
११ साउन, काठमाडौं । दुई साताअघि कञ्चनपुरमा छाउगोठमा सुतेका बेला सर्पले डसेर एक महिलाको मृत्यु भएको खबर चर्चामा आयो ।
कृष्णपुर नगरपालिका-१, निगालीमा छाउगोठमा सुतेका बेला उनलाई सर्पले डसेको थियो । यसपछि सरकारी निकायले छाउगोठ भत्काउन भन्दै निर्देशन दिए ।
छाउपडी विरुद्ध सचेतना जगाउन सरकारी संयन्त्रले सचेतनामुलक काम गरेका छन् । कानूनी रुपमा यसलाई दण्डनीय हुने व्यवस्था गरेका छन् । तर, अझै यो प्रथा रोकिएको छैन । बरु प्रवृत्ति केही फेरिएको पाइएको छ ।
हुम्लाको सिमकोट गाउँपालिका–७, पम्लाथुङमा हालै एक महिलालाई हरित गृह बनाउन भन्दै एउटा गैरसरकारी संस्थाले लिएको प्लास्टिकमुनि राखिएको भेटिएको छ ।
अनलाइनखबरलाई प्राप्त तस्वीरमा २२ वर्षीय महिलालाई प्लास्टिकको मुनी राखिएको देखिन्छ । सुत्केरी भएपछि तीन बच्चासहित उनलाई त्यहाँ राखिएको थियो ।
सिमकोटमा बालबालिकाको स्वास्थ्य र शिक्षामा काम गरिरहेको आधार नेपालका अध्यक्ष प्रह्लाद ढकाल भन्छन्, ‘हामीले त्यहाँ बर्थिङ सेन्टर चलाइरहेका थियौं, सुत्करीको फलोअपका लागि घरमै जाने अभियान अन्तरगत नर्स त्यहाँ पुग्दा बाहिर प्लास्टिकमुनि बसिरहेको थाहा भयो ।’
बच्चा जन्माएपछि ६ हप्तासम्म शिशु र आमाको स्वास्थ्य जाँचका लागि सेन्टरबाट नर्सहरु जाने गरेका थिए । त्यही क्रममा नर्सहरुले प्लास्टिकमुनि राखेको देखेपछि अरुलाई खबर गरेका गरेका थिए ।
त्यहाँ जाँदा बच्चा र आमालाई जटिल अवस्थामा देखेको एक स्वास्थ्यकर्मी बताउँछिन् । ‘त्यो ग्रिनहाउस निकै साँघुरो र मजाले हावा नछिर्ने किमिसको थियो’, उनी भन्छिन्, ‘पर्याप्त हावा नआउँदा बच्चाको शरीरभरि घमौरा आएको थियो, मैले पाउडर दिँदै प्रयोग गर्न सुझाव दिएँ ।’
आमालाई समेत अत्यधिक गर्मीका कारण केही खान समस्या भएको पाइएको थियो । ‘उनको रक्तचाप कम थियो, कमजोरी र चक्कर आउने समस्या थियो’, उनी थप्छिन् ।
सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशीला रोकायाले भने आफू काठमाडौंमा रहेको भन्दै घटनाबारे थाहा नभएको बताइन् । ‘मैले पनि सुनेकाले वडाध्यक्षज्यूलाई फोन गरेर सोधेको थिएँ, तत्काल जान भनेको थिएँ’, उनले भनिन्, ‘तर, फेरि केही खबर आएको छैन ।
आफूहरुले छाउगोठ भत्काउन समुदायस्तरमा जनचेतनामुलक कार्यक्रमहरु गर्ने गरेको भन्दै उनी भन्छिन्, ‘महिला समूह बनाएर तालिम दिएका छौं, चेतना फैलाएका छौं ।’ यद्यपि, छिटपुट रुपमा विभिन्न घटनाहरु सुनिने गरेको उनी बताउँछिन् ।
२०७४ सालदेखि लागू भएको मुलुकी अपराध संहिताले रजस्वला वा सुत्केरी भएको अवस्थामा महिलालाई छाउगोठमा राख्नुलाई दण्डनीय मानेको छ । त्यस्तो बेला अन्य भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्न समेत नहुने भनिएको छ ।
यस्तो कसुर गरेको ठहर भए तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ । तर, जानकारहरुका अनुसार, अधिकांश घटनामा प्रहरीसम्म उजुरी नै पर्दैनन् । त्यसैले छाउगोठमा महिलालाई जोखिमपूर्ण अवस्थामा बस्न बाध्य पार्नेहरु कानुनी दायरामा आएका छैनन् ।
राष्ट्रिय मानवअधिकार आयोगले २०७५ सालमा गरेको एक अध्ययनले छाउ वा सुत्केरी भएको अवस्थामा घरबाहिर असुरक्षित रुपमा गोठमा महिलाहरुलाई अत्यन्तै जोखिमपूर्ण अवस्थामा राखिने गरेको देखाएको थियो ।
‘घर बाहिर असुरक्षित गोठमा जोखिमयुक्त अवस्थामा बस्नुपर्ने वा गाईवस्तुसँगै गोठमा बस्नुपर्ने अवस्था यथावत् रहेका छन्’, प्रतिवेदनमा भनिएको छ, ‘छाउगोठमा बस्नुपर्दा शिशुलाई चिसोको कारण निमोनियाको समस्या तथा खानपान र उचित स्याहारको अभावमा कुपोषण र विभिन्न रोगको संक्रमण समेत हुने गरेको छ ।’
प्रतिक्रिया 4