+
+
Shares

राष्ट्र बैंकले माग्यो बैंकहरूको ६ महिनाको सम्पत्ति र दायित्व व्यवस्थापन योजना 

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १३ गते २१:१७

१३ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरूको आगामी ६ महिनाको सम्पत्ति तथा दायित्व व्यवस्थापनको योजना मागेको छ ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको खुकुलो मौद्रिक नीतिको व्यवस्था प्रति बैंकरहरूको बुझाइ र तयारीका सन्दर्भमा मंगलबार औपचारिक छलफल गरेको हो ।

केन्द्रीय बैंकले अर्थतन्त्रलाई चलायमान बनाउन सम्पत्तिको मूल्य बढाउने गरी चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याएको छ । केन्द्रीय बैंकको सम्पत्तिको मूल्य बढाउन नीति अल्पकालीन हो ।

उक्त नीतिगत व्यवस्था प्रति बैंकरहरूको बुझाइ र त्यसको योजना कस्तो छ भन्ने छलफल भएको सहभागी एक बैंकरले बताए । साथै, बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयकका विभिन्न व्यवस्थाहरूमा समेत छलफल भएको ती बैंकरले बताए ।

‘केन्द्रीय बैंकले सम्पत्तिको मूल्य बढोस् भन्ने चाहेको छ तर त्यो पनि निश्चत समयमा लागि मात्र हो । अर्थतन्त्रले गति लिएपछि अहिलेका खुकुलाई नीति हेरफेर हुने संकेत केन्द्रीय बैंकले गर्‍यो,’ ती बैंकरले भने, ‘अहिलेको सहज नीति अर्थतन्त्र पुस गरेपछिको बैंकहरूको तयारी कस्तो छ भनेर जानकारी लिन खोजेको बुझियो ।’

मंगलबारको छलफलको सन्दर्भमा ६ महिनाका लागि बैंकहरूले कस्तो रणनीति बनाएका भन्नेबारे जानकारी लिएको केन्द्रीय बैंकका अधिकारीहरू बताउँछन् ।

साथै चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकरहरूको बुझाइ के हो र सो अनुसार काम गर्नका लागि के कस्तो तयारी गरेका छन् त्यसको जानकारी लिइएको उनीहरूले बताए । साथै, केन्द्रीय बैंकले बैंकहरूसँग वित्तीय क्षेत्र रणनीतिका विषयमा पनि छलफल गरेको छ ।

करिब २ घण्टासम्म चलेको राष्ट्र बैंकका उच्च अधिकारी र बैंकर बिचको छलफल बैंकरहरू रिकभरी फोकस भएको अवस्थामा कर्जा परिचालन पनि विस्तार गर्न ध्यान दिन सुझाएको छ ।

त्यसका साथै केन्द्रीय बैंकले बैंकरलाई छिटो साधारणसभा गर्न समेत निर्देशन दिएको छ । बैंकहरूले समयमा साधारणसभा गरेको खण्डमा बजारमा छिटो पैसा जाने बुझाइ केन्द्रीय बैंकको छ ।

‘एक वर्षमा आर्थिक गतिविधिको दुई चक्र लागे हुन्थ्यो भन्ने केन्द्रीय बैंकको योजना हो,’ केन्द्रीय बैंकका एक अधिकारीले भने,‘ त्यसका लागि राज्यले पनि आन्तरिक ऋण चाँडै उठाएर खर्च गरे हुन्थ्यो, असार कुर्नुपर्ने अवस्था अहिले छैन ।’

केन्द्रीय बैंकले बैंकहरूलाई खर्च गर, क्यापिटल राम्रो बनाऊ, कर्जा प्रवाहमा केन्द्रीत गरी अर्थतन्त्रलाई चलायमान बनाऊ भनेको बताउँदै ती अधिकारीले भने, ‘वित्तीय क्षेत्रले अर्थतन्त्र चलायमान बनाउनका लागि सजगतापूर्वक काम गर्नु आवश्यक छ, त्यसका लागि अहिलेको मौद्रिक नीतिको सहजताको सदुपयोग गर्नु पर्छ । यो व्यवस्था सधैँ नहुने भएकाले अहिले सदुपयोग गरेर अर्थतन्त्र उठाउन प्रयोग गर्नुपर्छ, यसको दुरुपयोग भए अर्थतन्त्र नै समस्या जान्छ ।’

बैंकहरूले कर्जा लगानी बढाउन केन्द्रीय बैंकको पहल हो ।

मंगलबार बैंकर सँग छलफल गरेको कैन्द्रीय बैंकको उच्च अधिकारीको टोलीले सोही विषयमा केन्द्रीत भइ बुधबार बैंकका अध्यक्षहरूसँग छलफल गर्ने तयारी गरेको छ ।

अध्यक्षहरूसँगको छलफलमा बैंकहरूको आगामी रणनीति, बैंक वित्तीय संस्था सम्बन्धी ऐनको संशोधत विधेयक लगायतका विषयमा छलफल हुने केन्द्रीय बैंकले जनाएको छ ।

लेखक
अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?