
२६ असार, काठमाडौं । सरकारले चारवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगत तीन महिनादेखि उपकुलपति नियुक्त गर्न सकेको छैन ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गत चैतदेखि उपकुलपतिविहीन छन् ।
उपकुलपतिविहीन भएको दुई महिनापछि गत १४ जेठमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको नेतृत्वमा उपकुलपति सिफारिस समिति गठन भएको थियो ।
समितिको सदस्यमा राष्ट्रिय योजना आयोगका स्वास्थ्य हेर्ने सदस्य डा. आरपी बिच्छा र स्वास्थ्य सचिव डा. विकास देवकोटा छन् । समितिले ४ असारमा ७ दिनभित्र इच्छुक उम्मेदवारलाई आवेदन दिन आह्वान गरेको थियो ।
उपकुलपति किन सिफारिस हुन सकेन ? भन्ने प्रश्नमा समिति सदस्य डा. देवकोटाले प्रक्रिया अगाडि बढिरहेको बताए । ‘विवरण हेर्ने काम भइरहेको छ,’ डा. देवकोटाले छोटो प्रतिक्रिया दिए ।
आवेदन नामावली प्रकाशन भएको दुई साता बितिसकेको छ ।
कहिलेसम्म उपकुलपतिका लागि सिफारिस गर्नुहुन्छ ? भन्ने प्रश्नमा डा. देवकोटाले ठ्याक्कै जवाफ दिन नसकिने प्रतिक्रिया दिए ।
डा. देवकोटाले तीन चरणमा छनोट प्रक्रिया अगाडि बढेको जानकारी दिए । पहिलो चरणमा मापदण्ड र नियमावलीअनुसार उम्मेदवारहरूको प्राथमिक छनोट भइरहेको छ । त्यसपछि तीनजनाको कमिटीले छनोट भएका उम्मेदवारहरूको सर्टलिस्टिङ गरिनेछ ।
‘मापदण्ड र ऐन-नियमअनुसार योग्यता नपुगेकालाई आउट गर्छौं । योग्यता पुगेकाको सूची बनाउँछौँ,’ डा. देवकोटाले अनलाइनखबरसँग भने ।
छनोट प्रक्रियामा उम्मेदवारहरूको योग्यता, कार्य अनुभव, अनुसन्धान क्षेत्रमा संलग्नता र कार्ययोजना लगायत विभिन्न पक्षहरूको मूल्यांकन गरिने उनले बताए ।
योग्यता, कार्य अनुभव, रिसर्च र कार्ययोजना सबै हेरेर सिफारिस गरिने डा. देवकोटा बताउँछन् । उनका अनुसार अन्तिम चरणमा छनोट भएका उम्मेदवारले आफ्नो कार्ययोजना र दृष्टिकोणबारे प्रस्तुतीकरण गर्नुपर्नेछ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सबैभन्दा धेरै १७ जनाले आवेदन दर्ता गराएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५ जना, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १३ जना र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० जनाको आवेदन दर्ता भएको छ ।
स्वास्थ्य मन्त्रालय अन्तर्गतका चार प्रतिष्ठानको नेतृत्वदायी पदमा आउन विभिन्न क्षेत्रका वरिष्ठ चिकित्सक, पूर्वस्वास्थ्य सचिवदेखि पूर्वउपकुलपतिसम्म दौडधुपमा छन् ।
विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति पदका लागि चिकित्सा क्षेत्रका चर्चित तथा केही विवादित व्यक्तिहरूले समेत आवेदन दिएका छन् ।
यीमध्ये कतिपयले पहिले विभिन्न विवाद खडा गरेका थिए भने कतिपयको कार्यकालमा कर्मचारी आन्दोलनसमेत भएको थियो ।
आवेदन दिनेहरूमा चिकित्सा शिक्षा आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरी, पूर्वसचिव डा. रोशन पोखरेल, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का पूर्वअध्यक्ष प्रा.डा. गेहनाथ बराल, स्वास्थ्य मन्त्रालयका, पूर्वअतिरिक्त स्वास्थ्य सचिव डा. दीपेन्द्ररमण सिंह र शहीद गंगालाल हृदय केन्द्रका मुटुरोग विशेषज्ञ डा. रामेश कोइराला, बीपी कोइराला प्रतिष्ठानका निवर्तमान उपकुलपति डा. ज्ञानेन्द्र गिरी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्वतान उपकुलपति डा. भरतबहादुर खत्रीलगायत छन् ।
उपकुलपति छनोट समितिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका हकमा मान्यताप्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र विषयमा स्नातकोत्तर, सहप्राध्यापक वा मन्त्रालयमा दशौं तहको काम गरेको हुनुपर्ने मापदण्ड तोकेको छ ।
अन्य तीन प्रतिष्ठानका हकमा चिकित्साशास्त्र विषयमा स्नातकोत्तर, प्राध्यापक वा मन्त्रालयमा एघारौं तहमा काम गरेको हुनुपर्ने सर्त राखिएको छ ।
प्रतिक्रिया 4