News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली नायिका शुभेच्छा खड्का एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणको अफिसियल प्रिजेन्टर र अक्सनर नियुक्त भएकी छन्।
- आयोजक ईन्फिनिटी ड्रिम्सले भदौ २० देखि २८ गतेसम्म सञ्चालन हुने लिगमा खड्काको सहभागिताले महिला सशक्तिकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।
- शुभेच्छा खड्काले आफू उत्साहित रहेको बताउँदै सिजनभरि साइडलाइनदेखि एक्सक्लुसिभ जानकारी लिएर आउने बताएकी छन्।
३२ असार, काठमाडौं । नेपाली नायिका तथा मोडल शुभेच्छा खड्का एभरेष्ट महिला भलिबल लिग (ईडब्लुभिएल) को अफिसियल प्रिजेन्टर नियुक्त भएकी छन् ।
आयोजक ईन्फिनिटी ड्रिम्सले कला क्षेत्रको चर्चित नाम खड्कालाई लिगको दोस्रो संस्करणको लागि अफिसियल प्रिजेन्टरको रुपमा नियुक्त गरेको हो ।
यस क्रममा खड्काले ईडब्लुभिएलको दौरान हुने सम्पूर्ण गतिविधिदेखि खेलाडी अक्सनरको रुपमा समेत काम गर्नेछिन् । उनी नेपाली भलिबलमा पहिलो महिला अक्सनरको रुपमा समेत रहनेछन् ।
नेपालको मात्र नभएर एसियाकै पहिलो महिला फ्रेन्चाइज लिगको रुपमा रहेको ईडब्लुभिएलको दोस्रो संस्करण आगामी भदौ २० देखि २८ गतेसम्म सञ्चालन हुँदैछ । त्यसको लागि खेलाडी अक्सन साउन २ गते काठमाडौंमा हुनेछ ।
नेपाली मनोरञ्जत जगतमा कलाकार, मोडल, कार्यक्रम प्रस्तोता, टिभी होस्टको रुपमा छुट्टै छाप बनाइसकेकी शुभेच्छा खड्काको आबद्धताले ईडब्लुभिएलको प्रवर्दधनमा टेवा पुग्ने हाम्रो विश्वास छ ।
साथै खड्का सन् मिस नेपाल इन्टरनेसनल २०१२ र वर्ल्ड मिस युनिभर्सिटी नेपाल २०१७ समेत हुन् । उनले त्यस माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय रुपमा समेत चिनाएकी छन् ।
‘शुभेच्छा खड्कालाई इडब्लुभिएलको अफिसियल प्रिजेन्टरको रुपमा राख्न पाउँदा हामी खुशी छौँ । यो महिला शसक्तिकरणका लागि आयोजना गरिएको लिग हो र यसमा उहाँ जोडिँदा यसले अझ धेरै उचाई लिने विश्वास छ ।’
इडब्लुभिएलको दोस्रो संस्करणमा साविक विजेता कर्णाली यशविससहित काठमाडौं स्पाइकर्स, ललितपुर क्विन्स, चितवन शक्ति, मधेश युनाइटेड र पोखरा निन्जाले प्रतिस्पर्धा गर्नेछन् ।
ईडब्लुभिएलसँग जोडिएपनि कलाकार खड्काले आफू एकदमै उत्सहित रहेको बताएकी छन् । ‘नमस्ते नेपाल, म हुँ तपाईँको प्रिजेन्टर शुभेक्षा खड्का र भलिबल हो हाम्रो राष्ट्रिय खेल । एसियाकै पहिलो महिला भलिबल फ्रेन्चाइज लिग वात्सल्य एभरेष्ट महिला भलिबल लिगको अफिसियल प्रिजेन्टर हुन पाउँदा म एकदमै धेरै उत्साहित छु ।’ शुभेक्षाले भनिन् । ‘यस सिजन म साइडलाइन मात्र नभएर अक्सन देखि लकरुम सेलेब्रेसनसम्म एक्सक्लुसिभ जानकारी लिएर आउनेछु ।’
ईडब्लुभिएल लिग मात्र नभएर कोर्ट भित्र र कवर्ट बाहिर महिलाले लिड गर्ने माध्यम पनि रहेको खड्काले बताइन् ।
प्रतिक्रिया 4