
५ साउन, जनकपुरधाम । महोत्तरीको महोत्तरी गाउँँपालिका १ पर्साका २८ वर्षीय शनी भनिने विमलेश यादवको हत्याको कारण विवाहेत्तर सम्बन्ध भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
यादवको शनिबार राति जनकपुरको होटल एसपी एण्ड गेष्टहाउसमा छुरा प्रहार गरी एक तलाबाट खसालेर हत्या भएको र हत्यामा उनकै केटी साथी संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको हो ।
शनिबार राति ९ बजेर ५५ मिनेटमा यादव एक युवतीसहित होटेलमा पसेको सिसीटिभी फुटेजमा देखिन्छ । त्यसको करिब ५ घण्टापछि अर्थात् आइतबार बिहान २ बजेर ५७ मिनेटमा यादव नग्न र रक्ताम्य अवस्थामा होटलको पहिलो तलाबाट खसेको देखिन्छ । त्यसको पाँच मिनेटपछि युवती तल ओर्लेर दायाँबायाँ, तलमाथि हेर्दै खसेका युवकको छेउबाट भागेको दृश्य सिसिटीभी क्यामेरामा कैद छ ।
केहीबेरपछि प्रहरीहरु आएर घाइते यादवको बयान लिन्छन् । प्रहरीलाई बयान दिइसकेपछि यादव आफैं हिँडेर एम्बुलेन्स चढेको सिसिटीभी क्यामेरामा प्रष्ट देखिन्छ । आइतबार बिहान ७:४५ बजे प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा यादवको मृत्यु भएको थियो ।
यो घटनामा संलग्न भएको भन्दै धनुषा प्रहरीले महोत्तरीकै बलवा नगरपालिकाकी अन्दाजी २४ वर्षीया युवती जुली झालाई आइतबार दिउँसो पक्राउ गरेको छ । धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले घटनाबारे अनुसन्धान भइरहेको अनलाइनखबरलाई जानकारी दिए ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार सिसिटिभी फुटेजका आधारमा जुलीमाथि नै अनुसन्धान केन्द्रित छ । ‘योजनाबद्ध तरिकाले नै हत्या गरेको हुनसक्ने हाम्रो प्रारम्भिक अनुमान छ,’ प्रहरी स्रोतले भन्यो ।
विमलेश र जुलीबीच भेटघाट/कुराकानी नगर्ने सहमति भएको थियो
विमलेश दुई सन्तानका बुवा हुन् । तर उनी र जुलीबीच ३ वर्षभन्दा अघिदेखि निकट सम्बन्ध थियो । उनीहरुको सम्बन्धबारे दुवै परिवारका सदस्य जानकार रहेको एक आफन्तले बताए ।
ती आफन्तले अनलाइनखबरसँग भने, ‘दुई वर्षअघि उनीहरुबीच मोबाइल फोनमा कुराकानी हुने गरेको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी पर्यो । त्यसपछि दुवै पक्षले आ–आफ्ना छोराछोरीको मोबाइल नम्बर परिवर्तन गर्ने र कुराकानी नगर्ने लिखित सहमति पनि भएको थियो ।’
विमलेश वैदेशिक रोजगारीका लागि विदेश गए तर उनीहरुबीच कुराकानी जारी रह्यो । विमलेशले कमाएको केही रकम पनि जुलीलाई पठाउने गरेको ती आफन्त सुनाउँछन् । उनी भन्छन्, ‘विमलेश दुईपटक वैदेशिक रोजगारीमा जाँदा कमाएको रकम जुलीलाई पठाएको करिब २७ लाखको भौचर सुरक्षित छ ।’
विमलेशले विदेशबाट पठाउँथे रकम, त्यसैमा भयो खटपट
दुई वर्ष अघि कतार गएका विमलेश ६ महिना अघि मात्र फर्केका थिए । उनीहरुबीच अब भेटघाट कुराकानी नगर्ने भनेर पनि कुरा चलेको थियो । जुली आफैंले छुट्टिने कुरा गरेकी थिइन् । तर यस विषयमा उनीहरुबीच खटपट भयो ।
‘जुलीले छुट्टिने कुरा गर्दा विमलेशले मैले तिम्रो लागि खर्च गरेको र विदेशबाट पठाएको रकम फिर्ता गर्न भने । यस विषयलाई लिएर उनीहरुबीच खटपट पनि भयो,’ पारिवारिक स्रोतले भन्यो ।
जुली र आफन्तसँग गरिएको सोधपुछ, घटनास्थलबाट प्राप्त प्रमाणसमेतका आधारमा जुलीमै केन्द्रित भएर अनुसन्धान गरिरहेको प्रहरी स्रोत बताउँछ ।
विमलेशका आफन्तहरुले भने होटलको सिसिटीभी १७ सेकेण्ड बन्द भएको भन्दै अनुसन्धानको दायरा फराकिलो बनाउन माग गरेका छन् ।
प्रतिक्रिया 4