+

पब्जी विश्वकप खेल्न साउदी अरेबिया जाँदै होरा इस्पोर्ट्स, उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य

२०८२ साउन  ५ गते १६:१६ २०८२ साउन ५ गते १६:१६
पब्जी विश्वकप खेल्न साउदी अरेबिया जाँदै होरा इस्पोर्ट्स, उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालको चर्चित पब्जी टिम होरा इस्पोर्ट्स साउदी अबरियामा आयोजना हुने इस्पोर्ट्स विश्वकपमा सहभागी हुँदैछ।
  • होरा इस्पोर्ट्सले जुलाई २५ देखि अगष्ट ३ सम्म चल्ने पब्जी मोबाइल विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ।
  • इस्पोर्ट्स विश्वकपमा २४ टिम प्रतिस्पर्धा गर्नेछन् र पहिलो हुनेले ५ लाख अमेरिकी डलर पुरस्कार पाउनेछन्।

५ साउन, काठमाडौं । साउदी अरेबियामा आयोजना हुने इस्पोर्ट्स विश्वकपमा पब्जी विश्वकपतर्फ सहभागिता जनाउन लागेको नेपालको चर्चित पब्जी टिम होरा इस्पोर्ट्स पब्जी विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।

इस्पोर्ट्स विश्वकप जुलाई ८ देखि साउदीको रियादमा सुरु भइसकेको छ । अगष्ट २४ सम्म चल्ने उक्त विश्वकपमा पब्जी मोबाइलको विश्वकप जुलाई २५ देखि अगष्ट ३ सम्म हुनेछ । त्यसमा नेपालबाट सहभागिता जनाउने होरा इस्पोर्ट्स एक्लो टिम हो ।

होरा इस्पोर्ट्सलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, इशानका अध्यक्ष अन्जन धमला लगायतले सोमबार राष्ट्रिय खेलकुद परिषदको कार्यलयमा आयोजित कार्यक्रममा बिदाई गरे ।

राष्ट्रिय खेफकुद परिषदका सदस्य सचिव घिसिङले ई स्पोर्ट्स खेलमा नेपालले पछिल्लो समय राम्रो सम्भावना देखाएको उल्लेख गर्दै नेपाली टिमलाई विजेता बनेर आउन शुभकामना दिए । उनले विदेशी भुमीमा नेपालको प्रतिनिधित्व गर्दै टिम तथा खेलाडीहरुले राम्रो प्रर्दशन गर्ने विश्वास ब्यक्त गरेका थिए । संघका अध्यक्ष अन्जन धमलाले ई स्पोर्ट्सको अन्तराष्ट्रिय नतिजाका लागि सक्दो सहयोग गर्न आफुहरु तयार रहेको बताएका थिए ।

होरा इस्पोर्ट्सका ओनर तथा सञ्चालक सञ्जन गौतम (सिआर सेभेन होरा) ले पहिलो पटक पब्जी विश्वकप खेल्न जान टोली उत्साहित रहेको बताए । ‘छनोट चरण पार गरेर पब्जी विश्वकपसम्म पुगेका छौँ । अब विश्वकपा पनि उत्कृष्ट प्रदर्शन गर्दै नेपालको झण्डा फहराउने लक्ष्य छ ।’

यस्तै खेलाडीहरुले पनि उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन् । टिममा आकाश राई, शीतल राई, सुप्रिम अधिकारी, उगेन छोपेल लामा, प्रवेश गुरुङ र आयुष लामा छन् । जसमध्ये चार खेलाडीले खेल्नेछन् दुई जना वैकल्पिक हुनेछन् । यस्तै अफिसियलमा सञ्जन गौतम, नवराज श्रेष्ठ र उमेश बुढ्थापा छन् ।

असारमा कजाकस्तानमा भएको पीएमएसएल सिएसए (सेन्ट्रएल एण्ड साउथ एसिया) को दोस्रो स्थानमा रहँदै होराले पब्जीको विश्वकपमा स्थान बनाएको हो । कजाकस्तानमा भएको पीएमएसएस सिएसमा नेपालमा होरासहित डिआरएस गेमिङ र ट्राइम एरोमेसी (एएसटी) गरी तीन टिमले सहभागिता जनाएको थियो ।

तर नेपालबाट होरा मात्र दोस्रो हुँदै पब्जी मोबाइल विश्वकपमा पुग्न सफल भयो । अन्तिम चरणबाट ३ टिम मात्र विश्वकपमा छनोट हुने प्रावधान अनुसार च्याम्पियन मंगोलियाको अल्फा गेमिङ, होरा र पाकिस्तानको टिम पब्जी विश्वकपमा छनोट भएको हो ।

पब्जी मोबाइल विश्वकपमा विश्वभरबाट छानिएर आएका उत्कृष्ट २४ टिमले प्रतिस्पर्धा गर्नेछन् । सहभागी २४ टिमलाई तीन समूहमा विभाजन गरेर समूह चरणको प्रतिस्पर्धा गराइनेछ । यसबाट शीर्ष ८ टिम सिधै ग्राण्ड फाइनलमा प्रवेश गर्नेछन् । यस्तै बटमका १६ टिमले दोस्रो स्टेजमा सर्भाइभल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् ।

सर्भाइभल स्टेजबाट पनि शीर्ष ८ टिम ग्राण्ड फाइनलमा पुग्नेछन् । ग्राण्ड फाइनलमा कूल १६ टिमले प्रतिस्पर्धा गर्नेछ र सबैभन्दा धेरै अंक जोड्ने टिम पब्जी मोबाइल च्याम्पियन बन्नेछ ।

पब्जी मोबाइलको कुल प्राइज पुल ३० लाख अमेरिकी डलर रहेको छ । जसमा पहिलो हुनेले ५ लाख अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् ।

इस्पोर्ट्स विश्वकपमा ७० मिलियन अमेरिकी डलर भन्दा धेरै पुरस्कार राशी रहेको छ । अघिल्लो पटक पुरस्कार राशी ६२.५ मिलियन अमेरिकी डलर थियो ।

यसपटक इस्पोर्ट्स विश्वकपमा पब्जी मोबाइलसहित विभिन्न २५ खेलको २६ इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।

फुटबल स्टार क्रिस्टियानो रोनाल्डो इस्पोर्ट्स वर्ल्ड कपको ब्राण्ड एम्बासडरमा बनेपछि अहिले यसको चर्चा बढिरहेको छ ।

होरा इस्पोर्ट्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय