
१८ असार, काठमाडौं। रक्षामन्त्री मानवीर राईले सुरक्षाकर्मीहरूको सेवा–सुविधा न्युन रहेको स्वीकार गर्दै आगामी दिनमा राज्यको आर्थिक अवस्था मजबुत हुँदै गएपछि वृद्धि गर्ने कुरामा सरकार सकारात्मक रहेको बताएका छन् ।
बुधवार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री राईले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सेवा–सुविधा अपेक्षाकृत कम रहे पनि मुलुकको कमजोर आर्थिक अवस्थाका कारण वृद्धि गर्न नसकेको बताएका हुन् ।
उनले भने, ‘मुलुकको एउटै समस्या के हो भने हामी अर्थतन्त्रमा जति माथि आउनुपर्ने हो त्यति आइरहेका छैनौँ । सुरक्षाकर्मीहरूको सेवा–सुविधा न्युन रहेको मलाई थाहा छ । तर मुलुकको कमजोर आर्थिक अवस्थाका कारण नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सेवा–सुविधा अपेक्षाकृत रुपमा वृद्धि गर्न सकेनौं।’
उनले मुलुकको अर्थतन्त्रले विस्तारै लय समात्दै गएको उल्लेख गर्दै अगामी दिनमा सुरक्षाकर्मीको सेवा सुविधामा वृद्धि हुने विश्वास समेत दिलाए । उनले मुलुकको उत्पादन क्षेत्रको अवस्था हेरेर भविष्यमा नेपाली सेनालाई थप जिम्मेवारी दिने कुरामा पनि सरकार गम्भिर रहेको बताए ।
‘अगामी दिनमा उत्पादन क्षेत्रको अवस्था हेरेर नेपाली सेनालाई जिम्मेवारी दिएर अगाडि बढाउन सकिन्छ । नेपाली सेना लगायत सुरक्षाकर्मीको सेवा सुविधा अलि कम भयो भन्ने कुरा पनि उठाउनु भएको छ,’ उनले भने, ‘ मलाई पनि लाग्छ, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सेवा सुविधा कम र निजामति कर्मचारीहरुको, शिक्षकहरुको सेवा सुविधा कम भएको छ भन्ने मलाई पनि लागेको छ।’
अहिले केही लयहरु समात्न थालेको कुराहरु अर्थमन्त्रीज्युबाट स्पष्ट भएको उनले बताए । अगामी दिनमा यो सेवा सुविधालाई राज्य बलियो हुँदै जाँदा बढाउने कुरामा रक्षा मन्त्रालय सकारात्मक रहेको उनले बताए । नेपाली सेनाले निर्माण गरिरहेका पूर्वाधार योजनाहरु समेत अन्तिम चरण रहेको उनको भनाइ थियो ।
प्रतिक्रिया 4