ड देख्छन् । कतै जाँदा केही खिचेर हालिहाल्ने, देखाउन खोजिहाल्ने प्रवृत्ति आफ्नो पुस्तामा बढेको उनले सुनाए । भाविष्यको लागि भने कुल हुनुको अर्थ आफ्नो बाटो आफैँ बनाउनु, तनाव नलिनु र आफ्नै स्टाइलमा रमाउनु हो ।

****

पर्फमेन्स आर्टिस्ट अन्शु खनालको भने यसबारे अलि फरक धारण छ । उनका लागि कुल हुनु भनेको शान्त रहनु र आफूलाई सजिलोसँग प्रस्तुत गर्नु हो । जसले अरूलाई स्वीकार्छ, सुन्छ, जजमेन्ट गर्दैन, त्यो कुल हुन्छ उनको लागि । त्यस्तै, जसले फरक तरिका, स्टाइलमा काम गर्छ र सँगसँगै अरुलाई पनि स्थान दिन्छ भने त्यो उनको लागि कुल हुनु हो ।

पुरानो पुस्ताले पनि ‘कुल’ अनुभूत गर्न सामाजिक सञ्जालकै सहारा लिन थालेको छ ।

तर, पछिल्लो पुस्ताले कुल भन्ने शब्दलाई धेरै रोमान्टिसाइज गरिरहेको उनको बुझाइ छ । ‘अहिले मान्छेहरू सोसल मिडियामा सोअफ गर्दा कुल भन्छन्, जुन मलाई ठिक लाग्दैन,’ खनालले भनिन् ।

उनलाई आफूमा रमाउने कुरा कुल लाग्छ, न कि जबरजस्ती अरुलाई देखाउनु । उन आफूसरहका नयाँ पुस्ताको सोसल मिडियामा अरुलाई होच्याएर वा कमेन्टमा कटाक्ष गरेर आफूलाई कुल ठान्ने प्रवृत्तलाई पनि गलत मान्छिन् । यसअघिका पुस्ताबारे सुनिएका प्रसंग कोट्याउँदै उनले भनिन्, ‘पहिला बाइक रन्काउने, ठूलो आवाज निकाल्ने कुरामा कुल ठानिन्थ्यो, तर अहिले त्यो ट्रेन्ड सोसल मिडियामा सरेको छ ।’

त्यस्तै, खनालको लागि कुल हुनु भनेको सामाजिक, राजनीतिक र विश्वव्यापी कुराहरूमा अपडेट रहनु हो । तर पछिल्लो समय फेसबुकमा ‘प्राउड टु बी बाहुन’जस्ता ग्रुप बनाउने, टिकटकमा पनि ‘बाहुनी केटी’जस्ता आईडी बनाएर कुल देखिने कुरामा भने असन्तुष्ट व्यक्त गर्छिन् उनी । यस्ता कुरालाई रोमान्टिसाइज गर्दा गलत ट्रेन्ड बस्नेमा उनी चिन्तित छिन् ।

अंशु खनाल

अचेल युवाहरूमा ट्रेन्ड छ, जसले बजारमा चलेजस्तो ड्रिपी लुक्स दिने लुगा लगाउँछ, जसले ट्रेन्डी म्युजिक र डान्स–स्ल्याङ बुझ्छ, जसको एटिट्युड फरक छ भने त्यसलाई पनि कुल भनेर मान्ने चलन आफूले देखेको उनले बताइन् । तर यसले सामान्य, शान्त, अन्तर्मुखी युवालाई ‘बोरिङ, अड या यसले केही जान्दैन’ भनेर बेवास्ता गर्ने चलन पनि सँगसँगै छ । यसलाई पनि बुलिङकै रूपमा लिन्छिन् खनाल ।

****

पुरानो पुस्ताले पनि ‘कुल’ अनुभूत गर्न सामाजिक सञ्जालकै सहारा लिन थालेको छ । टेक कन्टेन्ट क्रियटर उष्मा अधिकारीका आनुसार उनकी आमा पनि सामाजिक सञ्जालमा केही नयाँ कुरा सिक्दा कुल फिल गर्न थालेकी छिन् ।

‘मेरो मम्मीले फोटोमा राम्रो कमेन्ट गर्नुहुन्छ वा हामीभन्दा पहिले कुनै कुरा थाहा पाउनुहुन्छ, अनि टिकटकमा ट्रेन्डिङ भिडियो बनाउनुहुन्छ । यस्ता कुरा हामीभन्दा अगाडि सिक्दा उहाँ आफूलाई कुल फिल गर्नुहुन्छ,’ अधिकारीले भनिन्, ‘यसरी जेनजीसँग कदम मिलाउनुले मम्मीलाई कुल भएको अनुभव हुन्छ । यी, मैले यो जानेँ भनेर हामीलाई सुनाउनु पनि हुन्छ ।’

कुल हुनुको अर्थ

समाजशास्त्री दिपेश घिमिरेले हरेक पुस्ताले ‘कुल’ शब्दलाई फरक तरिकाले बुझ्दै आइरहेको बताए । उनका अनुसार समयसँगै समाजको भाषा, संस्कृति र सम्बन्ध बदलिन्छ, जसले यस्ता शब्दको अर्थ र भाव पनि फेरिन्छ । उहिले पुरानो पुस्तामा गजब वा राम्रो भन्ने शब्दले अहिलेको ‘कुल देखिनु’ भन्ने अर्थ दिन्थ्यो । त्यतिबेला गाउँ–शहरको मिश्रित जीवनशैलीमा ठिक र राम्रो देखिनु नै कुल हुनु थियो ।

तर, अहिलेको पुस्ताले कुल हुनुलाई सोसल मिडियासँग जोड्छ । क्याफेमा फोटो खिचेर पोस्ट गर्नु, युनिक देखिनु र अरुबाट प्रशंसा पाउनु नै कुल मानिन्छ । यो परिवर्तनले समाजको बदलिँदो मूल्य, शिक्षा र अर्थतन्त्रलाई झल्काउने घिमिरेको भनाको छ ।

‘पहिला नेपालमा बौद्धिक हुनु भनेको संस्कृत जान्नु थियो । पछि नेपाली र अहिले अङ्ग्रेजी वा फ्रेन्चजस्ता भाषा बोल्ने सभ्रान्तहरू कुल ठानिन्छन् । अहिलेको पुस्ताले सोसल मिडियामा ट्रेन्डमा रहनु र फरक देखिनुलाई कुल ठान्छ । यसरी ‘के गर्दा कुल देखिने’ भन्ने न्यारेटिभ पनि सधैँ सभ्रान्त वर्गकै कब्जामा रहेको देखिन्छ,’ घिमिरेले भने ।

समाजशास्त्री मीना पौडेलका अनुसार पनि कुल हुनुको अर्थ पुस्ता र समयसँगै बदलिन्छ, किनकि समयक्रममा समाजको संरचना, संस्कृति र प्रविधिमा परिवर्तन आउँछ । उनले आफ्नो पुस्तामा कुल हुनु भनेको सामाजिक सम्बन्ध र परम्परागत नेटवर्किङमा आधारित रहेको बताइन् ।

त्यो समयमा गाउँमा गुच्चा खेल्ने, गाईबाख्रा हेर्न जाने, तीजमा नाचगान गर्ने, चौतारामा गफ गर्ने र पिकनिकमा खाना बाँडेर खाने जस्ता भौतिक सम्बन्धले कुल फिल गराउँथ्यो । संयुक्त परिवार र धेरै सन्तान भएको समाजमा यस्ता गतिविधि सामाजिक चेतना र उत्पादनमूलक कार्यसँग जोडिन्थे । स्कुलमा निबन्ध, वादविवाद, खेलकुदमा भाग लिने, सामाजिक क्लबमार्फत बाटो सफा गर्ने, कुलो मर्मत गर्ने जस्ता कामले पनि कुल अनुभव गराउँथ्यो ।

तर, अहिलेको पुस्तामा कुल हुनुको अर्थ सोसल मिडियासँग जोडिएको पौडेल बताउँछिन् । उनकाअनुसार मोबाइल र इन्टरनेटले सूचनामा पहुँच बढाए पनि मान्छेहरू एकलकाटे भएका छन् । अहिले कुल फिल गर्नु भनेको क्याफेमा फोटो खिचेर पोस्ट गर्नु, ट्रेन्डी सेलिब्रेटीको जीवनशैली पछ्याउनु र ग्ल्यामरस कुरामा रमाउनु हो ।

यस्ता कुरा सामाजिक न्याय र चेतनाभन्दा बढी व्यक्तिगत र उपभोक्तावादी छन् । उनले अहिलेको पुस्ताले किताब पढ्ने, गहिरो छलफल गर्ने वा सामाजिक परिवर्तनका कुरामा ध्यान दिनेभन्दा सतही र फेसनेबल कुरामा समय बिताउने गरेको बताइन् । यद्यपि, प्रविधिले सूचनामा पहुँच र चेतना बढाएको छ, तर त्यसको प्रयोग सकारात्मक बनिरहेको छ कि कुल फिल गर्न मात्र उपयोग भइरहेको छ भन्ने विषय महत्वपूर्ण रहेको उनको भनाइ छ ।

 

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?