
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्ष २०८२/८३ का लागि ३१ अर्ब ४० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
- प्राधिकरणले पूँजीगत खर्चतर्फ १२ अर्ब ३९ करोड ७० लाख र कार्य सञ्चालनतर्फ ६ अर्ब १५ करोड ६७ लाख विनियोजन गरेको छ।
- प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले त्रिभुवन विमानस्थल अधिकतम क्षमता हाराहारीमै चलिरहेको र आम्दानी बढाउन विमानस्थल सेवा शुल्क बढाउने योजना रहेको बताए।
७ साउन, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले ३१ अर्ब ४० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
प्राधिकरणले चालु आर्थिक वर्ष २०८२/८३ का लागि उक्त रकम बराबर बजेट सार्वजनिक गरेको हो । यस आवका लागि पूँजीगत खर्चतर्फ १२ अर्ब ३९ करोड ७० लाख बजेट विनियोजन गरेको छ ।
प्राधिकरणले कार्य सञ्चालनतर्फ ६ अर्ब १५ करोड ६७ लाख विनियोजन गरेको छ । यो रकम कार्यालय सञ्चालन र तलब–भत्तामा खर्च हुन्छ । वित्तीय व्यवस्थापनतर्फ १२ अर्ब ८५ करोड छुट्याएको छ ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार यो रकम नेपाल सरकारलाई तिर्नुपर्ने ऋणको साँवा–ब्याज भुक्तानीमा खर्च हुन्छ । पछिल्लो ३ आर्थिक वर्षयता नयाँ विमानस्थल निर्माण योजनामा बजेट नराखिएको उनले जानकारी दिए ।
प्राधिकरणको आम्दानीमध्ये ९० प्रतिशत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केन्द्रित रहेको भन्दै अब प्राधिकरणको बजेट धेरै माथि जान सक्ने अवस्था नरहेको समेत उनले बताए । विमानस्थल सेवा शुल्क बढाएर भए पनि प्राधिकरणको आम्दानी बढाउने योजना रहेको उनले जानकारी दिए ।
‘त्रिभुवन विमानस्थल अहिले नै अधिकतम क्षमता हाराहारीमै चलिरहेको छ,’ उनले भने, ‘अब थप आम्दानी हुने अवस्था नहुँदा प्राधिकरण चापमा जाने निश्चित छ ।’
भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रियतर्फ सरकारले वायुसेवा कम्पनीलाई सबै प्रकारका शुल्कमा छुट दिएका कारण त्यहाँ अहिले उडान भए पनि प्राधिकरणको आम्दानी नरहेको उनले जानकारी दिए । आन्तरिकतर्फको आम्दानी भने सन्तोषजनक रहेको उनको भनाइ छ ।
प्राधिकरणले चालु आव विभिन्न विमानस्थलका लागि ४९ करोड ९४ लाख रुपैयाँ पूँजीगत शीर्षकमा छु्ट्याएको छ । जसमा महेन्द्रनगरमा नयाँ टर्मिनल भवन तथा टावर निर्माणमा १ करोड छ्टयाइएको छ ।
त्यसैगरी भोजपुर १ करोड, रारा ४ करोड, डोटी १ करोड, भरतपुर ४ करोड, उदयपुरमा बन्ने सगरमाथा विमानस्थल १ करोड, टिकापुर ३ करोड, बाजुरा १ करोड, चुहानडाँडा १ करोड र नेपालगन्जलाई ४ करोड विनियोजन गरिएको छ ।
त्यस्तै कमलबजार विमानस्थललाई २ करोड, सुकेटार १ करोड, दार्चुला १ करोड, महेन्द्रनगर २ करोड, दाङ १ करोड, भद्रपुरलाई १ करोड विनियोजन गरिएको छ ।
विराटनगर विमानस्थलले ४ करोड, पोखरा विमानस्थललाई करिब ५१ करोड र निजगढ विमानस्थलले २३ करोड ८० लाख बजेट पाएका छन् । त्रिभुवन विमानस्थलमा विभिन्न आयोजना सञ्चालनका लागि ४ अर्ब १५ करोड विनियोजन भएको देखिन्छ ।
प्रतिक्रिया 4