+
+
Shares

५ ‘अपाच्य गीत’विरुद्ध प्रतिष्ठानले पनि दियो साइबर ब्युरोमा उजुरी

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २९ गते २०:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले समाजमा अपाच्य हुने ५ गीतलाई लिएर नेपाल प्रहरीको साइबर ब्युरोमा कानूनी कार्वाहीको माग गर्दै उजुरी दिएको छ।
  • प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरले उजुरी दिइएका गीतको नाम खुलाइनन् र प्रहरीलाई युट्युब लिंकसहित जानकारी दिइएको बताइन्।
  • प्रतिष्ठानले गृहमन्त्री रमेश लेखक र प्रहरी प्रमुखलाई भेटेर ध्यानाकर्षण गराएको र प्रहरीले कानूनी प्रक्रिया अनुसार अघि बढ्ने जनाएको छ।

काठमाडौं । ‘समाजमा अपाच्य हुने’ ५ गीतलाई कानूनी कार्वाहीको माग गर्दै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले नेपाल प्रहरीको साइबर ब्युरोमा आइतबार उजुरी दिएको छ ।

प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरसहितका अन्य पदाधिकारी तथा संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी ब्युरो पुगेर उजुरी दिएका हुन् ।

गीतको युट्युब लिंकसहित प्रहरीलाई यसबारे जानकारी दिइएको अध्यक्ष थापाले बताइन् । उनले उजुरी दिइएका गीतको नाम भने खुलाइनन् ।

‘पर्व विशेष गीत वा अन्य लोकगीतका नाममा सामाजिक मर्यादा, सहिष्णुता एवं मूल्य मान्यतालाई समेत खलल पुर्‍याउने प्रकृतिका गीत विभिन्न युट्युब च्यानल लगायतका डिजिटल प्लाटफर्ममार्फत प्रकाशन तथा प्रसारण भइरहेको जानकारी गराउँदै उल्लेखित गीतहरुको सन्दर्भमा छानविन गरि आवश्यक कानूनी कारबाहीका निम्ति निवेदन अनुरोध छ’ उजुरीमा भनिएको छ ।

धेरैपटक सम्झाउँदा पनि नमानेपछि आफूहरू ती गीतविरुद्ध साइबर ब्युरोमा जान बाध्य भएको अध्यक्ष थापाले बताइन् । ‘नयाँ नयाँ भाइबहिनीले सस्तो लोकप्रियता र कमाइ हुन्छ भन्ने हिसाबले उच्छृङ्लता पस्किन माहिर भएर आउनुभयो । सम्झाउँदा मान्नुभएन’ थापाले भनिन् ।

प्रतिष्ठानले शुक्रबार गृहमन्त्री रमेश लेखक र प्रहरी प्रमुखलाई भेटेर यसबारे ध्यानाकर्षण गराएको थियो । भेटमा गृहमन्त्री लेखकले कलाक्षेत्रसँगको साइबर अपराध हेर्ने गरि फोकल पर्सन तोक्न मातहतका निकायलाई निर्देशन दिएका थिए । प्रहरी प्रमुखले पनि गीतसंगीतको विकृति रोक्न साइबर ब्युरोमा उजुरी दिन भनेका थिए ।

आफूहरूको निवेदन बुझ्दै प्रहरीले कानूनी प्रक्रिया अनुसार अघि बढ्ने बताएको अध्यक्ष थापाको भनाई छ । आइतबार मात्रै लोकसंचारकर्मी नेपालले पनि ३ गीतविरुद्ध साइबर ब्युरोमा उजुरी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?