News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालका बसील तोयनाले वर्ल्ड युथ सभात च्याम्पियनसिपमा रजत पदक जितेका छन्।
- प्रतियोगिताको फाइनलमा माल्भिन पेरीसँग पराजित हुँदै रजत पदकमा सीमित भए।
११ साउन, काठमाडौं । उज्बेकिस्तानको तास्केन्तमा आयोजित वर्ल्ड युथ सभात च्याम्पियनसिपमा नेपालका बसील तोयनाले रजत पदक जितेका छन्।
८०–८५ केजी तौल समूहमा नेपालका बसीलले उज्बेकिस्तान, फ्रान्स र अजरबैजानका खेलाडीहरूसँग प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताको दोस्रो दिन लिग चरणमा उनले पहिलो खेलमा आयोजक देश उज्बेकिस्तानका जिदिरोभ मोहम्मदलाई पराजित गर्दै ३ अंक हासिल गरे।
दोस्रो खेलमा अजरबैजानका मेहमेद सुलेमनोभलाई हराउँदै ६ अंक, र तेस्रो खेलमा फ्रान्सका खेलाडी माल्भिन पेरीले वाकओभर दिएको कारण ९ अंक बटुल्दै फाइनलमा प्रवेश गरेका थिए।
फाइनलमा बसीलले फ्रान्सकै माल्भिन पेरीसँग प्रतिस्पर्धा गरेका थिए। उत्कृष्ट प्रदर्शन गरे पनि बसील फाइनलमा पराजित हुँदै रजत पदकमा सीमित भए।
नेपालमा करिब दुई वर्षअघि मात्र सुरु भएको सभात खेलको विश्वस्तरीय प्रतियोगितामा नेपालका खेलाडीले उज्बेकिस्तान र अजरबैजानजस्ता बलिया टोलीलाई हराउँदै फाइनलसम्म पुग्नु गौरवको कुरा भएको नेपाल सभात संघका संस्थापक अध्यक्ष, प्रशिक्षक तथा एशियन सभात कन्फेडेरेसनका कार्यकारी सदस्य लक्ष्मण बस्नेतले बताए।
उनले थपे, ‘फाइनलमा फ्रान्सजस्तो शक्तिशाली टोलीका खेलाडीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्नु ठूलो उपलब्धि हो। धेरै देशका प्रशिक्षक र खेलाडीहरू नेपालका खेलाडीको खेलप्रति प्रभावित भएका छन्।’
बस्नेतका अनुसार, यदि नेपालका तीनै तहका सरकारले सभात खेलमा लगानी र सहयोग गर्ने हो भने, निकट भविष्यमा नेपाल यस खेलमा शक्तिशाली राष्ट्र बनेर विश्वमञ्चमा आफ्नो नाम स्थापित गर्न सक्षम हुनेछ।
प्रतिक्रिया 4