News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण २०२५ को नोभेम्बर-डिसेम्बरमा आयोजना हुनेछ।
- सबै ८ टोलीले खेलाडी रिटेन्सन प्रक्रिया पूरा गरी रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरिसकेका छन्।
- आगामी अगस्टमा मिनी अक्सन गर्नका लागि क्यानले खेलाडी दर्ता प्रक्रिया खुला गरिसकेको छ।
२४ असार, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण आउँदो नोभेम्बरमा हुने तय छ । कुनै प्राविधिक समस्या नआए २०२५ को नोभेम्बर-डिसेम्बरमा एनपीएलको दोस्रो संस्करण आयोजना हुनेछ ।
त्यसअघि टिमहरूले गर्नुपर्ने खेलाडी रिटेन्सनको प्रक्रिया पनि पूरा भइसकेको छ । तोकिएको प्रावधान अनुसार सबै ८ टोलीले रिटेन गरिएका खेलाडीको सूची सार्वजनिक गरिसकेका छन् ।
खेलाडी रिटेन र रिलिजको प्रक्रिया सकिएसँगै आउँदो अगस्टमा मिनी अक्सन पनि गर्ने तय छ । त्यसका लागि क्यानले खेलाडी दर्ता प्रक्रिया पनि खुला गरिसकेको छ ।
आज हामी सबै ८ टोलीले रिटेन गरेका खेलाडीहरू र तिनले अघिल्लो सिजन गरेका प्रदर्शनबारे चर्चा गर्नेछौं । सुरुवात साविक विजेता जनकपुर बोल्ट्सबाटै गरौं ।
जनकपुर बोल्ट्स
एनपीएलको साविक विजेता जनकपुरले मार्की आसिफ र कप्तान अनिल साहसहित ६ खेलाडी रिटेन गरेको छ । यीबाहेक शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह रिटेन भएका छन् ।
जनकपुरका लागि मार्की खेलाडीको आसिफको प्रदर्शन औसत रह्यो । आसिफले १० खेलमा १६२ रन बनाए । उनको उच्च स्कोर ३६ थियो । त्यस्तै उनले चार क्याच पनि लिए ।
प्लेअफअघिसम्म ७ खेलमा कप्तानी गरेका अनिल साहले १३२ रन बनाए । उनले पहिलो क्वालिफायर, दोस्रो क्वालिफायर र फाइनल खेल हातको चोटका कारण गुमाएका थिए । त्यस्तै अनिलले ७ खेलमा प्रतियोगिताकै सर्वाधिक १२ क्याच लिए ।
प्रतियोगिताकै संयुक्त सर्वाधिक विकेट टेकर ललित राजवंशीले १० खेलमा १७ विकेट लिए । उनको नाममा ३ क्याच पनि रह्यो । शुभ कंसाकारले १० खेलमा ७१ रन बनाए ।
३ खेल मात्र खेल्ने मौका पाएका तुलबहादुर थापाले १ क्याच मात्र लिए । उनलाई सरप्राइज रिटेन्सनका रूपमा हेरिएको छ । चोटका कारण पहिलो सिजन गुमाएका रुपेश सिंह पनि रिटेन भएका छन् ।
सुदूरपश्चिम रोयल्स
पहिलो संस्करणको उपविजेता टोली सुदूरपश्चिमले मार्की तथा कप्तान दिपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, इशान पाण्डे र नरेन साउद रिटेन भएका छन्।
सुदूरपश्चिमका मार्की तथा कप्तान दिपेन्द्रले ९ खेलमा २२७ रन बनाए । उनको उच्च स्कोर ५७ नटआउट थियो । यस्तै उनले बलिङमा ९ विकेट लिँदा ३ क्याच पनि लिए ।
ओपनर तथा विकेटकिपर विनोद भण्डारीले ५८* को उच्च स्कोरसहित ९ खेलमा २३५ रन बनाए । आरिफ शेखले ९ खेलमा ४२ को उच्च स्कोरसहित कुल ६९ रन बनाए भने २ क्याच लिए ।
इशान पाण्डेले ९ खेलमा १२८ रन बनाए । यस्तै ४ विकेट पनि लिएका इशानले ६ क्याच पूरा गरे । अविनाश बोहराले ९ खेलमा ७ विकेट लिँदा ८ खेल खेलेका नरेन साउदले एकै खेलमा ५ विकेटसहित कुल ६ विकेट लिए ।
कर्णाली याक्स
पहिलो सिजनको एनपीएलमा दोस्रो क्वालिफायरसम्म पुगेर तेस्रो स्थान हासिल गरेको कर्णालीले मार्की सोमपाल कामीसहित गुल्शन झा, नन्दन यादव, अर्जुन घर्ती, दिपेन्द्र रावत, बिपिन प्रसाद शर्मा र युनिशविक्रमसिंह ठकुरीलाई रिटेन गरेको छ ।
सोमपालले पहिलो सिजनमा ९ खेलमा ९ विकेट लिए भने ब्याटिङबाट ५२ रन बनाउँदा २ क्याच पनि लिएका थिए । अलराउण्डर गुल्शन झाले ९ खेलमा १३२ रन बनाउँदा बलिङमा १ विकेट मात्र लिए । उनले ६ क्याच पूरा गरेका थिए ।
यस्तै नन्दन यादवले पनि ९ खेलमा ९ विकेट लिए । उनले ३ क्याच लिए । अर्जुन घर्तीले ९ खेलमा ७९ रन बनाए । दिपेन्द्र रावतले टिमका लागि मौका पाएनन् । तर उनले पीएम कपमा गरेको प्रदर्शनका आधारमा उनलाई रिटेन गरिएको बुझ्न सकिन्छ ।
यस्तै ट्यालेन्ट हन्टबाट आएका खेलाडी बिपिन प्रसाद शर्माले कर्णालीका लागि सर्वाधिक विकेट लिए । उनले ९ खेलमा १३ विकेट लिए । युनिशविक्रमसिंह ठकुरीले ५ खेल खेल्दा २ विकेट लिए ।
चितवन राइनोज
पहिलो संस्करणको एलिमिनेटरमा कर्णाली याक्ससँग पराजित भएर चौथो भएको चितवन राइनोजले मार्की खेलाडी तथा कप्तान रहेका कुशल मल्लसहित रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह राउटेला र गौतम केसीलाई दोस्रो संस्करणका लागि रिटेन गरेको छ ।
कुशल मल्लले पहिलो सिजनमा १ अर्धशतक (७२) सहित १८४ रन बनाए । त्यस्तै उनले ९ विकेट पनि लिए भने २ क्याच पनि पूरा गरे ।
रिजन ढकालले ८ खेलमा १३ विकेट लिए भने ३ क्याच पनि लिए । कमलसिंह ऐरीले भने चोटका कारण पहिलो संस्करण खेलेनन् । त्यसका बाबजुद उनको अनुभवको आधारमा रिटेन गरिएको हो ।
दीपक बोहराले ६ खेलमा १९ रन बनाए । अमरसिंह राउटेलाले ८ खेलमा ८५ रन बनाए भने ४ विकेट पनि लिए । यस्तै १ क्याच लिए ।
गौतम केसीले मौका नपाएपनि उनको पेस बलिङ क्षमताका आधारमा उनलाई रिटेन गरिएको बुझ्न सकिन्छ ।
काठमाडौं गोर्खाज
पहिलो संस्करण पाँचौं स्थानमा रहेर टुंग्याएको काठमाडौंले मार्की तथा कप्तान करण केसीसहित भीम सार्की, दिपेश कँडेल, शाहब आलम, प्रतिक श्रेष्ठ र राशिद खानलाई रिटेन गरेको छ ।
करण केसीले पहिलो संस्करणमा ७ खेलमा १२ विकेट लिएका थिए । ब्याटिङबाट ५१ रन पनि बनाए । भीम सार्कीले ७ खेलमा ७८ रन बनाए । उनले ३ क्याच पनि लिए ।
दिपेश कँडेलले ६ खेलमा ७ विकेट लिएका थिए भने शाहब आलमले ७ खेलमा ६ विकेट लिए । प्रतिक श्रेष्ठले ५ खेलमा ७३ रन बनाए । राशिद खानले ७ खेलमा ६ विकेट लिए ।
विराटनगर किङ्स
विराटनगर ७ खेलमा २ जित मात्र निकालेर पहिलो सिजन छैटौं स्थानमा रहेर प्रतियोगिता सकाएको टोली हो । स्टार लेगस्पीनर सन्दीप लामिछानेसहित समग्रमा विराटनगरका नेपाली खेलाडीहरू खासै चल्न सकेनन् ।
विराटनगरले सन्दीप लामिछानेसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट र सुवास भण्डारीलाई रिटेन गरेको छ ।
पहिलो सिजनमा मार्की तथा कप्तान सन्दीपकै प्रदर्शन फितलो थियो । उनले ७ खेलमा ६ विकेट मात्रै लिए । प्रतिश जिसीले टोलीका लागि सर्वाधिक ९ विकेट लिएका थिए ।
ब्याटिङमा लोकेश बमले ७ खेलमा १३१ रन बनाए । बसिर अहमदले ७ खेलमा ६ विकेट लिनुका साथै ब्याटबाट १८१ रन पनि बनाए, ४ क्याच लिए । उनी नै टोलीका लागि राम्रो अलराउण्डरको रूपमा रहे ।
नरेन भट्टले २ खेलमा ११ रन मात्र बनाउन सके । सुवास भण्डारीले ३ खेलमा १ विकेट लिए ।
पोखरा एभेन्जर्स
पोखरा एभेन्जर्सका लागि पनि पहिलो सिजन बिर्सनलायक रह्यो । विराटनगरजस्तै पोखराले पनि पहिलो सिजनमा २ जित मात्र निकालेको थियो ।
पोखराले मार्की कुशल भुर्तेलसहित ७ खेलाडी रिटेन गरेको छ जसमा दिनेश खरेल, बिपिन खत्री, सागर ढकाल, किरण ठगुन्ना, आकाश चन्द र तृतराज दास छन् ।
पहिलो सिजन भुर्तेलको ब्याट चल्न सकेको थिएन । उनले ७ खेलमा केवल ५४ रन बनाएका थिए । बलिङमा ५ विकेट लिए । राष्ट्रिय टोलीबाट पछिल्लो समय लय देखाइरहेका भुर्तेल क्षमताकै आधारमा रिटेन गरिएका हुन् ।
त्यस्तै व्यक्तिगत रूपमा दिनेश खरेलको प्रदर्शन भने राम्रो रह्यो । उनले ७ खेलमा १ अर्धशतकसहित १६१ रन बनाए । बलिङमा भने १ विकेट लिएका थिए ।
बिपिन खत्रीको बलिङ राम्रो रह्यो । उनले ७ खेलमा ९ विकेट लिए । सागर ढकालले ७ खेलमा ५ विकेट लिए । किरण ठगुन्नाले ३ खेलमा मात्र मौका पाउँदा ३३ रन बनाए । तृतराज दासले १ खेलमा मौका पाएपनि ब्याटिङ/बलिङ दुवै पाएनन् ।
लुम्बिनी लायन्स
राष्ट्रिय टोलीका समेत कप्तान रहेका मार्की रोहित पौडेलको नेतृत्वमा लुम्बिनी लायन्स भने सबैभन्दा खराब प्रदर्शन गर्ने टोली बन्यो । लुम्बिनी ७ खेलमा १ जित मात्र निकालेर पुछारमा रह्यो ।
लुम्बिनीले रोहितसँगै सन्दीप जोरा, विवेक यादव, तिलकराज भण्डारी, अभिशेष गौतम र दिनेश अधिकारीलाई रिटेन गरेको छ ।
अघिल्लो सिजन कप्तान रोहितबाहेक सबैको प्रदर्शन कमजोर रह्यो । रोहितले ७ खेलमा २ अर्धशतकसहित २७९ रन बनाएका थिए । बलिङमा पनि उनले ८ विकेट लिए । ३ क्याच पनि लिए ।
सन्दीप जोराले ७ खेलमा १२० रन बनाए भने १ विकेट पनि लिए । विवेक यादवले ६ खेलमा १०० रन बनाउनुका साथै ३ विकेट पनि लिए ।
तिलकराज भण्डारीले १ खेल मात्र खेल्दा २ विकेट लिए । अभिशेष गौतमले ४ खेलमा ६ विकेट लिए । दिनेश अधिकारीले २ खेलमा १४ रन मात्र बनाएका छन् ।
***
रिटेन गरिएका खेलाडीहरू राष्ट्रिय टोलीको पनि सदस्य रहिसकेका छन् । केही खेलाडीहरूले भर्खरै सम्पन्न स्कटल्याण्ड टी-२०आई शृंखलामा पनि खेले ।
तीमध्ये केहीले राम्रो त केहीले औसत प्रदर्हन गरेका छन् । त्यस्तै पहिलो संस्करणको एनपीएलपछि भएका पीएम कपलगायत अन्य घरेलु क्रिकेट प्रतियोगितामा गरेका प्रदर्शनका आधारमा पनि खेलाडीहरू रिटेन भएका छन् ।
अब अगस्टमा हुने मिनी अक्सनपछि कुन टिम कस्तो बन्छ र रिटेन गरिएका खेलाडीहरूमध्ये कतिले मौका पाएर कस्तो प्रदर्शन गर्छन् त्यो भने हेर्न बाँकी नै छ ।
प्रतिक्रिया 4