+
+
Shares

भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

वन फँडानीलाई प्रोत्साहन गर्ने अध्यादेश आएपछि हजारौँ मानिस जंगलमा पसेका छन् । त्यहाँ छाप्रो बनाएर जग्गा पाउने आशा बसेका छन् । यसले वन विनाश, मरुभूमीकरण र पर्यावरण असन्तुलन गर्छ ।

उपेन्द्र यादव, अध्यक्ष, जसपा नेपाल  उपेन्द्र यादव, अध्यक्ष, जसपा नेपाल 
२०८२ साउन १२ गते ७:५३

सरकारले भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक ल्याएको छ । सुकुमबासी समस्या समाधान गर्न ल्याएको हो भने भूमि ऐन २०२१ को आठौँ संशोधन पर्याप्त छ । वन ऐन २०७६ पनि पर्याप्त छ । यो किन ल्याउनुपर्‍यो ? त्यहीअन्तर्गत लाखौँ मानिसलाई जग्गा बाँडिसकिएको छ, यो ल्याउनुपर्ने आवश्यकता नै थिएन । पहिलो कुरा यो छ ।

दोस्रो कुरा– यो विधेयकप्रति नै आपत्ति छ । आपत्ति हुनुको कारण हो– यो विधेयक संविधानविपरीत छ । संविधानको धारा १०९ र अनुसूची ६ विपरीत छ ।

साथै, सर्वोच्च अदालतको दुईवटा संवैधानिक इजलासका फैसलाहरूलाई ध्यान दिनुपर्छ । एउटा फैसला २०८० माघ २१ गतेको संवैधानिक इजलासको र अर्को २०८१ माघ २ गतेको संवैधानिक इजलासको फैसला हो । ती फैसलाहरूले भन्छन्– जुन विषय प्रदेशको क्षेत्राधिकारभित्र पर्छ, स्थानीय तहको अधिकारभित्र पर्छ वा साझा अधिकारभित्र पर्छ, त्यस्ता विषयमा संशोधन गर्दा सम्बन्धित प्रदेश सभाको अनुमति लिनुपर्छ । त्यो अनुमति नलिएको कारणले यो संशोधन विधेयकलाई संविधानले पहिल्यै बदर गरिसकेको छ ।

यो भूमि र वन दुवै प्रदेशको क्षेत्राधिकारभित्रको विषय हो । के प्रदेश सभाको अनुमति लिएर यो विधेयक ल्याइएको हो ? यदि होइन भने, यो संविधानको उल्लंघन र संघीयतामाथिको प्रहार हो ।

त्यसकारण यो अत्यन्त आपत्तिजनक र गलत छ । मेरो अवलोकनले भन्छ– के असंवैधानिक कुरा ल्याउन पाइन्छ ? के क्षेत्राधिकार मिच्न पाइन्छ ? के अनुसूची मिच्न पाइन्छ ? त्यो अधिकार छ ? भोलि गएर यो सार्वजनिक विषय, जनताको विषय बन्छ, अदालतमा गयो भने गलत ठहरिन सक्छ ।

सुकुम्बासी भनिएको छ । सुकुमबासी समस्या समाधान गर्नका लागि अहिलेको कानुन पर्याप्त छ । भर्खरै प्रधानमन्त्रीले झापामा कानुनअनुसार लालपुर्जा बाँडेर आउनुभएको छ । यो कसरी बाधक भयो ? नयाँ ऐन ल्याएर के गर्न खोजिएको हो ? त्यो नपाएको कारणले यो ल्याउनुपरेको होइन ।

अर्को कुरा, सुकुमबासीको संख्या कति छ ? सुकुमबासीको नाममा हुकुमबासीहरूले गलत तरिकाले जग्गा पाएका छन् । पहिले सुकुमबासीको नाममा जग्गा बनाइयो, अहिले सात तला, पाँच तलाका घर बनेका छन् । ती सुकुमबासीहरू नै हुन् त ?

यो ऐन फिर्ता लिनुपर्छ, किनकि सुकुमबासी समस्या समाधान गर्न पर्याप्त कानुन छन् । संविधान मिच्ने र सर्वोच्चको फैसला उल्लंघन गर्ने यो कुन स्वार्थका लागि ल्याइयो, मन्त्रीज्यूले स्पष्ट पार्नुपर्छ

तथ्यांकअनुसार सुकुमबासीका नाममा ५ लाख ७० हजार हेक्टर जग्गा वितरण भएको छ । सन् १९६५ मा जब कम्पनी खडा भयो, ८३ हजार परिवारलाई जग्गा दिइयो । त्यसपछि २०८५ सम्म आइपुग्दा ३ लाख ५६ हजार ४०० परिवारलाई सुकुमबासीको नाममा जग्गा वितरण भएको छ ।

२०४५ सालको सरकारको निर्णयबाट १ लाख १६ हजार ६४८ हेक्टर, करिब १ लाख ७० हजार दुई बिघा वितरण गरिएको छ । तर सुकुमबासी समस्या समाधान भएको छैन । त्यसकारण, सुकुमबासी समस्या के हो, कति छन्, कतिलाई बाँड्नुपर्ने हो, त्यो ठीकसँग निश्चित नगरी यो विधेयक ल्याइएको छ ।

तराईमा ५३ प्रतिशत आन्तरिक बसाइँसराइ भएको छ, जनसंख्या चाप बढेको छ । र सुरुमा खाली भएको तराई अहिले मरुभूमीकरणको अवस्थामा छ । यस विधेयकले जंगल कति खान्छ ?

विधेयकमा रहेको अर्को कुरा हो– व्यवसायीहरूलाई जग्गा दिने, वन फँडानी गर्ने । यो कार्य फौजदारी अपराध हो । वन फँडेर बसेको जग्गा दर्ता गरियो भने वन फँडानीलाई प्रोत्साहन हुन्छ । यो ठीक छैन । वन ऐन २०७६ अनुसार सबै वन नेपाल सरकारको नियन्त्रणमा छन् । ती वनलाई कुन सरकारको नियन्त्रणमा ल्याउने ? यो कुरा विवादास्पद छ ।

जग्गा व्यवसायीहरूलाई रियल स्टेटका लागि जग्गा दिने हो भने त्यो सुकुमबासी समस्या समाधान गर्न होइन, भू–माफियालाई जग्गा दिने हो । यो कति घातक छ ! वन फँडानीलाई प्रोत्साहन गर्ने  विधेयक आएपछि हजारौं मानिस जंगलमा बसेका छन् । त्यहाँ छाप्रो बनाएर जग्गा पाउने आशा गरेका छन् । यसले वन विनाश, मरुभूमीकरण र पर्यावरण असन्तुलन गर्छ ।

मेरो आपत्ति यो हो कि– यो विधेयक देश र जनताको हितमा छैन, राष्ट्रको हितमा त झन् छैन । यस्तो कानुन बनाउनु हुँदैन ।

मध्यवर्ती क्षेत्रका जंगलमा कसरी आँखा पुग्यो ? त्यहाँ जंगल लगाउनुपर्छ, तर बसोबासका लागि आँखा लगाइएको छ, जुन गलत छ ।

निकुञ्ज र ती क्षेत्रका जग्गा पुन: सीमांकन गरेर बाँड्ने कुरा छ । वन विनाशबाट निकुञ्जहरू संकटमा छन् । यो विधेयकले प्राकृतिक स्रोतको मनपरी दोहन गर्छ । यो भावी पुस्ताका लागि होइन, बर्बादी ल्याउने हो । मेरो संशोधन यही छ– यो विधेयक असंवैधानिक, गैरकानुनी र राष्ट्रको हितविपरीत छ । यसले पर्यावरण विनाश गर्छ ।

यो ऐन फिर्ता लिनुपर्छ, किनकि सुकुमबासी समस्या समाधान गर्न पर्याप्त कानुन छन् । संविधान मिच्ने र सर्वोच्चको फैसला उल्लंघन गर्ने यो कुन स्वार्थका लागि ल्याइयो, मन्त्रीज्यूले स्पष्ट पार्नुपर्छ । अन्यथा, विधेयक जस्ताको तस्तै पारित गर्नुभयो भने हामी कोर्टमा जान्छौं ।

(जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आइतबार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक’माथिको दफावार छलफलमा राखेको धारणाको सम्पादित अंश ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?