+

काभा च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गर्ने हेल्प नेपालको लक्ष्य

२०८२ असार  ३० गते २२:०० २०८२ असार ३० गते २२:००
काभा च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गर्ने हेल्प नेपालको लक्ष्य

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालको च्याम्पियन टोली हेल्प नेपाल स्पोर्ट्स क्लब माल्दिभ्समा हुने काभा मेन्स च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्न गएको छ।
  • काभा मेन्स च्याम्पियन्स लिगमा नेपाल, श्रीलंका, माल्दिभ्स, काजाखस्तान र कीर्गिस्तानका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्नेछन्।
  • काभा च्याम्पियन्स लिगको विजेता टोलीले एसियन क्लब भलिबल प्रतियोगिता खेल्न पाउनेछ ।

३० असार, काठमाडौं । माल्दिभ्समा यही जुलाई १७ देखि २३ सम्म (साउन १-७ गते) आयोजना हुने काभा मेन्स च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्न नेपालको च्याम्पियन टोली हेल्प नेपाल स्पोर्ट्स क्लब सोमबार माल्दिभ्स प्रस्थान गरेको छ ।

सुबास कुँवरको कप्तानीमा रहेको हेल्प नेपाल स्पोर्ट्स क्लबले उच्च मनोबलका साथ पहिलो पटक विदेशमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न गएको हो ।

नेपाल देखि पाकिस्तान सम्मका चर्चित खेलाडीहरू टिममा राखेर घरेलु भलिबल खेल्दै आएको हेल्प नेपाल नेपालकै चर्चित भलिबल क्लब हो ।

नेपाल भलिबल संघ (एनभीए)ले आयोजना गरेको प्रधानमन्त्री कप एनभीए राष्ट्रिय भलिबल लिगको च्याम्पियनको हैसियतले हेल्प नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) ले आयोजना गर्ने च्याम्पियन क्लबहरूको प्रतियोगिता काभा मेन्स च्याम्पियन्स लिगमा खेल्ने अवसर पाएको हो ।

काभा मेन्स च्याम्पियन्स लिगमा नेपालसहित श्रीलंका, माल्दिभ्स, काजाखस्तान, कीर्गिस्तानको च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्ने भलिबल संघले जनाएको छ ।

आयोजक राष्ट्रकै हैसियतमा माल्दिभ्सबाट दुई क्लबले सहभागिता जनाउने भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले जानकारी दिए ।

हेल्प नेपाल स्पोर्ट्स क्लबका अध्यक्ष बासुदेव श्रेष्ठले हेल्प नेपाल स्पोर्ट्स क्लबले एक दशक देखि नेपाली भलिबलमा योगदान गर्दै आएको र विदेशी कोर्टमा गएर नेपालको झण्डा फहराउन तयार रहेको बताए ।

सन्तुलित टोली

हेल्प नेपाल स्पोर्ट्स क्लबमा सधैं उत्कृष्ट खेलाडीहरूले खेल्दै आएका छन् । घरेलु भलिबलमा समेत एक खालको दबदबा नै बनाएको हेल्प नेपालले काभा च्याम्पियन्स लिगको लागि समेत उत्कृष्ट टिम बनाएको छ ।

तीन विदेशी खेलाडीसहित १३ सदस्यीय सन्तुलित टिम बनाएर हेल्प नेपाल माल्दिभ्स गएको छ ।

एनभी लिग जित्दाका केही खेलाडी टिममा नभएपनि हेल्प नेपालले काभा च्याम्पियन्स लिगका लागि नेपाल पुलिस क्लबका रविन चन्द, सफल विक, रविन नगरकोटी, एपीएफका लिबेरो विनोद बहादुर चन्द जस्ता खेलाडीहरू अनुबन्ध गरेको छ ।

यस्तै एनभीएल खेल्दाका विदेशी खेलाडीहरूको स्थानमा यस पटक हेल्प नेपालले मुराद जेहान, उस्मान फर्‍याद अली र मोहम्मद कासिफ नाभिदलाई अनुबन्ध गरेको छ । यी तीनै खेलाडी पाकिस्तानबाटै माल्दिभ्समा गएर टिममा सामेल हुने हेल्प नेपाल स्पोर्ट्स क्लबले जनाएको छ ।

हेल्प नेपाल स्पोर्ट्स क्लबका मुख्य प्रशिक्षक उत्सव खड्काले पनि यस पटक टिम सन्तुलित रहेको र उत्कृष्ट प्रदर्शन गर्ने बताए ।

‘विभागीय टिमबाट आउनुभएका खेलाडीहरू, इन्डियन आर्मीबाट छुट्टी मिलाएर आउनुभएका याम क्षेत्रीहरू हुनुहुन्छ । सबैले टिमलाई माया गरिनुहुनभएको छ’ प्रशिक्षक खड्काले भने ।

उनले सहभागी टिमहरूमध्ये काजखस्तानको क्लब केही बलियो देखिएको र हामीले त्यही अनुसार रणनीति बनाएर खेल्नुपर्ने बताए । ‘त्यहाँ पाँच राष्ट्रका क्लबहरूले सहभागिता जनाउँदैछ । माल्दिभ्स होस्ट कन्ट्रीबाट दुई टिम सहभागी हुँदैछ । हाम्रो लागि बलियो देखिएको विपक्षी काजखस्तानको टिम हो’ हेल्प नेपालले आइतबार गरेको बिदाई कार्यक्रममा खड्काले भने, ‘हिजो मात्र मैले एउटा भिडियो पाएको थिएँ । दुई महिना अघि उनीहरूले लिग खेलेको रैछ । त्यो भिडियो हेर्दा हाम्रो टिम पनि बलियो देखिएको छ।’

गत वर्ष काठमाडौंमै भएको काभा क्लब भलिबल च्याम्पियनसिप समेत खेलेको हेल्प नेपालले लगातार नेपालको च्याम्पियन बनेर काभा च्याम्पियन्स लिग खेल्न लागेको हो । त्यसबेला भारत र इरान इरानबाट पनि टिम सहभागी थियो । जहाँ हेल्प नेपाल उपविजेता बनेको थियो ।

हेल्प नेपाल फाइनलमा भारतको टिम क्यालिकट हिरोजसँग पराजित भएको थियो । उद्घाटन खेल्मा क्यालिकट हिरोजलाई ३-२ को सेटमा हराएको हेल्प नेपाल फाइनलमा भने सोही टिमसँग ३-१ को सेटमा पराजित भएको थियो ।

‘गत वर्ष भारत र इरान जस्ता राष्ट्रका उत्कृष्ट टिम थियो । यस पटक उनीहरू सहभागी छैन । त्यही भएर हामीले गेम जित्ने सम्भावना धेरै छ’ प्रशिक्षक खड्काले भने, ‘हामी सबै मिलेर एनालाइज गरेर हामी रणनीति बनाएर खेल्छौं । जित सम्भव छ । खेलाडीहरूले पनि मोटिभेट भएर खेलिदिनु होला ।’

नेपालका लागि डेढ दशक भन्दा बढी समय खेलेका र डेढ दशक कप्तानी नै गरेका हाल नेपाल भलिबल संघका उपाध्यक्ष रहेका भरत शाहले हेल्प नेपाल स्पोर्ट्स क्लबले काभा च्याम्पियन्स लिगमा क्लब मात्र नभई देशकै प्रतिनिधित्व गर्ने बताउँदै उत्कृष्ट नतिजा ल्याउन टिम तयार रहेको बताएका थिए ।

च्याम्पियन टिमले एसियन क्लब प्रतियोगिता खेल्न पाउने

यस पटक काभा च्याम्पियन्स लिग भलिबल हेल्प नेपालसहित सहभागि सबै क्लबको लागि महत्वपूर्ण हुनेछ । मध्य एसियाको यस प्रतियोगिताबाट विजेता बन्ने टोलीले एसियाली स्तरमै खेल्न पाउने छ ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दका अनुसार काभा च्याम्पियन्स लिगको विजेता टोलीले एसियन क्लब भलिबल प्रतियोगिता खेल्न पाउनेछ ।

त्यसैले हेल्प नेपालका लागि काभामा उत्कृष्ट प्रदर्शन गर्दै एसियन लेभलमा समेत पुग्ने अवसर हुनेछ ।

यदि हेल्प नेपालले काभा च्याम्पियन्स लिग जित्दै एसियन क्लब भलिबलमा पुग्न सके त्यो नेपाली भलिबलमै ऐतिहासिक हुने अध्यक्ष चन्दले बताएका छन् ।

हेल्प नेपाल स्पोर्ट्स क्लबको टोली
सुवास कुँवर (कप्तान)
विष्णुबहादुर क्षेत्री
सफल विक
चिरन्जिवि खड्का
विनोद बहादुर चन्द
याम बहादुर भण्डारी
मनिष मानन्धर
सन्तोष राई
रविन चन्द
रविन नगरकोटी
मुराद जेहान
उस्मान फर्‍याद अली
मोहम्मद कासिफ नाभिद

अफिसियलहरू
कोच : उत्सव खड्का
सहायक कोच : सुजन केसी
सहायक कोच : साजन कुमार उपाध्याय
टिम म्यानेजर : झम्क नारायण श्रेष्ठ
रेफ्री : विकास गुरुङ

काभा च्याम्पियन्स लिग हेल्प नेपाल स्पोर्ट्स क्लब
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय