+
+
Shares

कारागारहरू विपश्यना शिविरमा परिणत भए…

अध्ययनकै क्रममा नख्खु कारागारको द्वारबाट बाहिर निस्कँदा होस् या रातिको खाना खाएर ओछ्यानमा पल्टिंदा; मनमा विपश्यना शिविरमा सहभागी युवा बन्दीहरूको चित्र सल्बलाइरहन्छ ।

प्रकाश तिवारी प्रकाश तिवारी
२०८२ असार २१ गते १७:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिन्दू ग्रन्थ र रामायणमा ‘बन्धन’ र ‘बन्दी’ को प्रसंग उल्लेखित छन्।
  • विपश्यना ध्यान नेपाल र विश्वका कारागारहरूमा सञ्चालन हुँदै आएको छ।
  • अध्ययनले विपश्यना ध्यानले कैदीहरूको मानसिक स्वास्थ्य र जीवनशैलीमा सकारात्मक प्रभाव देखाएको छ।

हिन्दू धार्मिक ग्रन्थहरूमा ‘कैद’, ‘कारागार’ र ‘बन्दी’को प्रसंगहरू आउँछन् । ऋग्वेदमा प्रतीकात्मक अर्थका ‘बन्धन र कैद’ को सन्दर्भहरू भेटिन्छन् । मेघनाथले स्वर्ग आक्रमणपछि इन्द्रलाई बन्धक बनाएर लंका लगेको रामायणमा उल्लेख छ । कंशले देवकी र वसुदेवलाई बन्दी बनाएको र श्रीकृष्णको जन्म कारागारमा भएको कथाहरू छन् ।

मानव सभ्यताको शैशवकालमा कारागार, बन्दीगृह वा जेलहरू थिएनन् । तिनताका ‘ज्यानको बदला ज्यान’ लिएर भरपाई गरिन्थ्यो । त्यतिबेलाको समाज अपराधीमाथि हदैसम्म निर्मम थियो । केही शताब्दीयता अपराधीमाथिका पाशविक दण्डविधान विघटन हुँदै गएका छन् । आधुनिक राज्य व्यवस्थाले क्षमा, दया, करुणा जस्ता पक्षलाई आत्मसात् गर्दै गएको छ, जुन बुद्ध शिक्षासँग मेल खान्छन् ।

‘घृणालाई प्रेमले जित । मानिस परिवर्तनशील छ, परिवर्तन हुने मौका देऊ । अंगुलीमाल नाम गरेका नृशंस हत्यारा शान्ति र अहिंसाको मार्ग मार्फत बौद्ध संन्यासी बन्न सक्यो’, बुद्ध शिक्षा यही भन्छ । भनिन्छ, सिद्धार्थ गौतमले विपश्यनाको मार्गबाट बुद्धत्व प्राप्त गरेका थिए ।

विपश्यना खासमा सत्यको उपासना हो । वर्तमानसँगको साक्षात्कार हो । विपश्यना साधक श्वास–प्रश्वास अनि शारीरिक समवेदना अवलोकनको माध्यमबाट वर्तमानमा अडिरहन्छ । विपश्यना ध्यानलाई आम जनसमुदायमाझ पुर्‍याउने श्रेय चाहिं सत्यनारायण गोयन्कालाई जान्छ । बर्मामा जन्मेका भारतीय मूलका गोयन्काले विपश्यना विद्यालाई बन्दीगृहमा समेत परिचित गराए ।

गोयन्काकै सक्रियतामा अक्टोबर १९७५ मा भारतको जयपुर जेलमा विश्वमै पहिलो ‘विपश्यना प्रिजन कोर्स’ सञ्चालनमा आएको थियो । यतिखेर क्यानडा, अमेरिका, बेलायत, इजरायल, मंगोलिया, न्युजिल्यान्ड, ताइवान, थाइल्यान्ड, म्यान्मार, ब्राजिल, भारत, श्रीलंका, नेपाल, स्पेन लगायत १६ भन्दा बढी देशका कारागारहरूमा ‘विपश्यना प्रिजन कोर्स’ सञ्चालन हुने गरेका छन् ।

नेपालमा चाहिं जयपुर जेलमा शिविर लागेको २३ वर्षपछि ‘विपश्यना प्रिजन कोर्स’ (नख्खु कारागारमा) सञ्चालनमा आउन सक्यो । त्यसमा २० कैदी बन्दीको सहभागिता रहेको बताइन्छ । त्यसयताका २७ वर्षमा देशका विभिन्न बन्दी गृहहरूमा ध्यान शिविरहरू सम्पन्न भएका छन् ।

नख्खु कारागारको विपश्यना केन्द्र उद्घाटन गर्दै तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठ ।

‘कैदी–बन्दीमा विपश्यना ध्यानको प्रभाव’ विषयक आलेख तयार पार्ने क्रममा नेपाल विपश्यना केन्द्रका केन्द्रीय व्यवस्थापक सुशील साहसँग भेट्ने संयोग जुरेको थियो । साहले बताए अनुसार नेपाली कारागारमा विपश्यना ध्यानको सुरुवात सन् १९९८ बाट भएको हो । पहिलो शिविर नख्खु कारागारमा लागेको थियो । त्यसपछि क्रमश: विराटनगर, भीमफेदी, पोखरा, नवलपरासीका  कारागारमा अस्थायी ध्यान शिविरहरू लागे ।

साहको नेतृत्वमा कारागारमा स्थायी प्रकृतिको संरचना निर्माण गरी शिविर सञ्चालन गर्ने प्रयास चलिरहेको थियो । यस्तैमा एक दिन तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक टेलिभिजन अन्तर्वार्ताको दौरान विपश्यना ध्यानबारे धारणा राखेको सुने । गृहमन्त्री नै विपश्यनाको साधक भएको थाहा पाएपछि उनी भेट्न गए । भेटमा उनले नख्खु कारागार विपश्यना ध्यान केन्द्र निर्माणमा सहयोग गर्न अनुरोध गरे ।

श्रेष्ठले त्यसअघि नै दुई पटक विपश्यना ध्यान गरिसकेका थिए । त्यसको महत्व बुझेकाले उनले कारागारमा विपश्यना ध्यान केन्द्र निर्माण गर्न सघाउने प्रतिबद्धता जनाए । त्यसको केही दिनमै गृह मन्त्रालय, सुरक्षासँग सम्बद्ध अधिकारी र नेपाल विपश्यना केन्द्रका क्षेत्रीय आचार्य रूप ज्योति सहितको बैठक बस्यो । बैठकले नख्खु कारागार विपश्यना ध्यान केन्द्र निर्माण सम्बन्धमा ठोस समझदारी बनायो । समझदारी अनुसार साह अघि बढे । पुराना साधक, साधिका र दाताहरूबाट आर्थिक स्रोत–साधन जुटाइयो । काम थालेको ७२ दिनमा ८० जना क्षमताको एक धम्म हल, तीन आवास भवन, एक टिचर आवास सहितको संरचना तयार भयो । अन्तत: ८ फागुन २०८० मा विपश्यना केन्द्रको उद्घाटन गृहमन्त्री श्रेष्ठकै हातबाट भयो । हाल त्यहाँ ७–८ दिनको अन्तरालमा ध्यान शिविर चलिरहन्छ । बेला–बेलामा महिला ध्यान शिविर पनि लाग्छ ।

नेपालमा चाहिं जयपुर जेलमा शिविर लागेको २३ वर्षपछि ‘विपश्यना प्रिजन कोर्स’ (नख्खु कारागारमा) सञ्चालनमा आउन सक्यो । त्यसमा २० कैदी बन्दीको सहभागिता रहेको बताइन्छ । त्यसयताका २७ वर्षमा देशका विभिन्न बन्दी गृहहरूमा ध्यान शिविरहरू सम्पन्न भएका छन् ।

नख्खु कारागार विपश्यना केन्द्रको निर्माणलाई नेपाली जेल सुधारको यात्रामा महत्वपूर्ण चरण मान्न सकिन्छ । कारागारमा विपश्यना ध्यान र कैदी बन्दीमा परेको प्रभावबारे विश्वमा विभिन्न अध्ययन–अनुसन्धान भएका छन् । एसके बर्मा र पीएल धार (१९९५) ले ‘विपश्यना प्रिजन कोर्स पूरा गरेका कैदी बन्दीमा एन्जाइटी र डिप्रेसन (डर, चिन्ता, व्याकुलता, उदासी, आत्मग्लानि, वैराग्य, निराशा, खिन्नता) उल्लेखनीय रूपमा कमी आएको अनुसन्धान तथ्य सार्वजनिक गरेका छन् । सन् १९९७ मा अल इन्डिया इन्ष्टिच्युट्स अफ मेडिकल साइन्सेजले पनि तिहाड जेलका कैदीहरूमा विपश्यना ध्यानको प्रभावबारे अध्ययन गरेको थियो ।

विपश्यना ध्यानले कैदी बन्दीहरूको मानसिक आवेग नियन्त्रण गर्न, लागूपदार्थको दुर्व्यसनबाट मुक्त हुन, बदलाको सोच, रिस, तनाव, एक्लोपनाको भावबाट मुक्त हुन मद्दत गरेको, इच्छाशक्ति बढाएको अध्ययनले देखाएको छ । त्यस्तै, २००६ को ‘द ग्लोबल प्यागोडा’मा प्रकाशित आलेखमा युनिभर्सिटी अफ वासिङ्टनले संघीय सरकारको अनुदान सहयोगमा गरेको अध्ययनमा कोर्स समाप्त गरेका कैदी–बन्दीमा मदिरा सेवन तथा लागूऔषध प्रयोगमा उल्लेखनीय कमी आएको बताइएको छ । भारतका थुप्रै राज्य सरकार, दिल्ली पुलिस लगायतले कैदी बन्दी विपश्यना ध्यानलाई जेल सुधार अभियानका रूपमा अघि बढाएको र त्यसले उत्साहजनक परिणाम दिएको पनि ‘द ग्लोबल प्यागोडा’को आलेखमा उल्लेख छ ।

नेपाली अध्येता मुक्तिप्रसाद पाण्डेले समेत कैदी बन्दीमा विपश्यना ध्यानको प्रभावबारे अध्ययन गरेका छन् । पाण्डेको अध्ययन प्रतिवेदन सन् २०२२ मा ‘इन्टरनेशनल जर्नल अफ ल एन्ड सोसाइटी’मा प्रकाशित छ । रिपोर्टमा ‘ध्यानले कैदी बन्दीहरूको मानसिक स्वास्थ्यमा गुणात्मक परिवर्तन ल्याएको, सकारात्मक र आशावादी दृष्टिकोण विकास गर्न मद्दत गरेको, चिड्चिडापन, एन्जाइटी जस्ता समस्याबाट राहत दिलाएको जस्ता विषय’ समेटिएका छन् ।

एक महिनाअघि लेखकलाई यसै विषयमा नख्खु कारागार विपश्यना ध्यान शिविरमा सहभागी कैदीबन्दीसँग साक्षात्कार गर्ने मौका जुरेको थियो । तिनका आ–आफ्नै कथा छन् । सामान्यत: विभिन्न अभियोगमा पुर्पक्षका लागि वा कैद भुक्तानका लागि कारागार पुगेका थुप्रैमा जीवनप्रति निराशा वा झन् ठूलो आक्रोश सहित बदलाभाव देखिन्छ । तर, जो कम्तीमा एकपटक विपश्यना शिविर बसेका छन्, तिनमा ठूला बदलाव पनि देखिएका छन् । निराश जीवन भोगिरहेकाहरूमा विपश्यना ध्यान साधनापछि उत्साह पैदा भएको पाइन्छ । जेल जीवनको तनावबाट थुप्रैले मुक्ति पाएका छन् । कैयौंले विगतका गल्तीप्रति प्रायश्चित गरेका छन् । कतिले दु:खी विचलित मनलाई शान्त गरेका छन् । कारागारभित्रै आत्महत्याको प्रयास गरेका कैयौंमा विपश्यना ध्यानले जिजीविषा पैदा गरेको छ ।

अध्ययनकै क्रममा नख्खु कारागारको द्वारबाट बाहिर निस्कँदा होस् या रातिको खाना खाएर ओछ्यानमा पल्टिंदा; मनमा विपश्यना शिविरमा सहभागी युवा बन्दीहरूको चित्र सल्बलाइरहन्छ । मान्छे एकत्व भित्रको अनेकत्व हो । देवतत्व पनि मानिसभित्रै, दानवत्व पनि मानिसभित्रै ! क्षमा, दया, माया, करुणाको महामानवीय बीज पनि ऊभित्रै । मान्छेको रगतमा स्नान गर्ने, बन्दुकको छर्राभित्र सङ्गीतको सुमधुर ध्वनि भेट्ने दानवीय चरित्र पनि ऊभित्रै ! मानिस कति बेला बुद्धत्वमा उक्लन्छ, कति बेला अंगुलीमालमा पतन हुन्छ भन्न सकिन्न ! विपश्यनाको बाटो हिंड्न सकियो भने मान्छे हुनुको वास्तविक मूल्य बोध गर्न सकिन्छ, जसले दयावान र करुणामयी बन्न प्रेरित गरिरहन्छ ।

लेखक
प्रकाश तिवारी

उपन्यास, समालोचनाका साथै प्रशस्तै कथा, लेख, निबन्ध, कविता प्रकाशित रहेका लेखक समसामयिक विषयमा कलम चलाउँछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?