
News Summary
Generated by OK AI. Editorially reviewed.- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालमै विद्युतीय गाडी निर्माण गर्नुपर्ने बताएका छन्।
- शर्माले विद्युतीय गाडीको मूल्य कम गर्न र व्यवस्थापनमा सहयोग पुर्याउन नेपालमा कारखाना खोल्न आह्वान गरेका छन्।
- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले सार्वजनिक यातायात सुधारका लागि प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने बताए।
३२ असार, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले अब विद्युतीय गाडीहरू नेपालमै बनाउनुपर्ने बताएका छन् ।
महानगर यातायात प्रालिको विद्युतीय बस सेवा शुभारम्भ कार्यक्रममा बोल्दै उनले पछिल्लो समय नेपालमा विद्युतीय गाडी (ईभी) को प्रयोग बढेर गएको बताउँदै नेपालमै कारखाना खोल्दा गाडीको मूल्य कम पर्ने र व्यवस्थापनमा समेत सघाउ पुग्ने बताए ।
उनले भने, ‘नेपालमा ईभी फ्याक्ट्री बनाउन पायौं भने स्पेयर्स पार्ट्स यही बन्ने र गाडीको मूल्य समेत सस्तो पर्छ । यसमा लगानी गर्न आह्वान गर्छु ।’
शर्माका अनुसार अब साना गाडीहरू प्रतिस्थापन गर्नुपर्छ । ‘विद्युतीय यातायात नेपालको परिप्रेक्ष्यमा महत्त्वपूर्ण छ । किनकि इन्धन आयातमा ठूलो रकम बाहिरिरहेको अवस्थामा यसलाई विस्तार गरियो भने बिजुलीको सदुपयोगसँगै अर्बौं रकम बाहिर जानबाट जोगिन्छ,’ उनले भने ।
उनले थपे, ‘सार्वजनिक यातायातमा महानगरले सुरु गरेको यो काम सकारात्मक छ । काठमाडौं सानो छ, पार्किङ गर्न समस्या छ । साना गाडीहरू हटाउनुपर्छ ।’
बिदाको दिन आफू महानगर यातायात चढ्ने गरेको बताउँदै उनले यातायात क्षेत्रलाई भरपर्दो, सुरक्षित, वातावरण मैत्री बनाउनुपर्ने बताए ।
कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले सार्वजनिक यातायात सुधारका लागि सरकारले बनाएका कार्यदलहरूका प्रतिवेदन त्यतिकै दराजमा थन्काइएकोप्रति असन्तुष्टि पोखे ।
उनले त्यस्ता प्रतिवेदनहरू कार्यान्वयनमा लगिए अहिले सार्वजनिक यातायातमा देखिएका धेरैजसो समस्या हल हुने दाबी गरे ।
अध्यक्ष स्वाँरले भने, ‘सार्वजनिक यातायात सुधार सुझाव प्रतिवेदन कार्यान्वयन गर्नुपर्छ । रुट परिवर्तनसँगै नीतिहरू पनि परिवर्तन गरिएन भने अस्वस्थ प्रतिस्पर्धा बढ्छ । त्यस्तो अस्वस्थ्य प्रतिस्पर्धा हटाउनुपर्छ होइन भने व्यवसायीहरूको लगानी डुब्छ ।’
प्रतिक्रिया 4