
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालको सेयर बजारको पूँजीकरण पहिलो पटक ५० खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको ८२ प्रतिशत बराबर हो।
- बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर सस्तो मूल्यमा किनबेच हुँदा पूँजीकरण गणना विधि त्रुटिपूर्ण भएको र सच्याउनुपर्ने माग लगानीकर्ताले गरेका छन्।
- ५० खर्बको बजार पूँजीकरणमा १० ठूला कम्पनीले २७ प्रतिशत हिस्सा ओगटेको छ, जसमा विशाल बजारको पूँजीकरण २ खर्ब ३३ अर्ब ४६ करोड रुपैयाँ छ।
१३ साउन, काठमाडौं । नेपालको सेयर बजारको आकार (पूँजीकरण) पहिलो पटक ५० खर्ब पुगेको छ । नयाँ कम्पनी थपिँदै जाने र सूचीकृत सेयरको बजार मूल्य पनि बढ्दै जाँदा मंगलबार बजारको आकार ५० खर्ब ९ अर्ब रुपैयाँ पुगेको हो । यो बजारमा सूचीकृत सबै सेयरको कुल मूल्य हो ।
कुल गार्हस्थ्य उत्पादन (जीडीपी) असार मसान्तसम्म ६१ खर्ब ७ अर्ब रुपैयाँ बराबर छ । जीडीपीमा बजारको आकार अनुपात ८२ प्रतिशत बराबर पुगेको छ । तर जीडीपीसँग बजार पूँजीकरणको कुनै सम्बन्ध र प्रभाव नरहने जानकार बताउँछन् । बजारको पूँजीकरण रकम बढ्दै गएर केही महिनामै जीडीपीलाई उछिन्न सक्छ ।
नयाँ कम्पनी थपिनु र समग्र बजार बढ्दै जाँदा बजार पूूँजीकरण केही समयमै जीडीपीभन्दा माथि जान सक्नेछ । यदी जीडीपीभन्दा बजार पूँजीकरण माथि गएमा, नीति निर्माता प्रभावित हुने र नीतिगत व्यवस्था नै बजारविरुद्ध आउन सक्ने चिन्ता लगानीकर्तामा छ ।
पूँजी बजार जानकार तथा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक गोपाल भट्ट बजार पूँजीकरण र जीडीपीको तुलना अनावश्यक रहेको बताउँछन् । ‘कतिपय मुलुकमा जीडीपीभन्दा पूँजी बजारको आकार धेरै नै ठूलो छ, यसले केही फरक पर्दैन’ भट्टले भने ।
विश्वका चर्चित सेयर लगानीकर्ता वारेन बफेटले जीडीपी र बजार पूँजीकरणको तुलना गर्दै छुट्टै सूचकको मान्यता दिएका थिए । जीडीपीभन्दा स्टक मार्केट ठूलो भएमा त्यसलाई ‘ओभरभ्यालुड’का रुपमा उनले अथ्र्याएका थिए । उनको यो मान्यता पनि विवादमा पर्दै गयो । पछि त्यसलाई सच्याएर उनले फरक परिभाषा गरे ।
‘यदि कम्पनीहरूको कुल मूल्य जीडीपीभन्दा ठूलो भयो भने त्यसले अर्थतन्त्रको विस्तारलाई संकुचन बनाउने जोखिम हुन्छ, अर्थतन्त्रको मूल्य वृद्धिमा सघाउ हुँदैन’ बफेटले पछिल्लो परिभाषा दिएका छन् । विभिन्न मुलुकमा जीडीपीभन्दा सेयर बजार सधैं ठूलो भइरहने निश्चित भएपछि नै बफेटले छुट्टै किसिमले अर्थ्याएका थिए ।
हाल छिमेकी मुलुक भारतसहित विश्वका ठूला स्टक मार्केट ती मुलुकको जीडीपीभन्दा ठूला छन् । जीडीपीको तुलनामा स्टक मार्केट सबैभन्दा ठूलो भएको मुलुक हो– हङकङ । यहाँको स्टक मार्केटको आकार जीडीपीको १४ सय प्रतिशत बराबर छ ।
त्यस्तै भारतको स्टक मार्केट जीडीपीको १३८ प्रतिशत बराबर छ । अमेरिकाको स्टक मार्केट जीडीपीको २१० प्रतिशत छ भने जापानको बजार १६२ प्रतिशत छ । यीबाहेक क्यानडा, थाइल्याण्ड, सिंगापुर, इरान, दक्षिण अफ्रिका, साउदी अरेबिया, यूएई लगायत कयौं मुलुकको स्टक मार्केट जीडीपीको आकारभन्दा ठूलो छ ।
यी मुलुकको बजार पूँजीकरण अब कहिलै पनि जीडीपीभन्दा तल झर्दैन । जीडीपीभन्दा बजारको पूँजीकरण वृद्धि तुलनात्मक रफ्तारमा अघि बढेको छ ।
सन् २०२० मा छिमेकी मुलुक भारतकै बजार पूँजीकरण जीडीपीको ९७ प्रतिशत मात्रै थियो । पाँच वर्षमै यो १३८ प्रतिशत पुगेको हो । आगामी वर्षमा यसको रफ्तार अझ ठूलो हुनेछ । नेपालमा पनि केही महिनामै जीडीपीलाई बजारको पूँजीकरणले जित्यो भने आश्चर्य मान्नु नपर्ने भट्ट बताउँछन् ।
सेयर बजारको गणना ‘विवादित’
नेपालमा बैंक तथा वित्तीय संस्थाको सेयर मूल्य दुई किसिमका छन् । बैंक तथा वित्तीय संस्थाको सेयरलाई संस्थापक र सर्वसाधारण समूह भनी छुट्याइएको छ । सर्वसाधारण समूहको सेयर मूल्य महँगो र संस्थापक सस्तो छ ।
सर्वसाधारणभन्दा सस्तो मूल्यमा संस्थापक सेयर किनबेच हुँदै आइरहेको छ । अन्य मुलुकमा एउटै कम्पनीका सेयरलाई यसरी छुट्याइँदैन, मूल्य पनि उहीं हुन्छ ।
तर यहाँ पूँजीकरण गणना गर्दा भने संस्थापकको सेयरलाई पनि साधारण समूहकै मूल्य मानेर गणना भएको छ । जसले गर्दा पूँजीकरण रकम वास्तविकभन्दा ठूलो देखिएको भन्दै लगानीकर्ता असन्तुष्ट छन् । यो गणना विधिलाई मिलाउनुपर्ने उनीहरूको भनाइ छ ।
‘गणना विधि नै त्रुटिपूर्ण हुँदा पूँँजीकरण रकम वास्तविक भन्दा धेरै ठूलो देखिएको छ, भोलि यो पूँँजीकरण रकम जीडीपीभन्दा ठूलो हुन थालेपछि बजार विरुद्धका स्वर बढ्न सक्छ’ नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष अम्बिकाप्रसाद पौडेलले भने, ‘अनि, नीति निर्माण पक्षले पनि नबुझिकन बजार विरुद्ध कसिला नीति लिन सक्छन् । त्यसले बजारको स्वतन्त्र चलायमानलाई असर पार्छ, गणना विधि सच्याउनुपर्छ ।’
संस्थापक सेयर कारोबार नहुने तर साधारण सेयर कारोबार भइरहने भएकाले नेप्सेले बजारमा भएको बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयरलाई पनि साधारण मूल्य नै मानेर गणना गरेको छ, तर कारोबार संस्थापकको छुट्टै मूल्यमा हुन्छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुली पनि पूँजीकरणका विषयमा लगानीकर्ता अल्मलिनै नपर्ने बताउँछन् ।
‘कारोबार भइरहने साधारण सेयरको पूँजीकरण हेर्नलाई छुट्टै सूचक फ्लोट मार्केट क्यापिटलाइजेसन छँदैछ’ उनले भने । कारोबार भइरहेको साधारण सेयरको कुल बजार मूल्य (फ्लोट मार्केट क्यापिटलाइजेसन) आकार अहिले जम्मा १७ खर्ब २ अर्ब रुपैयाँ मात्रै छ ।
बजार पूँजीकरणलाई केहीले अनावश्यक विवादमा तानेको पराजुली बताउँछन् । ‘लगानीकर्ताको यही गुनासो आउन सक्छ भनेर हामीले पहिले नै सर्वसाधारणको सेयर कारोबारलाई सेन्सिटिभ फ्लोट इन्डेक्स र त्यसको पूँजीकरण छुट्याएर देखाउने गरेका हौं’ उनले भने ।
स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष भरत रानाभाटले बजारको पूँजीकरण त्रुटिपूर्ण नै रहेकाले त्यसलाई सच्याउनुपर्ने बताए ।
‘बैंक तथा वित्तीय संस्थाको वास्तविक संस्थापक मूल्य अर्कै हुने, साधारण मूल्य अर्कै हुने तर गणना किन साधारण सरह नै गर्नुपर्ने ?’ उनले भने । त्यसकारण सेयर बजारको वास्तविक आकार ५० खर्बको नभएको उनले बताए । पूँजीकरण ठूलो भइसकेपछि बजारविरुद्ध स्वर बढ्ने र नीतिलाई प्रभाव पार्न सकिने उनको भनाइ छ ।
१० ठूला कम्पनीको मात्रै २७ प्रतिशत शक्ति
५० खर्बको सेयर बजारमा १० ठूला कम्पनीले मात्रै २७ प्रतिशत हिस्सा ओगट्छन् । अर्थात् यी १० ठूला कम्पनीको बजार पूँजीकरण १३ खर्ब ७४ अर्ब रुपैयाँ हुन आउँछ ।
सबैभन्दा ठूलो विशाल बजारको कुल सेयर मूल्य २ खर्ब ३३ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । पूँजीकरण धेरै भएका कम्पनीले समग्र बजारलाई बढी प्रभाव पार्दछन् ।
विशाल बजारपछि दोस्रो ठूलो कम्पनीमा नेपाल पुनर्बीमा छ । मंगलबार नेपाल पुनर्बीमाको पूँजीकरण रकम २ खर्ब १४ अर्ब ९८ करोड रुपैयाँ छ भने तेस्रोमा रहेको नेपाल टेलिकमको १ खर्ब ६७ अर्ब २९ करोड रुपैयाँ छ । बजारको चौथो ठूलो कम्पनी हो– नबिल बैंक । मंगलबारसम्म यस बैंकको पूँजीकरण रकम १ खर्ब ४८ अर्ब ४२ करोड रुपैयाँ छ ।
पाँचौमा रहेको नागरिक लगानी कोषको १ खर्ब ३६ अर्ब १२ करोड रुपैयाँ छ । त्यसपछि बजारका ठूला कम्पनीमा क्रमशः हिमालयन रिइन्स्योरेन्स, ग्लोबल आईएमई बैंक, एभरेस्ट बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र एचआईडीसीएल हुन् ।
हिमालयन रिइन्स्योरेन्सको पूँजीकरण १ खर्ब १५ अर्ब, ग्लोबल आईएमईको १ खर्ब ३ अर्ब, एभरेष्ट बैंकको ९५ अब ३३ करोड, नेपाल इन्भेस्टमेन्ट मेगाको ८२ अर्ब ८० करोड तथा नेपाल लाइफ इन्स्योरेन्सको ७७ अर्ब ८२ करोड रुपैयाँ छ ।
प्रतिक्रिया 4