
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक पदाधिकारी नियुक्तिबारे भएको फैसला ठिक नभएको बताए।
- उनले अदालतको निर्णयमा राजनीतिक प्रभाव भएको पनि आरोप लगाएका छन्।
- प्रचण्डले अदालतको पुनर्संरचनाबारे नयाँ ढंगले जानुपर्ने पनि बताए।
२४ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक निकायका ५२ पदाधिकारीहरूको नियुक्ति सदर गर्ने सर्वोच्च अदालतको फैसला गलत भएको टिप्पणी गरेका छन् ।
अनलाइनखबरसँग अन्तर्वार्ताका क्रममा अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतको निर्णयमा राजनीतिक प्रभाव भएको बताए ।
‘अब अदालतले निर्णय नै सकेपछि त्यो अदालतको निर्णयलाई मैले गलत इन्टरप्रेटेसन त गर्न चाहन्नँ । तर जे भयो बेठीक भयो भन्ने त मलाई लागेकै छ,’ अध्यक्ष प्रचण्डले भने, ‘अध्यादेशबाट बडो गलत ढंगले, संविधान र कानूनको मर्मविपरीत, जबरजस्ती नियुक्ति गरिएको विषयलाई यत्रो वर्ष लगाएर सदर गरियो । यो त मिलेको छैन ।’
उनले अदालत पनि यही समाजकै अंग भएकाले प्रभावित हुनसक्ने टिप्पणी पनि गरेका छन् ।
‘म के ठान्छु भने अदालत भनेको पनि फेरि अन्तत: यही समाजको, यही अहिले चलेको बहस, छलफल तिनै मान्छे त हुन्छन् त्यहाँ पनि’ अध्यक्ष प्रचण्डले भने, ‘प्रभावित देखियो । राजनीतिक देखियो । त्यसकारण जे भयो त्यो सही चाहिं भएन ।’
कुराकानीका क्रममा अध्यक्ष प्रचण्डले संविधान निर्माणका बेला संवैधानिक अदालतको कुरा चलेको स्मरण पनि गरे ।
‘संवैधानिक अदालतबारे पनि त्यति संविधान बनाउने बेलामा कुरा चलेको चाहिं थियो नै । अदालतको पुनर्संरचनाबारे नयाँ ढंगले जानुपर्छ भन्ने बहस नि उठेको थियो । तर त्यसमा हामी सहमत हुन सकेनौं’ प्रचण्डले भने, ‘अब अदालत पुरानै रूपमा राख्दाखेरि के भइरहेको छ भन्ने दुनियाँले देखिराखेकै कुरा छ ।’
उनले थप भनेका छन्, ‘यसलाई कहीं न कहीं हामीले संविधान संशोधन गर्दा अदालतको विषय पनि, सदनको विषय पनि, अहिले सदनमा पनि जस्तो जस्तो भइराखेको देखिया छ नि, यी सबै विषयलाई पनि विचार गरेर अलिकति परिमार्जनतिर जानुपर्छ ।’
अध्यक्ष प्रचण्डसँग अनलाइनखबरले गरेको विस्तृत अन्तर्वार्ता आजै प्रसारण हुनेछ ।
प्रतिक्रिया 4