+
+
Shares

घट्दैछ सिपको आयु, हतारोमा नयाँ पुस्ता

प्रविधिको विकाससँगै अधिकांश सिपको आयु घट्दो क्रममा रहेकोले विश्व बजारमै नयाँ पुस्तालाई थप चुनौती हुने बहस छेडिएका छन् । त्यसको लागि कसरी आउँदो पुस्तालाई तयार गर्ने भन्ने विषयमा काम भइरहेका छन् ।

कौशल काफ्ले कौशल काफ्ले
२०८२ साउन ५ गते २१:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अहिले (विशेषगरी प्रविधिको क्षेत्रमा) सिपको आयु करिब २.५ वर्षमा झरेको बताउँछ ।
  • पछिल्लो समय कम्पनीहरूले अबको पाँच वर्षमा कामदारलाई नयाँ सिप सिकाउने र पुराना सिपलाई सुधार्ने (रिस्किलिङ र अपस्किलिङ) मा ध्यान दिनेछन् ।
  • शिक्षाविद् मिनाक्षी दाहाल पनि सिपहरूको आयु पछिल्लो समयमा छोटिँदै गएकोले त्यहीअनुसार आफूलाई तयार गर्नुपर्ने बताउँछिन् ।

४ साउन, काठमाडौं । ‘नयाँ अध्ययनले भन्छ- कुनै पनि मान्छेसँग भएको स्किलको लाइफ (सिपको आयु) अहिले जम्मा ४ वर्ष मात्र हुन्छ । अलि पछि त कुनै पनि सिपको आयु यो भन्दा पनि घटेर दुई वर्ष मात्र हुन्छ,’ कांग्रेस महामन्त्री गगन थापाले हालसालै एउटा कार्यक्रममा बालेको भिडियो यतिबेला चर्चामा छ ।

थापाको आशय छ- अब सिपहरूको आयु घट्दो क्रममा रहेकोले नयाँ पुस्ता यसको चेपुवामा छ । आफूले पढाइ सक्दा-नसक्दै अध्यावधिक भइसकेको हुन्छ कि, सिकेको सिप कामै लाग्दैन । त्यसैले नयाँ पुस्तालाई पहिलाको तुलानामा झन् गाह्रो छ । यो पुस्तालाई हामीले बुझिदिनुपर्छ । माया गर्नुपर्छ ।

‘जन्मँदै हातमा फोन आयो, त्यसैले यिनलाई सजिलो छ भनिदिएर हुँदैन । झन् नयाँ चुनौतीहरू नयाँ पुस्तासँग छन् । त्यसैले अब के सिक्नेभन्दा पनि कसरी सिक्ने/सिकाउने भन्ने कुरा महत्वपूर्ण छ,’ थापा भन्छन् ।

विश्व बजारमा भने यस विषयमा धेरै अघिदेखि चर्चा/बहस हुँदै आएको हो । जस्तो, सन् २०१६ मा विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम) को एक सर्वेक्षणले भनेको थियो, ‘आगामी पाँच वर्षमा ३५ प्रतिशत सिपहरू पुराना भएर काम नलाग्ने हुनेछन् ।’ अर्थात्, आफूलाई समयानुकुल राख्न कर्मचारीले नयाँ सिप सिक्नुपर्छ ।

सन् २०२० मा कोभिड-१९ को प्रभाव पर्‍यो । यसले झन् संसारभर काम गर्ने तरिका बदलियो । त्यसबेला ठूला कम्पनीहरूले भने, ‘अब ५७ प्रतिशत सिपहरू बदलिन्छन्, किनभने अब धेरै कुरा अनलाइन र नयाँ प्रविधिमा गयो ।’ यद्यपि, सन् २०२३ मा यो अनुमान ४४ प्रतिशतमा झरेको छ । यो भनेको अझै पनि धेरै सिप बदलिन्छन्, तर कारोनाकालमा जस्तो अस्थिर भने छैन ।

विश्व आर्थिक मञ्चले संसारभरका अधिकांश कम्पनीसँग कुरा गरेर ‘भविष्यमा कामको अवस्था कस्तो हुन्छ’ भनेर सर्भे गर्ने गर्छ । यस सर्भेक्षणमा खासगरी कामका लागि चाहिने सिपहरू (जस्तैः कम्प्युटर/प्रविधि चलाउने, टिममा काम गर्ने, नयाँ कुरा सिक्ने आदि) को बारेमा अध्ययन गरिन्छ । यसकै ‘फ्युचर जब रिपोर्ट २०२३’ ले भन्छ, ‘काममा चाहिने सिपहरू छिट्टै बदलिँदैछन् र अबको पाँच वर्ष (२०२३-२०२७) मा धेरै कुरा फरक हुनेछ ।’

सोही प्रतिवेदनअनुसार पछिल्लो समय कम्पनीहरूले अबको पाँच वर्षमा कामदारलाई नयाँ सिप सिकाउने र पुराना सिपलाई सुधार्ने (रिस्किलिङ र अपस्किलिङ) मा ध्यान दिनेछन् । जस्तै, पहिला टाइप गर्न जान्ने भए पुग्थ्यो, अब सफ्टवेयर चलाउन, डेटा विश्लेषण गर्न वा नयाँ मेसिन चलाउन सिक्नुपर्ने हुनसक्छ । यसरी कुनै पनि सिपको आयु नयाँ प्रविधिको विकाससँगै क्रमशः घट्दै गएको र यसको चेपुवामा नयाँ पुस्ता परेको विषयमा विभिन्न अध्ययन भएका छन् ।

सिपहरूको आयु घट्दा पछिल्लो पुस्ता हतारमा बाँचिरहेको छ । यो हतारोले उनीहरूमा विभिन्न मानसिक समस्या देखिन सक्नेतर्फ सचेत गराउँछिन्, मनोविद् गंगा पाठक ।

‘डेलोइट इनसाइट्स-२०२१’ ले पनि सिपको आयु क्रमश: घट्दै गएको देखाउँछ । यस अध्ययनले केही दशकअघि धेरै सिपहरू वर्षौंसम्म उपयोगी हुन्थे, तर अहिले (विशेषगरी प्रविधिको क्षेत्रमा) सिपको आयु करिब २.५ वर्षमा झरेको बताउँछ । त्यसैले प्रविधिमा तीव्र परिवर्तनका कारण कामदारले आफ्ना सिपमा बारम्बार अपडेट गर्नुपर्छ । अब स्थिर ज्ञानभन्दा जीवनभर सिक्ने र नयाँ कुरामा अनुकुल हुने कुरामा जोड दिनुपर्ने निष्कर्ष उक्त अध्ययनको छ ।

यी सबै कारण अहिले कम्पनीहरूलाई कृत्रिम बुद्धिमत्ता, डेटा साइन्स र अन्य उन्नत कामका क्षेत्रमा गुणस्तरीय सिपयुक्त जनशक्ति भेट्न गाह्रो छ । भएकालाई पनि सोचेअनुरूप सोही गतिमा सिकाउन सकिएको छैन । त्यसैले डेलोइटले गरेको एक सर्वेक्षणमा ७२ प्रतिशत म्यानेजरले भनेका छन्, ‘भविष्यको उथलपुथल सामना गर्न रिस्किलिङ (नयाँ सिप सिकाउन) महत्वपूर्ण छ ।’

त्यसैले डेलोइटले सधैं नयाँ सिप सिक्ने इच्छा र क्षमता (लर्नेबिलिटी) लाई प्राथमिकता दिन सुझाव दिएको छ । आज कसैले सिकेको प्राविधिक सिप दुई-तीन वर्षमै पुरानो हुनसक्छ । त्यसैले, नयाँ कुरा सिकिरहनुपर्छ । ‘अब एकपटक डिग्री वा सिप सिकेर जीवनभर चल्दैन । हरेक नयाँ कुरामा अध्यावधिक रहनुपर्छ । नत्र काममा झन् पछाडि परिन्छ । नयाँ पुस्ताले यो दौडको लागि तयार रहनुपर्छ,’ डेलोइट इन्साइटमा भनिएको छ ।

यसरी सिपहरूको आयु घट्दा पछिल्लो पुस्ता हतारमा बाँचिरहेका छन् । यो हतारोले उनीहरूमा विभिन्न मानसिक समस्या देखिन सक्नेतर्फ सचेत गराउँछिन्, मनोविद् गंगा पाठक । यो पछिल्लो समयको एकदमै ठूलो चुनौती रहेको उनको भनाइ छ ।

‘अहिलेको पुस्तामा एकखालको अत्यधिक मोह नै छ । यो भनेको आफैँमा एउटा समस्या हो । यसले गर्दा उनीहरूको भित्री खुबीहरू मर्दै गएका छन् । सिर्जनशिलतालाई यो हतारोले खाइरहेको छ,’ पाठकले भनिन्, ‘तर यी कुरालाई स्वीकारेर उनीहरूलाई सही परामर्श दिनेतर्फ खासै काम भइरहेको छैन । अब ध्यान दिनुपर्ने कुरा यसमा हो । किनकि, यो आफैँमा गम्भीर समस्या बन्नेवाला छ ।’

शिक्षाविद् मिनाक्षी दाहाल पनि सिपहरूको आयु पछिल्लो समयमा छोटिँदै गएकोले त्यहीअनुसार आफूलाई तयार गर्नुपर्ने बताउँछिन् । उनका अनुसार पनि आज सिकेको सिप ६ महिना वा एक वर्षमै पुरानो हुनसक्छ, जसले नयाँ पुस्तालाई निरन्तर नयाँ कुरा सिक्न दबाब परिरहेको छ । यो दबाब विशेषगरी २०-३५ वर्षका उमेर समूहमा देखिन्छ, किनभने यो उमेरमा नयाँ सिप सिक्ने र लागू गर्ने आवश्यकता धेरै पर्ने उनले बताइन् ।

तर, हाम्रा विश्वविद्यालय र शैक्षिक संस्थाका पाठ्यक्रम पुरानो र समयसापेक्ष नभएको दाहालको बुझाइ छ । उनका अनुसार यी संस्थाहरूले सिकाउने तरिका र पाठ्यक्रमले विद्यार्थीलाई बजारको मागअनुसार तयार गर्न सकेको छैन ।

अर्कोतर्फ, सिप भन्नाले केवल ‘मेकानिकल वा प्राविधिक स्किल’ (जस्तैः गाडी बनाउने, मोबाइल मर्मत गर्ने) भन्ने आमबुझाइ छ । तर बौद्धिक सामाजिक-भावनात्मक र मुख्यगरी अनुकूलन क्षमता पनि महत्वपूर्ण हुने उनले बताइन् । उनको भनाइमा नयाँ कुरा सिक्ने र समयसापेक्ष रहने क्षमता नै आजको समयमा सबैभन्दा महत्वपूर्ण सिप हो । यिनै ‘जीवनकला’ नयाँ पुस्तालाई सिकाउन आवश्यक रहेको उनले बताइन् ।

त्रिविका पूर्वउपकुलपति तथा शिक्षाविद् केदारभक्त माथेमा पनि नयाँ पुस्ताले अब अनिश्चित भविष्यको लागि तयार रहनुपर्ने बताउँछन् । उनले सिपहरूको आयु छोटिँदै गएको र प्रविधिको तीव्र परिवर्तनले नयाँ पुस्तामा अनिश्चित अवस्थाको लागि आफूलाई अनुकुल गराउन सक्ने क्षमता विकास गर्न आवश्यक रहेको औँल्याए ।

‘आज जन्मेका बच्चाहरूले भविष्यमा गर्ने कामहरू अहिले नै अस्तित्वमा नहुन सक्छन् । उदाहरणका लागि, पहिलेका परम्परागत पेसाहरू (जस्तै, एकाउन्टेन्ट, रिसेप्सनिस्ट, अडिटर) हराउँदै छन्, र नयाँ प्रकारका कामहरू सिर्जना हुँदैछन् । त्यसैले, बालबालिकालाई अनिश्चित भविष्यका बारेमा बुझाउनुपर्छ,’ माथेमाले भने ।

माथेमाका अनुसार नयाँ पुस्तालाई स्थानान्तरणयोग्य सिप सिकाउनुपर्छ । यसको मतलब एउटा सिप सिकेपछि त्यसलाई अर्को क्षेत्रमा पनि प्रयोग सक्नेगरी तयार गर्नुपर्छ । आफ्नै उदाहरण दिँदै उनले आवश्यक पर्दा जुनै कुरा पनि सिक्न र गर्न सक्छु भन्ने गरी आफूलाई तयार गर्नुपर्ने बताए । जस्तो, उनले अंग्रेजी साहित्य पढे, तर त्यसपछि प्रशासन, नेतृत्व, कूटनीति, विश्व बैंक र अनुसन्धान जस्ता विविध क्षेत्रमा काम गरे । यो स्थानान्तरणयोग्य सीपको कारण सम्भव भएको उनी बताउँछन् । यदि कुनै व्यक्ति एउटा सिपमा मात्र सीमित भयो भने ऊ बजारको मागअनुसार अनुकूल नहुने उनको अनुभव छ ।

साथै माथेमाले शिक्षा प्रणालीमा ‘ब्रोड-बेस्ड’ शिक्षा (बहुपक्षीय शिक्षा प्रणाली) को आवश्यकता रहेको बताएका छन्, जसमा मानविकी, कला, र विज्ञानको संयोजन होस् । ‘सुरुमा बहुपक्षीय शिक्षा दिनुपर्छ, र पछि गएर विशिष्ट स्किलहरूमा केन्द्रित हुनुपर्छ, तर ती स्किलहरू स्थानान्तरणयोग्य हुनुपर्छ । अबको सिकाइ रणनीति यो बनाउन ढिला गर्नुहुँदैन,’ उनले भने ।

यसको लागि नेपालले सिंगापुर, हङकङ, जापान, बेल्जियम र अमेरिकाजस्ता देशहरूले उच्च शिक्षामा गरेका सुधारहरूबाट सिक्नुपर्ने सुझाव माथेमाको छ । उनका अनुसार यी देशहरूले नयाँ विश्वविद्यालयहरू खोल्दै समयसापेक्ष पाठ्यक्रम लागू गर्दैछन् । तर नेपालको शिक्षा प्रणाली ‘रेलको डिब्बा’जस्तो छ, जसभित्र सबैजना अन्धाधुन्ध बसिरहेका छौँ, बाहिर निस्केर रेलको दिशा र गति हेरेका छैनौं । त्यसैले अब यस्ता कुरामा सोच्न ढिला गरे नयाँ पुस्ता यसको मार्कामा पर्ने र विश्वबजारमा प्रतिस्पर्धात्मक हुन नसक्नेतर्फ माथेमा सचेत गराउँछन् ।

यसरी प्रविधिको विकाससँगै अधिकांश सिपको आयु घट्दो क्रममा रहेकोले विश्व बजारमै नयाँ पुस्तालाई थप चुनौती हुने बहस छेडिएका छन् । त्यसको लागि कसरी आउँदो पुस्तालाई तयार गर्ने भन्ने विषयमा काम भइरहेका छन् । फोर्ब्सले उल्लेख गरेअनुसार पनि पछिल्लो समय प्रयोगमा रहेका झन्डै आधा (४९ प्रतिशत) सिप सन् २०२५ भित्रै काम नलाग्ने हुन्छन् ।

त्यस्तै, एडएक्सको एआई सर्भेले गरेको एउटा सर्भेक्षणमा पनि ४७ प्रतिशत कम्पनीका कार्यकारीले आफ्ना कर्मचारी भविष्यको कामका लागि तयार नभएको ठान्छन् । सर्वेक्षणमा ती कार्यकारीले भनेका छन्, ‘आगामी पाँच वर्षमा ५६ प्रतिशत सुरुवाती चरणका जागिरहरू पनि जोखिममा पर्नेछन् । यसरी प्रविधिको विकाससँगै क्रमशः अब छिटोछिटो नयाँ प्रकारका जागिरहरू सिर्जना हुने र पुराना सिप अप्रासंगिक भइहाल्छ ।’

त्यसैले यी सबै कुरामा तयार रहन नेपालका शिक्षा प्रणाली र शिक्षण सिकाइमा आमुल सुधार गर्न ढिलो भइसकेको शिक्षाविद् माथेमा बताउँछन् । उनी भन्छन्, ‘विश्वव्यापीकरणको जमाना छ । बाहिरका प्रभाव हामीमा पर्न केहीबेर पनि लाग्दैन । त्यसैले अब आउँदो पुस्तालाई अनिश्चित भविष्यको लागि तयार गर्नुपर्छ । नत्र यो प्रतिस्पर्धात्मक अवस्था र ‘रस’ झेल्न हाम्रा युवालाई गाह्रो हुन्छ ।’

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?