
६ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले कुलिङ पिरियडमा सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेलाई कुलिङ अफ रिपरियडबारे पार्टीको धारणा के हो स्पष्ट गर्न आग्रह गरेको छ ।
मंगलबार राष्ट्रिय सभामा पार्टीको तर्फबाट विशेष समय लिएर बोल्दै सांसद रेणु चन्दले सरकारी कर्मचारीलाई अवकाशपछि २ वर्ष संवैधानिक, कुटनीतिक वा अन्य नियुक्ति दिने सम्बन्धी कुलिङ पिरियडको प्रावधानमा एमाले एकमत रहेको महसुस हुन नसकेको बताएकी हुन् ।
‘यही रोष्ट्रमबाट केही दिन अगाडि सूचना प्रविधि तथा सञ्चारमन्त्रीले निजामती विधेयक पेस गर्दा भन्नुभयो– भाइरस पस्यो । राष्ट्रिय सभाले ठीक गरिदिन्छ भन्ने विश्वास व्यक्त गर्नुभयो’ चन्दले स्मरण गरिन् ।
प्रतिनिधिसभाबाट पारित भएर गएको निजामत सेवा विधेयक सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ३१ असारमा राष्ट्रिय सभामा पेश गरेका थिए । त्यसक्रममा उनले कुलिङ पिरियडको पक्षमा वकालत गरेका थिए ।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा कुलिङ पिरियडको अवधिबारे बहस हुँदा सुरुमा एक वर्ष राख्ने कि दुई वर्ष राख्ने भन्ने बहस भएको उनले स्मरण गरेका थिए ।
अन्तिममा २ वर्ष कुलिङ अफ पिरियड राख्ने गरी राज्य व्यवस्था समितिले अगाडि बढाएको स्मरण गर्दै मन्त्री गुरुङले भनेका थिए, ‘तर त्यहाँ एक्सिडेन्ट भयो । भाइरस पस्यो भन्नु पर्यो । त्यो भाइरसलाई फाल्ने काम यो राष्ट्रिय सभाको हो ।’
सञ्चारमन्त्री गुरुङको यही अभिव्यक्तिमा टेकेर माओवादी सांसद चन्दले एमालेमा कुलिङ पिरियडलाई लिएर एकमत नरहेको शंका लागेको बताएकी हुन् ।
‘सम्माननीय प्रधानमन्त्रीको पार्टीको माननीयज्यूहरूले कुलिङ अफ पिरियडबारे जो संशोधन राख्नुभएको छ । यो भाइरस अब कताबाट पस्योे भन्ने बुझ्न गाह्रो भएन,’ चन्दले भनिन् ।
एमाले पार्टीभित्र कतिपय विषयमा एकमत नरहेको भन्ने आउन थालेको उल्लेख गर्दै उनले कुलिङ पिरियडमा पनि यस्तै भएको हो कि भन्ने शंका दोहोर्याइन् ।
‘एमाले पार्टीमा अहिले अलिकति लाइनक्रस कुराकानी चलिरहेको हुनाले यहाँ (निजामती विधेयक) प्रस्तुत गर्ने मन्त्रीको लाइन र संशोधन हाल्ने माननीयको लाइन मिलेनछ कि क्या हो ? त्यसैले यहाँ फरक पर्यो ?’ चन्दको प्रश्न छ ।
यसलाइ अझ प्रधानमन्त्रीसँगै जोडेर हेर्नुपर्ने उनको भनाइ छ ।
‘त्यही पार्टीको मन्त्रीले यहाँ सुधार्नुपर्यो भन्छ । त्यही पार्टीका माननीयज्युहरूले अलग तरिकाले संशोधन हाल्नुहुन्छ । त्यसैले यो भाइरसलाई गुट ब्याक्टेरिया बुझेर कन्फ्युज त हुनुभएन माननीयज्यु ?’ उनले प्रश्न गरिन् ।
प्रतिक्रिया 4