
३२ असार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा संसद जनताका आवाज मुखरित गर्ने र आवश्यक कानुन बनाउने थलो भएको बताएका छन् ।
बुधबार संसदीय मामिला पत्रकार समाज आवद्ध पत्रकारहरूसँग राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा उनले संसदको काम सरकार बनाउने पनि रहेको स्मरण गरे ।
‘वास्तवमा संसदको काम अर्को पनि छ, त्यो सरकार निर्माण गर्ने हो’ राष्ट्रपति पौडेलले भने, ‘संसदले सरकार निर्माण गर्ने व्यवस्था भन्दा अर्को विकल्पमा त्यस्तो केही छ कि भनेर सोच्न थालियो भने हामी जुन डेमोक्रेसीको कुरा गरिराख्या छौं, त्यसको रिभर्समा जान सक्छौं, त्यसको अर्कै पाटोतिर पुग्न सक्छौं, त्यो डेन्जर छ ।’ तर, यसबारे राष्ट्रपति पौडेलले थप व्याख्या गरेनन् ।
बरु नेपालमा प्रजातान्त्रिक अभ्यास कम भएको भन्दै उनले लोकतान्त्रिक पद्दति नै उत्तम व्यवस्था भएको बताए । उनका अनुसार नेपालले अवलम्बन गरेको वर्तमान व्यवस्था सबैले अपनत्व लिन सक्ने सन्तुलित व्यवस्था हो ।
‘…सन्तुलनको व्यवस्था हुनुपर्छ । सबै किसिमको सन्तुलन किनभने जनताका प्रतिनिधि महिला र दलितका सबैका प्रतिनिधि, सबैका प्रतिनिधिहरुको सत्तामा पहुँच हुने’ राष्ट्रपति पौडेलले नेपालले अवलम्बन गरेको व्यवस्थाको चर्चा गरे ।
तथापि, नेपालमा प्रजातान्त्रिक अभ्यास हुँदै आएको र कतिपय सन्दर्भमा अभ्यासमा पछाडि बताए । ‘यहाँ अलिकति डेमोक्रेसीको प्राक्टिस कम भइराख्या छ सबै कुरामा, हामी अभ्यासमा पनि पछाडि नै छौं, अनुभव पनि कम नै छ’ उनले भने ।
अभ्यास गर्दै अगाडि बढेको पनि उनले बताए । ‘यसले साच्चिकै जननिर्वाचित भएर साकार रुप, संस्थागत रुप लिएको छ । सन्तुलित व्यवस्था यही नै हो’ उनले भने ।
जनप्रतिनिधिले राष्ट्रिय आकांक्षा ख्याल गरेर जिम्मेवारी निर्वाह गर्नुपर्नेमा पनि राष्ट्रपति पौडेलको जोड छ । ‘अत्यावश्यक ऐन बनाउनेमा हुने ढिलासुस्तीले हाम्रो राष्ट्रिय आकांक्षा प्राप्तीमा अवरोध सिर्जना गर्छ’ उनले भने ।
संसदमा डेडलकको अवस्था आउन दिन नहुने उनको सुझाव छ । ‘संसदमा डेडलकको अवस्था आउन नदिन आवश्यक छलफल, सहमति र सहकार्य गर्नाले संसदीय गतिविधिलाई अझ जनमुखी बनाउँछ र संसदप्रति जनताको भरोसा जागृत गराउँछ’ राष्ट्रपति पौडेलले भने ।
यसो हुँदा संसदप्रति जनताको भरोसा जागृत गराउन सकिने राष्ट्रपति पौडेलको सुझाव छ ।
प्रतिक्रिया 4