+
+
Shares

बीपी प्रतिष्ठानको जग्गा दाबी गर्दै हर्कले लेखे अमर्यादित भाषामा स्वास्थ्य मन्त्रालयलाई पत्र

बुधबार उनले नगर अस्पताल निर्माणका लागि जग्गा फिर्ता माग्दै पत्र लेखेका हुन् । तर, उनले लेखेको पत्रको भाषाशैली अमर्यादित छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ७ गते १८:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नगर अस्पताल निर्माणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले चर्चेको जग्गा फिर्ता माग्दै स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेका छन्।
  • मेयर साम्पाङले पत्रमा जग्गा सुटुक्कै लगेको भन्दै फिर्ता गर्न आग्रह गरेका छन् भने प्रतिष्ठानले जग्गा २०४८ सालमा नामसारी भएको बताउँदै असन्तुष्टि जनाएको छ।
  • प्रतिष्ठानले विधि र प्रकृयासम्मत जग्गा नामसारी भएको र स्थानीय सरकार प्रमुखको अभिव्यक्तिले भ्रम फैलाउने भएकाले गलत सूचना नदिन आग्रह गरेको छ।

७ साउन, विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले चर्चेको जग्गा फिर्ताका लागि संघीय सरकारको स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेका छन् ।

बुधबार उनले नगर अस्पताल निर्माणका लागि जग्गा फिर्ता माग्दै पत्र लेखेका हुन् । तर, उनले लेखेको पत्रको भाषा शैली अमर्यादित छ ।

‘उपर्युक्त सम्बन्धमा धरान उपमहानगरपालिकाले आफ्नै नगर अस्पताल बनाउन चाहेको छ’, अनौपचारिक शैलीमा साम्पाङले लेखेका छन्, ‘छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा कुनचाहिं कुलङ्घारले दलालीमा भुलेर बीपी अस्पताललाई दिई पठाएछ थाहा भएन यसरी नगरपालिकाको जग्गा लान पाइँदैन । प्लिज फिर्ता गरिदिनुहोला । धन्यवाद ।’

धरान उपमहानगरपालिकाको आफ्नै अस्पताल छैन । यसअघि स्वास्थ्य बीमा बोर्डले बीपी प्रतिष्ठानलाई रेफरल सेन्टर मात्रै तोकेपछि धरानमा अस्पताल निर्माणको बहस चलेको थियो ।

मेयर साम्पाङले स्वास्थ्य मन्त्रालयलाई लेखेको पत्र।

पुरानो अस्पताल भएको स्थानमा नगर अस्पताल बनाउने प्रस्ताव हर्क साम्पाङले अघि सारेका थिए । तर नगरले अस्पताल बनाउने भनेको जग्गा ३४ वर्षदेखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा छ ।

साम्पाङले फिर्ता माग्दै पत्र पठाएको जग्गा धरान उपमहानगरपालिकाको होइन । प्रतिष्ठान स्थापना हुँदै गर्दा नै प्रतिष्ठानको नाममा दर्ता भएको थियो ।

मेयर साम्पाङले मंगलबार पनि बीपी प्रतिष्ठानले लगेको जग्गा फिर्ता माग्दै आन्दोलन गर्न उक्साएका थिए । उनले लेखेका थिए, ‘भोलिदेखि बीपी अस्पतालले हाम्रो पुरानो अस्पताल आफ्नो नाममा जग्गा सुटुक्कै लगेको विरुद्ध प्रदर्शन गर्दै जग्गा फिर्ता गर्न दबाव दिऔं, नगर अस्पताल खोल्नु परो के हाम्ले पनि ।’

बीपी प्रतिष्ठानले मेयर साम्पाङको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएको छ ।

‘धरान छाताचौकस्थित पुरानो अस्पताल तथा स्वयं बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि आम धरानवासीको धरोहर तथा सम्पत्ति भएको तथ्य अवगत गराइन्छ’, प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘प्रतिष्ठान स्थापना भए पश्चात् तत्कालीन श्री ५ को सरकारको मिति २०४८-१०-०४ को निर्णय बमोजिम साविकको धरान बजारस्थित अस्पतालले चर्चेको १ बिघा ४ कठ्ठा १३.१ धुर जग्गा प्रतिष्ठानको नाममा नामसारी गर्ने निर्णय भएको व्यहोरा समेत सर्वसाधारणलाई अवगत गराइन्छ ।’

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्था गर्न बनेको ऐन २०४९ अनुसार सञ्चालन भएको प्रतिष्ठान हो ।

प्रतिष्ठान स्थापना भए पश्चात धरान बजारस्थित अस्पतालले चर्चेको १ बिघा ४ कठ्ठा १३.१ धुर जग्गा प्रतिष्ठानको नाममा नामसारी भएको थियो ।

प्रतिष्ठानले पुरानो धरान अस्पतालमा ओपीडी सेवा सञ्चालन गरेको थियो । तर सेवाग्राहीले प्रतिष्ठानमै सेवा लिन आउन चाहेका कारण ओपीडी बन्द गरेको थियो ।

‘विधि र प्रकृयासम्मत प्रतिष्ठानको लागि भविष्यमा सेवा विस्तार गर्ने लक्ष्य अनुरूप भोगाधिकार दिई प्रतिष्ठानको नाममा नामसारी भएको कुरालाई धरान उपमहानगरपालिकाको प्रमुख जस्तो स्थानीय सरकार प्रमुखबाट ‘सुटुक्कै लगेको’, ‘हडपेको’ जस्ता शब्दावली प्रयोग हुँदा आम जनसमुदायलाई भ्रमित पार्ने र गलत सूचना प्रवाह हुने हुँदा यस प्रकारले नबुझिदिन प्रतिष्ठान अनुरोध गर्दछ,’ प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै भनेको छ ।

‘पुरानो अस्पताल भएको क्षेत्रलाई कसरी धरानवासीको हितमा प्रयोग गर्न सकिन्छ भन्ने सम्बन्धमा आमधारणा बनाई स्थानीय सरकारबाट कुनै प्रस्ताव वा संवाद तथा छलफल हुँदा प्रतिष्ठान सदैव सकारात्मक रहने र सहकार्य गर्न हरदम तयार रहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छ’, प्रतिष्ठानले विज्ञप्तिमा भनेको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह-प्रवक्ता डा. अभिजित कुमारले बुधबार जारी गरेको विज्ञप्ति।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?