+
+
Shares

काठमाडौं महानगरको बजेट: खर्च आधा, विनियोजन दोब्बर

चालू आवमा १३ अर्ब ४ करोड मात्रै बजेट खर्च गर्न सकेको काठमाडौं महानगरले आगामी वर्षका लागि त्यसमा दोब्बरले वृद्धि गरी २५ अर्ब ७६ करोडको  बजेट ल्याएको छ । 

अच्युत पुरी अच्युत पुरी
२०८२ असार २९ गते २१:५५

२९ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाको बजेट खर्च विनियोजनको तुलनामा आधामात्र भएको देखिएको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ मा नगरसभाले पारित गरेको २४ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँ बजेटमध्ये २५ असारसम्म १३ अर्ब ३ करोड ७४ लाख ६० हजारमात्र खर्च हुन सकेको उपप्रमुख सुनिता डंगोलले जानकारी दिइन् ।

तर, आगामी आर्थिक वर्षका लागि यो वर्षको खर्चको दोब्बर रकम अर्थात् २५ अर्ब ७६ करोडको  बजेट महानगरले ल्याएको छ ।

आइतबार आगामी आव २०८२/८३ को बजेट नगरसभामा प्रस्तुत गर्दै उनले २५ असारसम्म विनियोजनको ५२.१३ प्रतिशतमात्र खर्च भएको जानकारी दिइन् । यस वर्ष पूँजीगत बजेट ५० प्रतिशतभन्दा पनि कम खर्च भएको छ । चालु बजेट ६३.४२ प्रतिशत खर्च भएको छ ।

महानगरले पूँजीगत बजेट १५ अर्ब ६ करोड ५६ लाख विनियोजन गरेको थियो । यसमध्ये २५ असारसम्म ६ अर्ब ७३ करोड ७४ लाखमात्र खर्च हुन सकेको छ । जुन लक्ष्यको ४४.७२ प्रतिशत हो ।

चालु खर्चतर्फ महानगरले ९ अर्ब ८२ करोड २० लाख ५० हजार विनियोजन गरेकोमा २५ असारसम्म ६ अर्ब २२ करोड ९९ लाख ८० हजार खर्च भएको छ । जुन कुल बजेटको ६३.४२ प्रतिशत हो ।

आवको पछिल्लो ६ महिना काठमाडौं महानगरपालिका कर्मचारी र जनप्रतिनिधि प्रमुखबीचको आन्तरिक किचलोमा फस्यो । त्यसको प्रत्यक्ष असर बजेट कार्यान्वयनमा देखिएको छ ।

त्यसो त महानगरले आव २०८०/८१ मा समेत विनियोजनको ५१.०३ प्रतिशतमात्र बजेट खर्च गर्न सकेको थियो । त्यसबेला २४ अर्ब १८ करोड ७८ लाख ८२ हजार बराबर बजेट ल्याएकोमा खर्च भने १२ अर्ब ३४ करोड ५३ लाख १२ हजार गर्न सकेको तथ्यांक छ ।

उक्त आवमा कुल ४ हजार २ सय ९९ योजना/कार्यक्रममध्ये ९ सय ८८ योजना तथा कार्यक्रममा शून्य प्रगति भएको महालेखा परीक्षकको तथ्यांकले देखाएको छ ।

क्षेत्रगत हेर्दा पनि चालु आव महानगरको बजेट खर्च सबै क्षेत्रमा विनियोजनको तुलनामा दयनीय देखिन्छ । उप्रमुख डंगोलका अनुसार आर्थिक विकास क्षेत्रतर्फ कुल ७४ करोड ३९ लाख ८१ हजार विनियोजन भएकोमा ३७.६९ प्रतिशतमात्र खर्च भएको छ ।

सामाजिक क्षेत्रतर्फ कुल विनियोजन ५ अर्ब ४२ करोड ३० लाख ४८ हजार भएकोमा ४७.९२ प्रतिशतमात्र खर्च देखिन्छ ।

पूर्वाधारमा ११ अर्ब ३९ करोड ३९ लाख १७ हजार रुपैयाँ विनियोजन गरिएकोमा ५२.५२ प्रतिशतमात्र खर्च भएको छ । सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा ३ अर्ब २४ करोड ५२ लाख ५१ हजार विनियोजन भएकोमा २८.८ प्रतिशत रकम खर्च भएको छ ।

त्यस्तै कार्यालय सन्चालन तथा प्रशासनिक क्षेत्रमा ४ अर्ब २० करोड २४ लाख ५२ हजार रुपैयाँ विनियोजन भएकोमा ७७.०२ प्रतिशतमात्र खर्च भएको छ ।

लक्ष्यभन्दा धेरै टाढा राजस्व संकलन

उता, राजस्व संकलनमा समेत महानगर लक्ष्यभन्दा धेरै टाढा रहेको देखिन्छ । महानगरले चालु आव आन्तरिक राजस्वमात्र ८ अर्ब ३ करोड ५७ लाख उठाउने लक्ष्य राखेको थियो । २५ असारसम्म ५ अर्ब ४९ करोड ८८ लाखमात्र संकलन भएको तथ्यांक महानगरको नगरसभामा प्रस्तुत गरिएको छ ।

प्रदेश र संघबाट राजस्व बाँडफाँटबाट आउने रकमसहित यस वर्ष कुल १२ अर्ब ९० करोड राजस्व आम्दानी हुने अनुमान गरिएकोमा वर्षान्तको अन्त्यसम्म मात्र १० अर्ब ९ करोड ८५ लाख उठेको छ ।

जुन लक्ष्यको ७८.२४ प्रतिशतमात्र राजस्व आम्दानी भएको छ । आन्तरिक अनुदान (समानीकरण र ससर्त) भने लक्ष्यको ९८.४६ प्रतिशत प्राप्त भएको तथ्यांक छ ।

सामान्य बढेर आयो नयाँ बजेट

आगामी आव २०८२/८३ सुरु हुन ४ दिन बाँकी रहँदा महानगरले आगामी आवको बजेट सार्वजनिक गरेको छ । महानगरले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

यसमध्ये २५ अर्ब ११ करोड ४३ लाख सञ्चित कोषमा व्ययभार पर्ने र वाह्य व्ययभार हुने ६५ करोड सहित नयाँ बजेट सार्वजनिक गरेको उपप्रमुख डंगोलले जानकारी दिइन् । यो बजेट ३२ असारका दिन पारित गर्ने योजना छ । १ साउनदेखि नयाँ बजेट कार्यान्वयनमा जान्छ ।

आगामी आवका लागि महानगरले आन्तरिक आय र बैंक मौज्दातबाट २० अर्ब १२ करोड स्रोत जोहो हुने र विभिन्न प्रकारका अनुदान र राजस्व बाँडफाँटबाट ४ अर्ब ९८ करोड ७९ लाख स्रोत जुट्ने अनुमान गरेको छ ।

क्षेत्रगत रूपमा आर्थिक विकासमा कुल बजेटको ३ प्रतिशत अर्थात् ७५ करोड ३४ लाख ३० हजार रुपैयाँ प्रस्ताव गरिएको छ ।

सामाजिक विकासमा २० प्रतिशत (५ अर्ब २ करोड २८ लाख), पूर्वाधार विकासमा ५१ प्रतिशत (१२ अर्ब ८० करोड ८३ लाख) र सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा १२ प्रतिशत (३ अर्ब १ करोड ३७ लाख) विनियोजन गरिएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा १४ प्रतिशत अर्थात् ३ अर्ब ५१ करोड ६० लाख राखिएको छ ।

आगामी आव काठमाडौं महानगर क्षेत्रभित्रका पूर्वाधार योजनालाई उच्च प्रथामिकतामा राखिएकोे डंगोलले बताइन् । फोहोरमैला व्यवस्थापन, विद्यालय शिक्षा प्रणालीमा सुधार, सुशासन प्रवर्द्धन, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको क्षमता वृद्धि, एक वडा एक उद्यम कार्यक्रमलाई प्रवर्द्धन गरी रोजगारी र आयवृद्धि गर्ने कार्यक्रम समेत महानगरको प्राथामिकतामा छन् ।

काठमाडाैं महानगर क्षेत्रभित्र ध्वनि प्रदूषण कम गर्ने, सार्वजनिक यातायात व्यवस्थित गर्ने, महानगर क्षेत्रभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्त्व बोकेका मठ, मन्दिर, बहाल, पोखरी, हिटी, वहा: वही, ननी लगायत सम्पदास्थल संरक्षण र प्रवर्द्धनमा समेत बजेट राखिएको छ ।

नीति तथा कार्यक्रम कस्तो ?

आइतबार नै नगरसभामा मेयर बालेन्द्र (बालेन) साहले काठमाडौं महानगरपालिकाको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले काठमाडौंको ऐतिहासिकता, सांस्कृतिक सम्पदा र सहरी सभ्यताको त्रिवेणीबाट आगामी आवको नीति तथा कार्यक्रम तर्जुमा गरिएको बताए ।

परिवर्तित परिवेश र काठमाडौंवासीको उत्कृष्ट चाहना सम्बोधन गर्ने लक्ष्य राखी तयार गरिएको समेत उल्लेख गरे । काठमाडौं महानगरलाई समावेशी, सुशासनयुक्त, प्रविधिमैत्री, सुरक्षित, वातावरणमैत्री र नवप्रवर्तनमुखी स्मार्ट सहरमा रूपान्तरण गरिने उनको भनाइ छ ।

स्थानीय उत्पादन, रोजगारी, उद्यमशीलता र लगानीमैत्री वातावरण प्रवर्द्धन गर्दै समावेशी आर्थिक विकासको आधार सुदृढ गरिने घोषणा उनले गरे । एक वडा एक उत्पादन नीति लिइने बताए । सामुदायिक विद्यालयमा स्पोर्ट्स एकेडेमी, डिजिटल कक्षा, एसटीईएम शिक्षा र उद्यमशीलता क्लब स्थापना गरिने बताए ।

अपाङ्गता, अटिज्म र फरक क्षमता भएका विद्यार्थीका लागि विशेष शिक्षण केन्द्र र पहुँच अनुकूल पूर्वाधार निर्माण गरी समग्र शैक्षिक सुधारका लागि कार्यक्रम ल्याउने घोषणा मेयर साहले गरे ।

आधारभूत स्वास्थ्य सेवा सर्वसुलभ, गुणस्तरीय र प्रविधिमैत्री बनाइ सबै नगरवासीसम्म पुर्‍याइने उनले बताए । काठमाडौं महानगरको मौलिक कला, संस्कृति, भाषा र सम्पदा संरक्षण, पुनर्स्थापना तथा नवप्रवर्तन मार्फत डिजिटल प्रविधि उपयोग, सामुदायिक सहभागिता, लाइभ हेरिटेज अनुभव, रात्रिकालीन पर्यटन र वातावरणमैत्री जस्ता कार्यक्रम मार्फत पर्यटकीय पूर्वाधार प्रवर्द्धन गरिने उनले बताए ।

दिगो, समावेशी र प्रविधिमैत्री सहरी पूर्वाधार निर्माणका लागि डिजिटल नक्सांकन, सेवा बिन्दुहरूका लागि आफ्नै पूर्वाधार, स्मार्ट सडक तथा ट्राफिक प्रणाली, खुला चोक र पैदलमैत्री क्षेत्र विकास, भूमिगत तथा एकीकृत सञ्चार प्रणाली विस्तार, स्मार्ट स्ट्रिट लाइट जडान, साना सहरी पार्क निर्माण, नवीनतम निर्माण प्रविधि प्रयोग गरिने उनको भनाइ छ ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?