
१२ साउन, काठमाडौं । कुलिङ पिरियडबारे गडबडी भएको भनेर छानबिन गर्न गठित संसदीय विशेष छानबिन समिति प्रतिवेदन लेखनमा जुटेको छ ।
समितिका सभापति जीवन परियारका अनुसार ‘सोधपुछको कार्य करिब सकिएको छ ।’ सोधपुछको कार्य अन्तिमतिर पुगेसँगै समिति प्रतिवेदन लेखनको कार्यमा जुटेको हो ।
गत असार २३ गते प्रतिनिधि सभाले निजामती सेवा विधेयकमा व्यवस्था भएको कुलिङ पिरियडबारे हेरफेरका सन्दर्भलाई लिएर संसदीय छानबिन समिति गठन गरेको थियो । समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई–दुई जना सदस्य र माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट एक–एक जना रहेका छन् ।
समितिमा कांग्रेसका सांसदहरू जीवन परियार र सुशीला थिङ सदस्य छन् भने नेकपा (एमाले) बाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य सदस्य छन् । माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् ।
समिति गठन हुँदा सभामुख देवराज घिमिरेको २१ दिनको समय दिएका थिए । उक्त समय अपुग भएको समितिले बताएपछि सात दिनको समय थप दिइएको छ । अब यही साउन १९ गतेसम्म छानबिन समितिले समय पाएको छ ।
समयमै काम सक्ने गरी समिति प्रतिवेदन लेखनको कार्यमा जुटेको हो । प्रतिनिधि सभाको बैठक साउन १९ गते बस्दैछ । उक्त बैठकमा छानबिन प्रतिवेदन पेस गर्ने समितिको तयारी छ ।
प्रतिक्रिया 4