+
+
Shares

लोभलाग्दो सांगितिक उडान भरिरहेकी १९ वर्षीया अभिज्ञा

अब उनलाई एउटै विधामा अडिग रहनु छैन । बहुमुखी हुनु छ । सकेसम्म सबै विधामा गाउनु छ । उनलाई एउटै विधामा विशेषज्ञता हासिल गर्ने गायकहरू भन्दा बहुमुखी गायकहरू बढी मनपर्छ ।

सापेक्ष सापेक्ष
२०८२ असार २६ गते ८:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भक्तपुरकी अभिज्ञा घिमिरेले १४ वर्षको उमेरमा टेलिभिजन रियालिटी शोमा प्रतिस्पर्धा गरी संगीत यात्रामा फड्को मारिन्।
  • उनको ब्यान्ड सुरतालले नयाँ गीत निकालेको छ र गीत 'राधा'ले १ करोड १९ लाखभन्दा बढी भ्युज पाएको छ।
  • अभिज्ञा कक्षा १२ पछि बीबीएम अध्ययन गर्ने र संगीत सम्बन्धी डिप्लोमा कोर्स गर्ने योजना बनाइरहेकी छिन्।

उनी हुन्, १९ वर्षमा हिँडिरहेकी भक्तपुरकी अभिज्ञा घिमिरे । चार वर्षको कलिलो उमेरदेखि संगीतमा लागेकी उनले कम उमेरमै सफलताको स्वाद चाखिसकेकी छिन् । शास्त्रीय संगीतबाट यात्रा थालेकी उनले अहिले संगीतका अन्य विधाहरूमा आफूलाई जाँचिरहेकी छिन् ।

केही अघि उनको ब्यान्ड सुरतालले नयाँ गीत निकालेको छ । त्यो भन्दा अघि स्वप्न सुमनसँगको ‘राधा’ त अहिलेको ‘बज्’ भै’हाल्यो । यसमा अहिलेसम्म १ करोड १९ लाख बढी भ्युज आइसकेको छ । अनि ‘ऊनको स्वीटर’को ‘फूल’ पनि ‘राधा’कै लयमा छ ।

यो सफलताको यात्रामा उनलाई एक टेलिभिजन रियालिटी शोले महत्त्वपूर्ण साथ दिएको छ । त्यसबेला उनी १४ वर्षकी थिइन् । र प्रतिस्पर्धाको अन्तिम चरणसम्म पुगेकी थिइन् ।

त्यहाँ बनेको सम्बन्धले उनलाई आजको यात्रा तय गर्न धेरै सहयोग गरेको हो । भनौं, त्यस शोपछि उनको करिअरले फड्को मार्‍यो । अनि त्यसको नतिजा राधा, फूल, पलेँटी (नेपालयको मासिक सांगीतिक कार्यक्रम) हुन् ।

‘शोमा ड्रमर सुन्दर महर्जन हुनुहुन्थ्यो । उहाँले मलाई फोन गरेर केही समयपछि ‘पलेँटी’ सुरु हुँदैछ, आभास सरलाई भेट भन्नुभएको थियो’ अभिज्ञाले पलेँटीको यात्राबारे सुनाइन् ‘अनि म सरलाई भेट्न गएँ । उहाँले पनि मेरो टिकटक भिडियोहरू हेर्नु भएको रहेछ । मन पराउनु भएको रहेछ । पलेँटीमा मेरो यात्रा यसरी सुरु भएको थियो।’

‘गत कक्षा १२ को बोर्ड परीक्षाअघि गायक स्वप्न सुमनले एउटा गीतमा स्वर दिन कल गर्नुभयो । परीक्षा नजिक भए पनि मैले ठूलो अवसर बुझेर उहाँको प्रस्ताव सहर्ष स्वीकार गरेँ’ ‘राधा’को सन्दर्भ उनी सुनाउँछिन्।

त्यस्तै गीतकार हर्क साउदसँग सोही शोमै उनको भेटघाट भएको थियो । गीतकार साउद आर्टमाण्डुसँग पनि सम्बन्धित छन् । उनैले ‘फूल’मा गीत गाउन अभिज्ञालाई प्रस्ताव गरे । त्यसमा अभिज्ञाले नाइँनास्ती गर्ने कुरै थिएन ।

000

औपचारिक रूपमा कोही पनि संगीतमा थिएनन्, तर अभिज्ञाको घरमा माहोल संगीतको थियो । त्यसले सानैमा उनलाई ध्वनिप्रति माया जगायो । र, मात्र चार वर्षको हुँदा नै संगीतका गुरु खोज्ने सोच उनमा बीजारोपण भयो

बाआमाले उनको रहर बुझे पनि सुरुमा केही गुरुहरूले उमेर सानै भएकाले सिकाउन मानेनन् । तर भास्कर माधवराज श्रेष्ठले उनलाई सानी देखेनन् । उदाउदो तारा देखे । उनले अभिज्ञालाई भजन सिकाउन थाले ।

त्यहाँपछि अभिज्ञाले गुरु श्री के.सी.सँग शास्त्रीय संगीत सिक्न थालिन् । उक्त रियालिटी शोमा जानुअघिका अभिज्ञा उनै गुरुसँग सिकिरहेकी थिइन् । अहिले पनि सिकिरहेकै छिन्।

त्यो बीचमा शास्त्रीय संगीतका लागि परिचित किरातेश्वरका केही प्रतियोगितामा अभिज्ञाले पुरस्कार पनि जितेकी थिइन् । अहिले भने शास्त्रीय संगीत गायनमा उनले अस्थायी विराम लगाएकी छिन् । अध्ययन जारी छ, भविष्यमा ध्रुपद् गायनमा फर्कने उनी सुनाउँछिन् ।

000

१२ कक्षाको परीक्षा दिएर नतिजा कुरिरहेकी उनी ब्याचलरमा ‘बीबीएम’ पढ्ने विचारमा छिन् । त्यससँगै संगीत सम्बन्धी डिप्लोमा कोर्स गर्ने योजनामा पनि छ

उमेर त सानै छ ? निर्णय कसरी लिन्छिन् ?

यसमा परिवारले साथ दिने उनको भनाइ छ । अफर धेरै आउने भए पनि प्रोजेक्टहरूमा ‘सेलेक्टिभ’ हुन्छिन् । त्यसमा विशेष भूमिका आमाको छ ।

‘मेरा लागि आफ्नो पढाइ र संगीत दुवै उत्तिकै महत्त्वपूर्ण छ’ अविज्ञा भन्छिन्, ‘जुन पायो त्यही गीत गर्दिन् ।’

गीत गाउने निर्णय लिनुअघि संगीतकार वा गीतकार गीतको लिरिक्स र अरेन्जमेन्ट माग्छिन् ।  सबैभन्दा पहिले आमालाई पठाउँछिन् । आमाले सुनेर ‘ठिक छ’ भनेपछि मात्रै अफर स्वीकार गर्छिन् ।

निर्णय क्षमता एक ठाउँमा होला । तर, त्यसो गर्नुमा उनको तर्क अर्कै छ ।   ‘एकपटक गीत मिडियामा आएपछि त्यो हाम्रो सम्पत्ति बन्छ ।  सम्पत्ति हल्का हुनु हुँदैन’ अभिज्ञा भन्छिन् ।

अभिज्ञा कक्षा १० को परीक्षा दिएर बसिरहेकी थिइन् । त्यस्तैमा एउटा स्टार्टअप मेलामा सांगीतिक प्रस्तुति दिने मौका आउँछ । उनले ‘आलोक एण्ड द ब्यान्ड’ नामक सांगीतिक समूहबाट प्रस्तुति दिन्छन् ।

आलोक घिमिरे अभिज्ञाको साथी । उक्त ब्यान्डको भोकलिस्ट र किबोर्डिस्ट । पछि त्यसै ब्यान्डलाई अघि बढाउने उनीहरूको कुरा हुन्छ । अनि एक व्यक्तिको नाममा ब्यान्डको पहिचान नराखेर छुट्टै नाम राख्ने कुरामा सहमति भयो ।

तर नाम के राख्ने उनीहरू अलमलमा थिए ।  अभ्यासको शैलीलाई विश्लेषण गर्दा नाम जुर्यो- सुरताल । किनकि अभ्यासमा कसैको ताल बिग्रन्थ्यो कसैको सुर । अनि जिस्कँदा जिस्कँदै उनीहरूको ब्यान्डको नाम नै सुरताल रहन गयो ।

अहिले ब्यान्डमा सात जना सदस्य छन् । ब्यान्डले काठमाडौं, धरान, बर्दिबास, नवलपरासी लगायतका स्थानमा प्रस्तुति दिइसकेको छ ।

000

बढ्दो लोकप्रियताका बाबजुद अभिज्ञा सामाजिक सञ्जालमा कम सक्रिय छिन् । सञ्जाल चलाउँछिन् तर आफ्नो निजीभन्दा पनि संगीतसँग सम्बन्धित जानकारी मात्र सेयर गर्छिन् ।

अब उनलाई एउटै विधामा अडिग रहनु छैन । बहुमुखी हुनु छ । सकेसम्म सबै विधामा गाउनु छ । उनलाई एउटै विधामा विशेषज्ञता हासिल गर्ने गायकहरू भन्दा बहुमुखी गायकहरू बढी मनपर्छ । त्यसले सर्जकलाई बढी रचनात्मक अवसरहरू प्रदान गर्ने उनको विश्वास छ।

यसरी नेपाली संगीतको परिदृश्यमा एउटा युवा कलाकारले लोभलाग्दो यात्रा गरिरहेकी छिन् । देशको प्रसिद्ध सांगीतिक कार्यक्रम पलेँटीकी कान्छी महिला गायिका उनले एकल करियर र ब्यान्डसँगको सहकार्यलाई यस्तरी बढाएकी छिन्, जुन हेर्दा जोकोही लोभिन्छन् ।

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?