
१८ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले कानुन बनाउने ठाउँ संसद जालझेल गर्ने ठाउँमा परिणत भएको टिप्पणी गरेका छन् । नेपालको संसदीय इतिहासमा यस्तो जालझेल कहिल्यै नभएको उनको भनाइ छ ।
प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा कुलिङ अफ पिरियडमाथि भएको जालसाझीको चर्चा गर्दै उनले कानुन बनाउने थलोमै यस्तो जालझेज हुँदा जनतामा संसद्प्रति विश्वास गुमेको बताएका हुन् ।
‘यो घटनाले संसद जालझेल गर्ने संस्थाको रूपमा परिणत भयो । कानुन बनाउँदा त यति धेरै जालझेल भयो भने अरु के होला भनेर जनताले भन्न थालेका छन्,’ सांसद तामाङले भने, ‘हामी नै जालझेल गर्ने संस्थामा बसेको प्रमाणित भयो । यसलाई गलत सावित गर्नुपर्यो ।’
उनले यो छानबिनको विषय भएको भन्दै छानबिन भएर दोषीलाई कारबाही हुनुपर्ने धारणा राखे ।
उनले जालझेलमा समितिका सभापतिको पनि हस्ताक्षर देखेपछि आफू छक्क परेको बताए । ‘हामीलाई सधैं कुलिङ पिरियड पास गर्नुपर्छ भन्दै आएको व्यक्तिको हस्ताक्षर देखेपछि म छक्क परेँ । उहाँको नियत गलत होइन होला, झुक्किनु पो भयो कि ? जे भयो, छानबिनबाट बाहिर आओस्,’ उनले थपे ।
प्रतिक्रिया 4