+
+
Shares

‘भिजिट भिसा प्रकरण’ ले ह्वात्तै घट्यो दुबई जाने हवाई भाडा

हवाई टिकट व्यापार गर्दै आएका ट्राभल कम्पनीहरूका अनुसार पछिल्लो पाँच महिनायता दुबईको हवाई भाडा ३० प्रतिशतसम्म घटेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १६ गते १९:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘भिजिट भिसा प्रकरण’ का कारण यूएईको दुबई जाने हवाई भाडा ३० प्रतिशतसम्म घटेको छ।
  • प्रतिपक्षीले गृहमन्त्रीको संलग्नता आरोप लगाएपछि सरकारले छानबिन समिति गठन गरेको छ।
  • नेपालबाट यूएई जाने नेपालीको संख्या ७ लाख ६० हजारभन्दा बढी रहेको सरकारी तथ्यांकले देखाएको छ।

१६ असार, काठमाडौं । पछिल्लो पटक सार्वजनिक भएको ‘भिजिट भिसा प्रकरण’ का कारण खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबई जाने हवाई भाडा ह्वात्तै घटेको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको ‘संलग्नता’ रहेको भन्दै प्रतिपक्षी दलहरूले अहिलेसम्म संसद् बैठकमा विरोध गर्दै आइरहेका छन् ।

भलै, सरकारले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गरे पनि प्रतिपक्षी दलहरूले ‘झारा टार्ने’ छानबिन समिति भन्दै विरोध जारी राखेका छन् ।

यी राजनीतिक विषयका कुरा भए पनि भिजिट भिसा प्रकरण र सँगै दुबईले नेपालीलाई भिसा अनुमतिमा कडाइ गरेपछि त्यता जाने हवाई टिकटको भाउ उल्लेख्य दरमा घटेको हो ।

हवाई टिकट व्यापार गर्दै आएका ट्राभल कम्पनीहरूका अनुसार पछिल्लो पाँच महिनायता दुबईको हवाई भाडा ३० प्रतिशतसम्म घटेको छ ।

‘दुबई जाने जहाजको टिकटको मूल्य गएको पाँच महिनामा ३० प्रतिशत हाराहारीले घटेको छ,’ एक ट्राभल कम्पनीका सञ्चालकले अनलाइनखबरसँग भने, ‘यसको प्रमुख कारणमा भिजिट भिसा प्रकरण र दुबईले नेपालीलाई भिसा अनुमतिमा गरेको कडाइ हो ।’

उनका अनुसार पाँच महिनाअघि नेपालबाट दुबई जान प्रतियात्रु एकतर्फी ४९ हजार रुपैयाँ लाग्थ्यो । तर, अहिले यो मूल्य घटेर सबैभन्दा सस्तो ३५ हजार रुपैयाँमा आएको छ ।

‘टिकटको भाउ त ह्वात्तै घटेको छ, तर जहाजमा सिट भने पाइँदैन,’ उनले भने, ‘नेपालबाट जाने यात्रु संख्या भने एकदमै कम छ । बरु, उतैबाट दुईतर्फी टिकट काटेर आउनेको संख्या चाहिँ बढी छ ।’

उनका अनुसार भिजिट भिसामा दुबई जाने नेपालीको संख्या एकदमै घटेको छ । ट्राभल वा टुर प्याकेजमा दुबई जानेको संख्या पनि उल्लेख्य घटेको छ ।

‘विभिन्न कम्पनीले आफ्ना कर्मचारीलाई टुर प्याकेजमा दुबई लानेको संख्या भने घटेको छैन, तर व्यक्तिगत हिसाबमा प्याकेज किनेर तथा भिजिट भिसामा दुबई जाने नेपालीको संख्या भने उल्लेख्य दरमा घटेको छ,’ उनले भने, ‘भिजिट भिसा प्रकरण र दुबईका भिसा अनुमति कडाइको प्रभाव लामै समय पर्ने जस्तो देखिएको छ ।’

हाल नेपालबाट सिधा दुबई उडान गर्ने तीन वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी छन् । तिनमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम, निजी क्षेत्रको हिमालय एयरलाइन्स र दुबईको फ्लाई दुबई एयरलाइन्स छन् ।

वायुसेवा निगम र हिमालयले काठमाडौंबाट सिधा दुबई उडान गरिरहेका छन् भने फ्लाई दुबईले दुबईबाट काठमाडौं आएर पुन: उता जाने गर्छ ।

यूएई जाने नेपाली कति ?

यूएई नेपालीहरूको प्रमुख रोजगार गन्तव्य हो । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा काम खोज्दै ७ लाख ६० हजार ३ सय ९१ युवा विदेशिएको सरकारी तथ्यांक सार्वजनिक भइसकेको छ ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार जेठ २०८२ मा मात्र ७४ हजार ४ सय ६७ जनाले श्रम स्वीकृति लिएका छन् । यस वर्ष सबैभन्दा धेरै युवाले यूएई जान श्रम स्वीकृति लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?