+
+
Shares
कर्णाली विकास बैंक प्रकरण :

सवा ३ अर्ब घोटाला लुकाउन राष्ट्र बैंकका कर्मचारीलाई आइफोन उपहार

गाडी बेचेवापत १० लाख पाएको नक्कली बयान

सवा तीन अर्ब घोटाला लुकाउन राष्ट्र बैंकको सुपरिवेक्षण विभागका तत्कालीन कामु निर्देशक भुवन बस्नेतको प्रत्यक्ष संलग्नता रहेको सीआईबीको अनुसन्धानबाट खुलेको छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ साउन १५ गते २२:५०

१५ साउन, काठमाडौं । कर्णाली विकास बैंकको सुपरिवेक्षणका लागि खटिएका राष्ट्र बैंकका कर्मचारी नै घोटालामा प्रत्यक्ष संलग्न रहेको खुलेको छ ।

नेपालगञ्ज केन्द्रीय कार्यालय रहेको बैंकको सवा तीन अर्ब घोटाला लुकाउन राष्ट्र बैंकको सुपरिवेक्षण विभागका तत्कालीन कामु निर्देशक भुवन बस्नेतको प्रत्यक्ष संलग्नता रहेको अनुसन्धानबाट खुलेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धानको क्रममा हाल अवकाश पाएका राष्ट्र बैंकका कर्मचारी बस्नेतले अनदेखा गरेको पाइएको छ ।

त्यसवापत उनले आइफोन उपहार पाउनुका साथै १० लाख रुपैयाँ बुझेको अनुसन्धानको निष्कर्ष छ । उनीसहितका १११ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भइसकेको छ ।

कर्णाली विकास बैंकको कार्यालय सहयोगीको रूपमा करारमा काम गरेका विकास विकले समेत बैंकका तत्कालीन कार्यकारी अधिकृत राजेन्द्रवीर रायको निर्देशनअनुसार बस्नेतको खातामा रकम जम्मा गरेको बयान दिएका छन् ।

‘रायले भुवन बस्नेतको माछापुच्छ्रे बैंकको खातामा नगदै रकम जम्मा गरिदिनु भनेकाले जम्मा गरेको हुँ,’ विकको बयान छ ।

विक बाहेक बैंकका कर्मचारी समजलाल चौधरीले समेत बस्नेतको खातामा रकम जम्मा गरेको देखिएको छ । चौधरीले करिब पाँच वर्षअघि नै बैंक छाडिसकेका छन् । सेवामा रहेका बेला बस्नेतले सुपरभाइजर भएर २०७५ वैशाखमा कर्णाली विकास बैंकको स्थलगत अनुगमन निरीक्षण गरेका थिए ।

तर, सो क्रममा उनले अनुमगन नगरी रकम लिएर मिलेमतोमा काम गरेको देखिएको सीआईबीको अनुसन्धानले देखाएको छ ।

नेपाल बैंकको निर्देशनअनुसार बैंकको पूँजी ५० करोड रुपैयाँ पुर्‍याउनु बाध्यता रहेकामा बस्नेतले उक्त पूँजी नभए पनि भएको भनेर उल्लेख गरेको बताइएको छ । त्यसका लागि संस्थापक सेयरधनी, सर्वसाधारण सेयरधनी र अन्य इच्छुकहरूबाट हिसाब मिलान गर्ने गरी कल इन एड्भान्स खातमा रकम जम्मा गर्न आह्वान गर्ने र यो कार्य गर्न व्यवस्थापनलाई अख्तियारी दिने सर्वसम्मत निर्णय गरी संस्थाको नगद सम्पत्ति समेत अपचलन गरेको देखिए पनि बस्नेतको अनुगमनले यो बारेमा आँखा चिम्लेको बताइएको छ ।

बैंकले जोखिम व्यवस्थापन समिति गठन गरेको भए तापनि नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको अनुसूची ६.२ मा भएको व्यवस्थाअनुसार समितिको बैठक तीन महिनामा कम्तीमा एकपटक बस्नुपर्ने हुन्छ । तर १ जेठ २०७२ देखि हालसम्म बैठक नबसेको र जोखिम व्यवस्थापन समितिको पुनर्गठन समेत नभएको पाइएको छ ।

बैठक नै नबसी सञ्चालक समितिले संस्थाको रकम हिनामाना गरी हकप्रद सेयर लिने कार्य गरेको पाइएको सीआईबीले बताएको छ । नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम पूँजी बढाएको सम्बन्धमा के-कुन माध्यम र प्रक्रियाबाट पूँजी वृद्धि गरिएको हो भन्ने विषयको स्पष्टता कतै नखुलाएको अभियोगपत्रमा उल्लेख छ ।

बैंक घोटालामा कर्मचारीहरूको कानुनविपरीतको कार्य ढाकछोप गरेवापत उनले पटक-पटक रकम बुझेको पाइएको छ । ६ पटकमा गरेर उनले १० लाख ८४ हजार २५० रुपैयाँ बुझेको पाइएको छ । ३ फ्रेबुअरी २०१९ मा विकास विकमार्फत १ लाख रुपैयाँ बस्नेतको खातामा डिपोजिट भएको देखिन्छ ।

त्यसको चार दिनपछि नै ७ फ्रेबुअरी २०१९ मा समजलाल चौधरीको नामबाट ७ लाख ४९ हजार २५० रुपैयाँ जम्मा गरेको भेटिएको छ । यसको भोलिपल्ट फेरि समजलालकै नामबाट ५० हजार रुपैयाँ जम्मा गरेको भेटिएको सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काले बताए ।

यसको पाँच दिनपछि १३ फ्रेबुअरीमा फेरि समजलालकै नामबाट १ लाख रुपैयाँ बस्नेतको खातामा भेटिएको छ ।

त्यसपछि ९ फ्रेबुअरी २०२० मा एकै दिन दुईपटक ४२ हजार ५०० का दर कर्णाली विकास बैंकबाट सोझै बस्नेतको खातामा रकम गएको देखिएको छ । राष्ट्र बैंकबाट अवकाश पाएपछि समेत बस्नेतले कर्णाली विकास बैंकका तत्काकालीन कार्यकारी अधिकृत दिनेशकुमार राउतसँग मिलेर अपरेसनल रिस्क इन बैंकिङ इन्डष्ट्रिज एन्ड करेन्ट इस्यू अफ एएमएल-सीएफटीको तालिम सञ्चालन गरेका थिए ।

बस्नेतले १७ वैशाख २०७५ देखि २ जेठ २०७५ सम्म यो बैंकको स्थलगत अनुगमन गरेका थिए । तर बैंकको अनियमित कारोबार बाहिर नआओस् भन्दै उनलाई रकम र मोबाइलसमेत खरिद गरेर दिएको खुलको छ । १० लाख बढी दिनुका साथै वेदप्रकाश सिंहले आइफोन खरिद गरेर दिएको अभियोगपत्रमा उल्लेख छ ।

यता, बस्नेतले भने बैंकलाई गाडी बेचेवापत रकम बुझेको दाबी गर्दै बयान दिएका थिए । उनले बेचेको भनिएको बा४च ७८२६ नम्बरको गाडीबारे अनुसन्धान गर्दा बैंकको अभिलेखमै भेटिएन ।

कर्णाली विकास बैंक २०६० सालमा स्थापना भएको थियो । अपचलनमा संलग्न मुख्य व्यक्ति रायको कर्णाली विकास बैंकमा करिब ८० प्रतिशत संस्थापक सेयर छ । उनी बैंक स्थापनादेखि नै कार्यकारी अध्यक्ष तथा सीईओका रूपमा करिब १५ वर्षसम्म कार्यरत थिए ।

प्रमुख सेयर होल्डरका रूपमा रायले नै बैंक चलाउँदै आएका थिए । भारतको लखनउबाट पक्राउ परेका राय एमालेबाट सांसदमा उठेका थिए ।

बैंक सञ्चालक समिति अध्यक्ष डा. ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित विशेष छानबिन समितिले ठूलो रकम घोटाला भएको निष्कर्ष निकालेको थियो । कर्णाली विकास बैंकको अन्य बैंक खातामा रहेको रकम तथा बैंकको कोर बैंकिङ प्रणाली (सीबीएस) मा प्रविष्ट रहेको रकमबीच अन्तर निकाल्दा ठूलो रकम घोटाला भएको मिश्र समितिको प्रतिवेदनले उल्लेख गरेको थियो ।

विभिन्न बैंकको खातामा रहेको मौज्दातको नक्कली ब्यालेन्स सर्टिफिकेट बनाई केही वर्षदेखि अपचलन लुकाएको पनि खुलेको छ । नक्कली ब्यालेन्स सर्टिफिकेट बनाउँदासमेत राष्ट्र बैंकबाट गएको बस्नेतको अनुगमन टोलीले भने त्यसलाई सदर गर्दै बैंक ठिकठाक अवस्थामा चलेको भन्दै लालमोहर लगाइदिएको खुलेको छ ।

राजेन्द्रवीर राय, पूर्वसीईओ दिनेशकुमार रावत, पूर्ववित्त विभाग प्रमुख महादेव भनिने वेदप्रकाशसिंह ठकुरी र वरिष्ठ वित्त विभाग प्रमुख तथा सीईओ निरजविक्रम शाहले समेत अपचलन गरेको हुनसक्ने मिश्र नेतृत्वको समितिले उल्लेख गरेको थियो ।

खातामा ब्यालेन्स नभएकै अवस्थामा पनि चेक क्लियरिङमार्फत र सोझै टेलरबाट नगदै पैसा झिकेर पनि अपचलन गरेको बताइन्छ ।

राष्ट्र बैंकमा रहेको कर्णाली विकास बैंकको खाता (सीआरआर) मा ७ पुस २०८१ सम्म २२ करोड ७४ लाख ६१ हजार २८२ रुपैयाँ मौज्दात रहेको सीबीएसमा प्रविष्ट गरिएको थियो । तर छानबिन समितिको अनुसन्धान क्रममा उक्त खातामा करिब शून्य मौज्दात रहेको भेटिएको थियो ।

राय सहितका व्यक्तिले अन्य बैंकमा रहेको नक्कली ‘ब्यालेन्स सर्टिफिकेट’ बनाएर रकम अपचलन ढाकछोप गरेको बताइएको छ ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?