+
+
Shares

असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी

‘विधेयकमा नटुंगिएको विषय टुंगो लगाउन धेरै समय लाग्दैन । सरकार तयार हुनुपर्‍यो,’ पराजुलीले भनिन् । २३ असारसम्म शिक्षा ऐन जारी नभए आन्दोलनमा जाने महासंघले चेतावनी दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १७ गते १८:१०
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल शिक्षक महासंघले २३ असारसम्म विद्यालय शिक्षा ऐनको कार्यान्वयनका लागि प्रतीक्षा गर्ने भएको छ।
  • सहमतिका अनुसार ऐन १५ असारभित्र ल्याउने सहमति भए पनि विवाद र मागका कारण कार्यान्वयन हुन सकेन।
  • महासंघले ७५/२५ प्रतिशतको पदपूर्ति र कार्य मूल्यांकन अंक घटाउने माग राख्दै आन्दोलनको चेतावनी दिएको छ।

१७ असार, काठमाडौं । नेपाल शिक्षक महासंघले २३ असारसम्म विद्यालय शिक्षा ऐन कुर्ने भएको छ ।

गत १७ वैशाखमा १५ असारभित्र ऐन ल्याउने सहमति भएको थियो । तर सहमति अनुसार ऐन जारी नभएपछि शिक्षक महासंघ २३ असारसम्म कुर्ने भएको छ ।

‘सहमतिको समय सकिएको छ । तर २३ असारसम्म पर्खिन्छौं । अब संसद् बैठक पनि २३ असारलाई बोलाइएकोले त्यो दिनसम्म कुर्छौं,’ शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट सोमबार विधेयक पास गर्ने तयारी थियो । तर शिक्षकका मागका विषयमा विवाद भएपछि पास हुन सकेन ।

नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले शिक्षक महासंघसँग वार्ता गर्नुपर्ने भएकाले विधेयक पास नगरी स्थगित गर्न समय मागेका थिए ।

शिक्षामन्त्री रघुजी पन्तले पनि शिक्षक महासंघसँग वार्ता गर्न समय मागेका थिए । अस्थायी प्रकृतिका शिक्षकको पदपूर्ति ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धा गर्नेगरी विधेयक पास गर्ने तयारी थियो । तर महासंघले ७५/२५ प्रतिशत हुनुपर्ने दबाब दिएपछि विधेयक पास हुन नसकेको हो ।

शिक्षक महासंघ ७५/२५ प्रतिशतबाट ब्याक हुन नसक्ने अडानमा छ ।

‘शिक्षा मन्त्रालयमा पनि ७५/२५ प्रतिशतमा सहमति भएको हो । तर शिक्षा मन्त्रीले तोडमोड गरेर लगेको हो । हाम्रो अडान यथावत छ,’ पराजुलीले भनिन् ।

शिक्षकको कार्य सम्पादन मूल्यांकनको अंक पनि घटाउनु पर्ने माग महासंघको छ । ‘कासमा ९० अंक आउँदैन  । यसलाई घटाएर ८० सम्म ल्याउनुपर्छ,’ सहअध्यक्ष पराजुलीले भनिन् । यी विषयमा टुंगो लगाउन धेरै समय नलाग्ने उनको भनाइ छ ।

‘विधेयकमा नटुंगिएको विषय टुंगो लगाउन धेरै समय लाग्दैन । सरकार तयार हुनुपर्‍यो,’ पराजुलीले भनिन् । २३ असारसम्म शिक्षा ऐन जारी नभए आन्दोलनमा जाने महासंघले चेतावनी दिएको छ ।

‘गत १७ वैशाखमा नै ऐन जारी नभए आन्दोलन गर्ने भनेको हो । यसको विकल्प छैन,’ उनले भनिन् ।

शिक्षक महासंघले गत २० चैतदेखि २९ दिन लामो आन्दोलन गरेपछि १७ वैशाखमा १५ असारभित्र ऐन जारी गर्ने सहमति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?