
२९ असार, काठमाडौं । केही वर्षयता नेपालको बैंकिङ क्षेत्रले परम्परागत बैंकिङ प्रणालीबाट आधुनिक डिजिटल बैंकिङतर्फ फड्को मार्दै गरेको छ ।
सर्वसाधारणले गर्ने रिटेल कारोबार साथै विभिन्न व्यवसाय तथा संस्थाले गर्ने कारोबार पनि बिस्तारै डिजिटल भुक्तानी तथा डिजिटल बैंकिङतर्फ अग्रसर भएको देखिन्छ ।
केही समय अघिसम्म व्यावसायिक भुक्तानी प्राय: नगद वा चेकमा सीमित थिए भने नेपाल राष्ट्र बैंकले लिएको सकारात्मक नीतिगत निर्देशनपछि बैंक तथा वित्तीय संस्थाको सक्रिय पहल र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले कार्यान्वयनमा ल्याएको व्यावसायिक प्ल्याटफर्मका कारण अधिकांश व्यावसायिक कारोबार अब बीटुबी पेमेन्ट च्यानल ‘कर्पोरेट पे’ मार्फत फर्स्योट हुन थालेका छन् ।
संस्थागत ग्राहकले कर्पोरेट पे को कम लागत, समय बचत गर्ने तथा सुरक्षित कारोबार गर्न सकिने विशेषताका कारण यस प्ल्याटफर्मलाई व्यापक रूपमा स्वीकार्दै आएका हुन् ।
साथै, यसले प्रदान गर्ने मल्टिबैंकिङ प्ल्याटफर्म मार्फत संस्थागत ग्राहकलाई सिधै मल्टिपल बैंक खाता प्रयोग गरी बैंकिङ सेवा सहज प्रयोग गर्न मद्दत पुर्याएको छ ।
कर्पोरेट पे ले व्यवसाय र संस्थालाई आफ्नो विभिन्न बैंक खातामा रहेका फन्ड व्यवस्थापन गर्न मद्दत गर्दछ । यस प्रणालीले बैंकलाई आफ्नो कार्य सञ्चालनका साथै ग्राहकसँगको सम्बन्ध सुदृढ गर्न मद्दत गर्दै आएको छ ।
व्यावसायिक भुक्तानी प्रणालीको पर्यायवाची बनिसकेको कर्पोरेट पे मार्फत चालु आर्थिक वर्ष २०८१/८२ को असार मध्यसम्म ११ खर्बभन्दा बढीको कारोबार फर्स्योट भइसकेको छ भने गत आव ८ खर्ब रुपैयाँ बराबर कारोबार फर्स्योट भएको थियो ।
उक्त प्रणााली हाल ५३ वटा बैंक तथा वित्तीय संस्थाका अधिकांश व्यावसायिक ग्राहकले प्रयोग गर्दै आइरहेका छन्, जसले नेपालको व्यावसायिक भुक्तानी क्षेत्रमा डिजिटल प्रणाली प्रयोगको लोकप्रियता र प्रभावकारिता झल्काएको छ ।
साथै, यसले डिजिटल सबलीकरण र नगद रहित अर्थतन्त्रको परिकल्पना साकार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएकोे छ ।
कर्पोरेट पे का विशेषता
कर्पोरेट पे बैंकका संस्थागत ग्राहक र विशेषगरी साना तथा मझौला व्यवसायीको व्यावसायिक भुक्तानीलाई सहज बनाउन डिजाइन गरिएको हो ।
उक्त प्रणालीले व्यवसायलाई मल्टिपल बैंक खाता लिंक गरी एउटै प्ल्याटफर्म मार्फत विभिन्न प्रकारका भुक्तानी तलब भुक्तानी, भेन्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी लगायत भुक्तानी गर्न सक्षम बनाउँछ ।
साथै, यस प्रणालीमा युटिलिटी तथा क्रेडिटरलाई बल्क भुक्तानी, नेपाल आयल निगम, भन्सार विभागको प्रज्ञापनपत्रको भुक्तानी, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष तथा अन्य सेवा सम्बन्धी भुक्तानी उपलब्ध छन् ।
त्यसैगरी केही बैंकले यस प्रणाली मार्फत विदेशी मुद्रा कारोबार, क्यास क्रेडिट पे आउट, एलसी, बैंक ग्यारेन्टी लगायत बैंकिङ तथा फाइनान्सियल सेवा पनि प्रदान गर्दै आएका छन् ।
उक्त प्रणालीमा मल्टिपल सिग्नेचरहरूलाई सुरक्षित रूपमा व्यावसायिक कारोबार गर्न मल्टिलेयर अथोराइजेसन तथा प्रयोगकर्ताको हायरार्की म्यानेजमेन्ट जस्ता आवश्यक आन्तरिक नियन्त्रण पनि राखिएको छ ।
प्रणालीमा रियल टाइममा प्रतिकारोबार २० लाखसम्म र सोही बैंक/वित्तीय संस्थामा १ करोडसम्म कारोबार गर्न सकिन्छ भने एनसीएचएल आइपीएस बाट (नन रियल टाइम) कारोबारका हकमा २० करोडसम्म र नेपाल सरकारको भुक्तानीका लागि ३० करोडसम्म गर्न सकिन्छ ।
कर्पोरेट पे मा कसरी आबद्ध हुने ?
व्यवसाय तथा संस्थाले corporatepay.connectips.com मा अनलाइनबाट कर्पोरेट पे मा रजिस्ट्रेसन गर्न सक्छन् । मागिएका कम्पनी सम्बन्धी विवरण दाखिला गरी कम्पनीको आवश्यकता अनुरूप युजर हायरार्की बमोजिम युजरको विवरण र बैंक खाता चयन गरी अनलाइन रजिस्ट्रेसन सम्पन्न गर्न सकिन्छ । र, अनलाइन रिक्वेस्टका आधारमा र उपलब्ध गराइएका कागजपत्रका आधारमा सम्बन्धित बैंक/वित्तीय संस्थाले एक पटक अप्रुभल गरेपछि सेवा सुचारु गर्न सकिन्छ ।
प्रतिक्रिया 4