+
+
Shares

निकटस्थ सांसदसँग शेखरले भने- सरकारको विकल्प खोजेको छैन

विद्या भण्डारी र प्रचण्डसँगको भेटबारे गरे ब्रिफिङ

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ४ गते २०:५१

४ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले चरणबद्ध रुपमा भेटघाट गरिरहेका छन् । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व राष्ट्रपतिलाई भेटेका कोइरालाले आइतबार आफू निकटका नेता र सांसदहरूसँग छलफल गरेका हुन् ।

आइतबार बिहान दुई चरणमा छलफल भएको उनी निकट नेताहरुले जानकारी गराएका छन् । बिहान बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको छलफलमा ९ जना थिए भने र दिउँसो १२ जनासँग छुट्टाछुट्टै छलफल गरेका हुन् ।

पार्टी नेताहरूका अनुसार कतिपय सांसद भने छलफलका लागि बोलाएपनि गएका थिएनन् । बिहानको भेटमा कृषिमन्त्री रामनाथ अधिकारी पनि सहभागी रहेका थिए ।

अधिकारीले बैठकबाट छिट्टै निस्केको जानकारी गराए । आफू निकटका नेता सांसदहरूसँग छलफल गर्न कोइरालाले सांसदहरूलाई दरबारमार्गस्थित होटल याक एण्ड यतीमा बोलाएका थिए ।

बिहानको छलफलमा सहभागी हृदयराम थानीका अनुसार कोइरालाले पूर्व राष्ट्रपति विद्या भण्डारी र माओवादी अध्यक्ष प्रचण्डसँग भएको भेटबारे ब्रिफिङ गरेका थिए । कोइरालाले धारणा बुझ्न आफूहरूलाई बोलाएको थानीले अनलाइनखबरसँग बताए ।

बैठकमा सहभागीहरुले सुशासनको पक्षमा थप सक्रिय भएर लाग्न कोइरालालाई सुझाव दिएको उनले सुनाए । कोइरालाले भेटघाट तीव्र बनाउँदा सरकारका विकल्प खोज्न लागिएको हो कि भन्ने आशंकाहरू पनि उठिरहेका छन् ।

संसदीय दलको नेता र सरकार परिवर्तनबारे कुनै कुरा नभएको थानीले दाबी गरे । उनले भने, ‘सरकारको विकल्पको खोज्ने बारे कुनै कुरा भएको छैन, खोज्नपनि हुँदैन भन्ने कुरा भएको छ, हामीहरुले पनि त्यही सुझाव दियौं ।’ बाहिर निराधार विषयहरु आइरहेको उनले बताए ।

कोइराला निकटका नेता गुरुराज घिमिरेका अनुसार चरणबद्ध रुपमा छलफल भइरहेको छ । उनका अनुसार, छलफलका मुख्य गरी दुई विषय छन् ।

पहिलो, सरकार सुशासनको नारासहित गठन गरिएको हुँदा साँत बुँदे कार्यान्वयनमा दबाब दिन ।

दोस्रो, पार्टीमा अनुशासन समितिले एकतर्फी कारबाही गरेकाले त्यसको सामूहिक प्रतिवाद गर्न ।

नेता घिमिरेका अनुसार सरकारलाई प्रभावकारी बनाउन र पार्टीभित्र सभापति शेरबहादुर देउवाको पेलानविरुद्ध बैठकहरू भइरहेका हुन् । घिमिरे भन्छन्, ‘सात बुँदेलाई यो सरकारले वास्ता गरेन ।पार्टीभित्र प्रदेश सरकारदेखि नियुक्तिमा एकपक्षीय निर्णय गरिएको छ । यी सबै विषयमा दबाब बढाउन छलफल गर्न आवश्यक रहेको हो ।’

यो क्रम बढ्दै संसदीय दलको नेता परिवर्तनदेखि सरकार परिवर्तनको पहलसम्म पुग्ने घिमिरेको दाबी छ। त्यसका लागि आवश्यक संख्या पुर्‍याउनकै लागि यी संवादहरू भइरहेको घिमिरे बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?