+
+
Shares

‘मलाई राजनीतिक जुत्ता छाड्न समस्या छैन’

सार्वजनिक पद धारण गर्ने व्यक्तिका सम्बन्धमा प्रश्न उठ्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताउने पोखरेल उजुरीकर्तामाथि भने रुष्ट भए । बदनाम मात्रै गर्ने नियतले आफ्नो विरुद्ध उजुरी आएको भनेर असन्तुष्टि जनाएका हुन् ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८२ असार १५ गते २०:०२

१५ असार, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित मेघराज पोखरेलले संसदीय सुनुवाइमा मुख्यतः दुई वटा प्रश्न सामना गरे ।

पहिलो- जुन राजनीतिक पृष्ठभूमिमा रहेर अगाडि बढ्नुभयो, त्यसको प्रभाव न्यायाधीशको रूपमा काम गर्दा देखिँदैन भन्ने आधार के ?

दोस्रो- व्यापारिक घरानाको नजिक रहेर काम गर्दै आउनुभएको प्रश्न छ । कतै व्यापारिक घरानाकै प्रभावमा न्यायाधीश सिफारिस हुनुभएको त होइन ?

सिंहदरबारस्थित संसदीय सुनुवाइको सभाकक्षमा भएको सुनुवाइका क्रममा पोखरेलले यी पेचिला प्रश्नको सामना गरेका हुन् ।

‘सर्वोच्च बारको नेतृत्वमा रहेर काम गर्नुभयो । बार भनेको राजनीतिक पक्षधरता हुने ठाउँ हो,’ माओवादी केन्द्रका उपमहासचिव समेत रहेका सांसद जनार्दन शर्माले सोधे, ‘अब यहाँको भूमिका साँच्चै निष्पक्ष होला त ?’

माओवादी सांसद शर्माले ‘अदृश्य शक्ति भनेको के हो’ भनेर पनि सोधे ।

पोखरेलले सबैभन्दा पहिले अदृश्य शक्तिको परिभाषा दिए । ‘अदृश्य साँठगाँठ भनेको पछाडि हुने बन्धनहरू हुन् । त्यो बन्धन म गर्दिनँ,’ परिभाषासँगै प्रतिवद्धता जनाए ।

एमालेका मुख्य सचेतक महेश बर्तौलाले पोखरेललाई ‘कुनै बिजनेस ग्रुपहरूबाट प्रभावित भएर न्यायाधीशको सिफारिसमा पर्नुभयो कि’ भनेर सोधे । यो विषय पनि अदृश्य साँठगाँठसँग सम्बन्धित प्रश्न हो ।

‘म कुनै पनि व्यावसायिक घरानाको प्रभावमा परेर सिफारिस भएको होइन । यो ठोकुवा गर्छु,’ पोखरेलले जवाफ दिए, ‘यो विषयमा यहाँले कति खोज्नुहुन्छ खोजे हुन्छ ।’

तर, कानुन व्यावसायी हुँदा मुद्दाको पक्षधर भएर व्यावसायिक धर्ममा रहेर बहस गरेको पोखरेलले सगौरव राखे ।

सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित मेघराज पोखरेललाई प्रश्न थियो- व्यापारिक घरानाको नजिक रहेर काम गर्दै आउनुभएको प्रश्न छ । कतै व्यापारिक घरानाकै प्रभावमा न्यायाधीश सिफारिस हुनुभएको त होइन ?

‘व्यावसायिक क्षेत्रमा छउन्जेल मेरो पक्षधरता थियो । मकहाँ आउने क्लाइन्टलाई राजनीतिक क्लाइन्ट भनिनँ, व्यावसायिक क्लाइन्ट भनिनँ, मैले व्यापारको क्लाइन्ट भनिनँ, मैले सेवा गरेको हुँ,’ पोखरेलको जवाफ छ, ‘लाइसेन्स पाएपछि मैले वकालत गरेको हुँ ।’

एमाले मुख्य सचेतक बर्तौलाले एउटा बैंकको सञ्चालक समेत बनेको पाइएको भन्दै प्रश्न गरे, ‘तपाईं हृदयदेखि नै केही चर्चित व्यावसायिक घरानाबाट अलि बढी प्रभावित भएर हिँड्नुहुन्छ भन्ने प्रश्न छ ।’

जवाफमा पोखरेलले आफू १६ वर्ष अगाडि एउटा बैंकको सञ्चालक समितिमा रहेको स्वीकारे, ‘१६ वर्ष अगाडि बोर्डमा थिएँ । २ वर्ष बोर्डमा बसेँ । त्यो कुराले डिसक्यालिफिकेसन हुन्छ भन्ने लाग्दैन ।’

अब न्यायाधीश भएपछि विगतको सम्बन्धबाट प्रभावित नहुने पोखरेलको प्रतिवद्धता छ ।

‘भोलि बेन्चमा गइसकेपछि त्यस्ताहरूको इन्ट्रेस्ट सर्भ हुन्छ कि ! यो प्रश्नबारे स्पष्ट पार्न चाहन्छु कि म जहाँ-जहाँ थिएँ, त्यसको मुद्दा हेर्नै मिलेन,’ पोखरेलको जवाफ छ, ‘कन्फ्लिट अफ इन्ट्रेस्टबारे कार्ययोजनामै लेखेको छु- स्वार्थको द्वन्द्व भयो कि म त्यो मुद्दा हेर्न अस्वीकार गर्छु ।’

तथापि, न्यायाधीशमाथि अनावश्यक र अनुचित प्रभाव आउन सक्नेमा पनि आफू सतर्क हुने पोखरेलको प्रतिवद्धता छ ।

‘मेरो विचारमा पहिलो दर्शन भनेकै न्यायपालिका स्वातन्त्र र निष्पक्ष हुनुपर्छ,’ उनी भन्छन्, ‘न्यायपालिकामा धेरै अवरोध, अनुचित प्रभाव आउन सक्छन् । प्रलोभन, धम्की सबै आउन सक्छन् । म त्यो अनुमान गर्न सक्छु । त्यो भन्दा माथि उठेर निर्णय गर्नुपर्छ भन्ने विश्वास राख्छु ।’

पोखरेलविरुद्ध परेको उजुरी पनि व्यापारिक साँठगाँठ छ भन्नेसँग सम्बन्धित थियो । उजुरीकर्ताले पोखरेललाई व्यवसायी तथा नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीसँगको सम्बन्धमा रहेको देखाउने प्रयास गरेका थिए ।

पोखरेलविरुद्ध दुइटा उजुरी परेको थियो । एउटा थियो, विनोद चौधरीले सार्वजनिक बाटो मासेको र त्यसमा पोखरेलले बहस गरेर सहयोग गरेको र बहस गर्दा किर्ते कागज बनाई वा बनाउन दिएर त्यसको प्रयोग गरेको ।

सार्वजनिक पद धारण गर्ने व्यक्तिका सम्बन्धमा प्रश्न उठ्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताउने पोखरेल उजुरीकर्तामाथि भने रुष्ट भए । बदनाम मात्रै गर्ने नियतले आफ्नो विरुद्ध उजुरी आएको भनेर असन्तुष्टि जनाएका हुन् ।

सुनुवाइका क्रममा पोखरेलले भनेका छन्, ‘मान्छेलाई बदनाम गर्ने नियतले, प्रोपोगान्डा गर्ने नियतले कसैले उजुरबाजुर गर्छ भने त्यसको केही न केही मोरालिटी वा सोसल मोरालिटीको हिसाबले पनि हेर्न पर्छ होला ।’

यस्तो गरिए अपराध संहिताले दण्डित गर्ने भनेको पनि स्मरण गरे, ‘अपराध संहितामा झुटा उजुरी गर्नेलाई कारबाही गर्ने व्यवस्था छ ।’ अर्थात्, आफू विरुद्धको उजुरी झुटो रहेको भनेर उनले यो कारबाही विषय हुनसक्ने चेतावनी दिए ।

यस्तो चेतावनी दिएपछि पोखरेलले आफूबाट कागज किर्ते बनाउने कार्य नभएको प्रष्टीकरण दिए, ‘जुन कागज किर्ते पेस गर्‍यो भन्नुभएको छ, त्यो कागज उजुरीमा छैन । किन छैन भने वकिलले पेस गर्‍यो भने पछाडि लेखेको हुन्छ लाइसेन्स समेत राखेर । त्यो छैन ।’

‘मेरो राजनीतिको जे पृष्ठभूमि होला त्यो कति गहिरो थियो, यहाँहरूले पक्कै हेर्नुभएको होला । त्यसलाई यहाँहरूले गहिरो रूपमा लिनु पर्दैन र म यो (राजनीतिक आवद्धता) छोड्छु र छोड्न सक्छु । बरु यहाँहरूले बेला-बेलामा मलाई सचेत गराए पनि हुन्छ त्यसमा । यत्ति पनि म भन्छु ।’

नापी कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखेको पत्र प्रतिवादीले पेस गरेको र आफूमाथि किर्ते गरेको भनेर आरोप लगाएको भन्दै उनले प्रश्न गरे, ‘अख्तियारलाई नापीले लेखेको पत्र छ, कसरी किर्ते भयो त्यो ?’

पोखरेलविरुद्ध अर्को उजुरी परेको थियो, उचित मूल्यांकन नगरी निर्णय दिने प्रवृत्ति भएकाले पोखरेलको कार्यक्षमतामाथि प्रश्न छ ।

एक जना पूर्वप्रहरी उपरीक्षकले उजुरी दिएका थिए । उजुरीअनुसार निवेदकमाथि भ्रष्टाचारको मुद्दा लागेको थियो र हारेका थिए । आफूमाथि भ्रष्टाचार मुद्दा नियतबस लगाइएको र आफूले हार्नुमा प्रमाणको उचित मूल्यांकन नगरी सर्वोच्च अदालतले अन्याय गरेको भनिएको छ । तर उक्त मुद्दामा पोखरेलको के सम्बन्ध छ भन्ने केही खुलाइएको थिएन् । जो सुनुवाइमा उठेन र पोखरेलले पनि सम्झिएनन् ।

अन्तिमतिर पोखरेलले ‘कतिपयले सर्वोच्च बारको अध्यक्ष हुँदाहुँदै किन न्यायाधीश हुन पर्‍यो भनेर प्रश्न गरेको स्मरण गरे ।

जवाफमा पोखरेलले सर्वोच्च बारको अध्यक्षको उम्मेदवार हुँदा आफूले कतै जान्छु वा जान्न नभनेको प्रष्टीकरण दिए, ‘यहाँहरूले हेर्नुहोला म सर्वोच्च अदालत बार अध्यक्षमा उठ्दाको प्रस्तुति । कहीँ पनि मैले कहीँ जान्न भनेको छैन ।’

सर्वोच्च बारको नेतृत्व न्यायाधीश हुन हुन्छ कि हुँदैन ?

पोखरेलको जवाफ छ, ‘वैधानिक नैतिकता एउटा कुरा हो, संवैधानिक नैतिकता अर्को कुरा हो । वैधानिक नैतिकता भनेको विधान अन्तर्गतको नैतिकता हो । बार भनेको गैरनाफामुलक संस्था हो । यो संस्था विधानत चल्छ ।’

सर्वोच्च बारमा २ वर्ष काम गर्छु भनेर आफू नेतृत्वमा गएको पनि उनले स्वीकारे । विधानले २ वर्ष काम गर्न पाउने भनेकाले आफूले नेतृत्व लिँदा २ वर्ष काम गर्नसक्ने कुरा विधानले नै भनेको र यो वैधानिक नैतिकता भएको व्याख्या गरे ।

पोखरेलको प्रतिप्रश्न छ, ‘वैधानिक नैतिकताभन्दा संवैधानिक नैतिकता सानो हुन्छ कि ठूलो हुन्छ ?’

पोखरेल आफैँ जवाफ दिन्छन्, ‘संविधानको धारा ४८ को ‘ग’ हेर्दा- राज्यले चाहेको बखत अनिवार्य सेवा दिनुपर्छ ।’

संवैधानिक नैतिकताको आधारमा आफूले न्यायाधीश पद स्वीकार गरेको पोखरेलको तर्क छ । ‘मेरो चाहना थियो वा थिएन म निवेदन गर्दिनँ । तर सिफारिस भएपछि यसलाई मैले रिजेक्ट गर्न सक्छु ? कसरी सक्छु !’ पोखरेल थप्छन्, ‘तिमी आउनुपर्छ त्यहाँ (न्यायाधीशमा) भनिसकेपछि मैले संवैधानिक नैतिकताको आधारमा रिजेक्ट गर्न मिलेन ।’

न्यायाधीश भएपछि बार र बेन्चका बीचमा सम्बन्ध सुमधुर बनाउन प्रयत्न गर्ने पोखरेलको प्रतिवद्धता छ । बारमा काम गरेको अनुभवले बेन्चमा रहँदा समस्या आउन नदिन भूमिका खेल्न सहज हुने उनको विश्वास छ ।

यहीँनेर उनले प्रधानन्यायाधीशले गरेको प्रश्न पनि स्मरण गरे । ‘प्रधानन्यायाधीशले भन्नुभयो- तपाईं त्यत्रो मुद्दाहरू गरेर बसेको मान्छे । ५/६ महिनासम्म ल फर्मका ब्यागेजहरू आइरहन सक्छ । के होला ? पेमेन्ट बाँकी होला अथवा क्लाइन्टले खोजिराख्ला !,’ पोखरेलले स्मरण गरे ।

प्रधानन्यायाधीशलाई दिएको जवाफ पोखरेलले सुनाए, ‘पोसिबिल्ली म एक महिनासम्म हात-खुट्टा सबै बाँधेर बस्न सक्ने मान्छे हुँ ।’

जाँदाजाँदै पोखरेलले ‘राजनीतिक आवद्धता कसरी छोड्नुहुन्छ’ भन्ने प्रश्नमा दोहोर्‍याएर जवाफ दिए, ‘मलाई राजनीतिक जुत्ता छोड्न कुनै समस्या छैन । हेर्नुहोला ! म निवेदन गर्न चाहन्छु- हेर्नुहोला मलाई त्यो ठूलो समस्या होइन ।’

सांसदहरूले आफ्नो राजनीतिक पृष्ठभूमि कति गहिरो छ भन्ने बुझेरै प्रश्न गरेको स्मरण गर्दै उनले निरन्तर खबरदारीका निम्ति समेत आग्रह गरे ।

‘मेरो राजनीतिको जे पृष्ठभूमि होला त्यो कति गहिरो थियो यहाँहरूले पक्का हेर्नुभएकै होला । त्यसलाई यहाँहरूले गहिरो रूपमा लिनु पर्दैन र म यो (राजनीतिक आवद्धता) छोड्छु र छोड्न सक्छु । बरु यहाँहरूले बेला-बेलामा मलाई सचेत गराए पनि हुन्छ त्यसमा । यति पनि म भन्छु ।’

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?